काठमाडौं । पछिल्लो समय धितोपत्र बजारमा लगानीकर्ताको आकर्षण बढ्दो छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार शुक्रवारसम्ममा डिम्याट खाता खोल्नेको संख्या ५५ लाख ३३ हजार नाघेको छ । एउटै कम्पनीको आईपीओमा २७ लाखभन्दा बढी आवेदन पर्ने गरेकोले पछिल्लो समय युवापुस्तालगायत आम जनमानसमा शेयर बजारप्रति बढेको रूचिलाई पुष्टि गर्छ । यसको विपरीत म्युचुअल फण्डले निष्कासन गर्ने इकाईका लागि समयमै पर्याप्त आवेदन नपरेको देखिन्छ । यसले धरैलाई म्युचुअल फण्डबारे जानकारी नभएको बुझ्न सकिन्छ । म्युचुअल फण्डको इकाई विक्री खुला हुँदा लगानीकर्ताहरूले ‘आईपीओ’ हो कि भनेर सामाजिक सञ्जालमा जिज्ञासा राखेको पनि पाइन्छ ।
के हो म्युचुअल फण्ड ?
म्युचुअल फण्ड कम्पनीले खडा गरेको कोष हो । यसलाई सामूहिक लगानी कोष पनि भनिन्छ ।
नेपालमा कम्पनीको आईपीओ केही अवस्था बाहेक प्रतिकित्ता रू. १०० मा पाइन्छ भने यस्ता फण्डको इकाई रू. १० मा पाइन्छ । इकाई पनि आईपीओ जसरी नै सार्वजनिक निष्कासनमा ल्याइन्छ । यस्ता फण्डमा लगानी गर्दा कम जोखिम हुन्छ तर तत्काल त्यति धेरै लाभ पनि हुँदैन । त्यसैले नयाँ लगानीकर्ताको लागि दोश्रो बजार भन्दा म्युचुअल फण्डमा गरिएको लगानी बढी सुरक्षित मानिन्छ ।
कम जोखिम र मध्यम नाफा दिने योजनाका रूपमा म्युचुअल फण्डलाई लिन सकिन्छ । यस्ता फण्डहरूले बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्कासन भएको धितोपत्र, विनिमय बजारमा सूचीकृत धितोपत्र, नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य साधनहरु, बैंक निक्षेप, मुद्रा बजार उपकरण र बोर्डले तोकिदिएको अन्य क्षेत्रमा लगानी गर्दछन् ।
धितोपत्र बोर्डको नियमावलीअनुसार योजनाले एक कम्पनीको साधारण शेयरमा कुल चुक्तापूँजीको १० प्रतिशतसम्म लगानी गर्न सक्छन् । तर कम्पनीको कुल साधारण शेयरमा योजनाको आकारको कम्तीमा २० प्रतिशत लगानी योजनाको अवधिभर कायम राख्नुपर्ने हुन्छ । त्यस्तै यस्ता योजनाले कुनै पनि कम्पनीले निष्कासन गरेको अग्राधिकार शेयर वा डिबेञ्चरमा २० प्रतिशतसम्म लगानी गर्न सक्नेछन् । मुद्दती निक्षेपमा लगानी गर्दा योजनाको खुद सम्पत्ति मूल्यको १५ प्रतिशतसम्म लगानी गर्न पाइन्छ । साथै म्युचुअल फण्डहरूले प्रचलित कानुनबमोजिम कुल रकमको २५ प्रतिशतसम्म विदेशी धितोपत्रमा लगानी गर्न सक्ने व्यवस्था रहेको छ ।
बन्दमुखी र खुलामुखी गरी म्युचुअल फण्ड दुई किसिमका हुन्छन् । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ३१ ओटा बन्दमुखी योजना छन् । यस्तै छ ओटा खुलामुखी म्युचुअल फण्ड पनि छन् । खुलामुखी योजनाहरू नेपाल स्टक एक्सचेन्जमा सूचीकृत हुँदैनन् ।
म्युचुअल फण्डको प्रमुख आधार भनेको यसको कुल सम्पत्ति मूल्य हो । यो सूचकले फण्डको सम्रग सम्पत्तिको मूल्याङ्कन गर्दछ ।
कुल सम्पत्ति मूल्यलाई योजनाको कुल इकाईले भाग गर्दा आउने अनुपातलाई प्रतिइकाई खुद सम्पति मूल्य भनिन्छ ।
म्युचुअल फण्ड डिस्काउन्ट र प्रिमियम मूल्यमा पनि खरीद गर्न सकिन्छ । प्रतिइकाई सम्पत्ति मूल्यभन्दा धेरै मूल्यमा इकाई खरीदविक्री भएमा त्यो प्रिमियममा भएको बुझिन्छ ।
त्यस्तै विपरीत प्रतिइकाई सम्पति मूल्यभन्दा थोरै मूल्यमा इकाई खरीदविक्री गरियो भने त्यो डिस्काउन्ट मूल्यमा खरीद भएको बुझिन्छ । डिस्काउन्ट मूल्यमा खरीद गर्दा लगानीकर्तालाई केही सुरक्षित अनुभूति हुन सक्छ ।
बन्दमुखी योजना
सर्वसाधारणमा इकाई निष्कासन गर्दा नै उक्त फण्ड कति समयका लागि सञ्चालन हुने भन्ने तोकिएको हुन्छ । सर्वसाधारणमा प्रतिइकाई रू. १० दरले इकाई निष्कासन हुन्छ । सर्वसाधारणमा इकाई निष्कासन भएपछि दोस्रो बजारमा कारोबारका लागि फण्डका इकाईहरू सूचीकरण गराइन्छ । यस प्रकारको फण्डमा साधारणतया पाँच वर्षदेखि १५ वर्षको अवधि तोकिएको हुन्छ ।
खुलामुखी योजना
विभिन्न प्रकारका सामूहिक लगानी कोष योजनाहरूमध्ये खुलामुखी योजना पनि एक हो । यस्ता प्रकारका योजनाहरू नेपाल स्टक एक्सचेन्जमा सूचीकृत हुँदैनन् । तर इकाईहरू दैनिक रूपमा निर्धारण हुने प्रतिइकाई खुद सम्पत्ति मूल्यमा लगानीकर्ताहरूले आफूले चाहेको समयमा इकाईहरू योजना व्यवस्थापक वा तोकिएको वितरकमार्फत सजिलै रूपमा खरीदविक्री गर्न सक्ने व्यवस्था रहेको हुन्छ । यस्ता योजनाहरूको आकार थपघट भइरहने हुन्छ । जस्तो लगानीकर्ताहरूले इकाईहरू खरीद गरेमा योजनाको आकार बढेर ठूलो हुँदै जान्छ भने विक्री गरेमा योजनाको आकार घटेर सानो हुँदै जान्छ । यस्तो योजना निश्चित समयमा परिपक्व नभई निरन्तर सञ्चालनमा भइरहन्छ । नेपालको पहिलो खुलामुखी योजना एनआईबिएल एस म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्ड हो ।