ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अग्राधिकार शेयर भनेको के हो ?, यस्तो शेयर नेपालमा कुन–कुन कम्पनीको छ ? [शेयर शिक्षा]

२०७९ फागुन, २०  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । कम्पनीले निष्कासन गरेको शेयरमध्ये प्रतिफल तथा पूँजी फिर्तामा अग्र अधिकार हुने शेयरलाई अग्राधिकार शेयर अर्थात् प्रिफिरेन्स शेयर भनिन्छ ।

अग्राधिकार शेयरधनीलाई लाभांश बाँडिसकेपछि मात्र साधारण शेयर बापतको लाभांश बाँडिन्छ । कुनै पनि कम्पनीले तोकिएको दरमा लाभांश वितरण गर्ने गरी अग्राधिकार शेयर जारी गर्दछ । साधारण शेयर बापतको लाभांश कम वा बढी हुने सम्भावना रहन्छ भने अग्राधिकार शेयरको लाभांश सधैं एउटै हुने सुनिश्चित हुन्छ । 

यद्यपि कम्पनीले नाफा गर्न सकेन भने अग्राधिकार शेयरधनीले पनि लाभांश पाउँदैनन् । कम्पनी विघटनमा जाँदा पनि अग्राधिकार शेयरधनीलाई आफ्नो लगानी तथा लाभांश प्राप्त गर्ने पहिलो अधिकार चाहिँ हुन्छ । यही कारण साधारण शेयरभन्दा अग्राधिकार शेयरमा गरिएको लगानी सुरक्षित हुन्छ । 

नेपालमा दुई कम्पनी एभरेष्ट बैंक र कृषि विकास बैंकले मात्र अग्राधिकार शेयर जारी गरेका छन् । एभरेष्ट बैंकको ७ प्रतिशत कन्भर्टेबल शेयर थियो । अहिले भने त्यो शेयर सर्वसाधारण शेयरमा परिवर्तन भइसकेको छ ।

कृषि विकास बैंकको रू. ५ अर्ब ४३ करोड बराबरको अग्राधिकार शेयर रहेको छ । यो शेयर कम्पनी रहुन्जेलसम्म रहने गर्दछ । यस्तो शेयरलाई ननरिडिबेल अग्राधिकार शेयर भनिन्छ । भारतमा धेरै कम्पनीहरूले अग्राधिकार शेयर जारी गर्ने गर्दछन् । कम्पनीहरूले हकप्रद शेयर जारी गर्नुभन्दा निश्चित समय अवधिका लागि अग्राधिकार शेयर जारी गरेमा राम्रो हुने विज्ञहरू बताउँछन् । 

कतिपय अग्राधिकार शेयर निश्चित समयावधिपछि साधारण शेयरमा परिणत हुने खालका हुन्छन् । यस्तो शेयरलाई परिवर्तनीय (कन्भर्टिबल) अग्राधिकार शेयर भनिन्छ । यसरी परिवर्तन गर्न नसक्ने खालको शेयरलाई अपरिवर्तनीय (ननकन्भर्टिबल) अग्राधिकार शेयर भनिन्छ । साधारण सभामा अग्राधिकार शेयरधनीलाई मतदान गर्ने अधिकार दिएको वा नदिएको आधारमा पनि अग्राधिकार शेयरको वर्गीकरण गर्न सकिन्छ । 
अग्राधिकार शेयरका अन्य प्रकार :

क्युमुलेटिभ, ननक्युमुलेटिभ अग्राधिकार शेयर कुनै वर्ष कम्पनीले अग्राधिकार शेयरधनीलाई तोकिएको लाभांश दिन सकेन भने त्यो लाभांश आगामी वर्षमा नाफा भएमा अघिल्लो वर्षको समेत जोडेर दिने व्यवस्था छ भने त्यस्तो शेयरलाई क्युमुलेटिभ अग्राधिकार शेयर भनिन्छ । जुन वर्ष नाफा भएको हो, त्यही वर्ष मात्र लाभांश बाँडिने शेयरलाई ननक्युमुलेटिभ अग्राधिकार शेयर भनिन्छ । 

रेडिमेबल, इरेडिमेबल अग्राधिकार शेयर निश्चित समयपछि साँवा रकम फिर्ता हुने अग्राधिकार शेयरलाई रेडिमेबल अग्राधिकार शेयर भनिन्छ भने फिर्ता नहुने अर्थात् कम्पनी रहुन्जेलसम्म रहने गरी जारी गरिएको अग्राधिकार शेयरलाई इरेडिमेबल (अग्राधिकार) शेयर भनिन्छ ।

यसरी कुनै अग्राधिकार शेयर कन्भर्टिबल, क्युमुलेटिभ र रेडिमेबल हुन सक्छ भने कुनै कन्भर्टिबल, ननक्युमुलेटभ र रेडिमेबल हुन सक्छन् । त्यस्तै, कुनै अग्राधिकार ननकन्भर्टिबल, क्युमुलेटिभ र रेडिमेबल पनि हुन सक्छ । 

यस्तो अग्राधिकार सञ्चित लाभांश कम्पनी कुनै वर्ष घाटामा गएर लाभांश वितरण गर्न नसकेमा बाँकी रहेको लाभांश सञ्चित भएर आगामी वर्षहरूमा प्राप्त गर्ने व्यवस्था हुन सक्छ । यस्तो लाभांशलाई सञ्चित लाभांश भनिन्छ । त्यसैगरी कम्पनी विघटनमा गएर पूँजी फिर्ता गर्ने क्रममा अंकित मूल्य बराबर नै फिर्ता गर्नुपर्ने हुन्छ । सोही कारण अग्राधिकार शेयरमा अंकित मूल्य तोकिएको हुन्छ ।

आम्दानी र सम्पत्तिमा प्राथमिकता अग्राधिकार शेयरधनीलाई आम्दानी प्राप्त गर्ने र कम्पनी घाटामा गएमा पनि पूँजी फिर्ता गर्ने क्रममा साधारण शेयरधनीलाई भन्दा पहिलो प्राथमिकता हुन्छ । यस्तो शेयरलाई मिश्रित प्रतिभूति पनि भनिन्छ । किनभने अग्राधिकार शेयरमा साधारण शेयर र ऋणपत्र दुवैको विशेषता हुन्छ । नेपालको कम्पनी ऐनअनुसार अग्राधिकार शेयर रकम फिर्ता गरेमा वा फिर्ताको प्रस्ताव गरेमा सो शेयरको अंकित मूल्यबराबरको नयाँ शेयर जारी गर्न सक्ने व्यवस्था छ । 

अर्काइभबाट

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)