ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१७ लाख ६३ हजार डिम्याट खाता बन्द गराइँदै

२०७९ फागुन, २१  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । धितोपत्र कारोबारका लागि खोलिएका हितग्राही (डिम्याट) खातामध्ये ३२ प्रतिशत निष्क्रिय रहेको पाइएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार हालसम्म खोलिएका ५५ लाख ७७ हजारभन्दा बढी हितग्राही खातामध्ये १७ लाख ६३ हजारभन्दा बढी निष्क्रिय छन् । सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले ती खातामा कुनै पनि कम्पनीको शेयर नरहेको र लामो समयदेखि खाता नवीकरण समेत नभएको बताए । उनका अनुसार एक जना व्यक्तिले दुईओटासम्म हितग्राही खाता खोल्न पाउने व्यवस्था छ ।

कुनै पनि लगानीकर्ताले दुईओटा हितग्राही खाता खोलेको खण्डमा दुवै खाता सञ्चालनमा रहेको हुनुपर्ने सीडीएससीका प्रवक्ता न्यौपानेको भनाइ छ । हाल निष्क्रिय रहेका ३२ प्रतिशत हितग्राही खाता २०७३ सालदेखि नै सञ्चालनमा नभएको न्यौपानेले जानकारी दिए । वार्षिक सय रुपैयाँ तिरेर नवीकरण गर्नुपर्ने व्यवस्थाअनुसार हाल निष्क्रिय रहेका खाता पुनः सञ्चालनका लागि नवीकरण लागत पनि बढी हुने भएकाले ती खाताहरू बन्द गराउँदा नै प्रभावकारी हुने न्यौपानेको भनाइ छ । घरमै बसेर नवीकरण गर्न सकिने व्यवस्था भएको अवस्थामा लामो समयदेखि नवीकरण नभई निष्क्रिय रहेका ती खाता सञ्चालनमा लगानीकर्ताले समेत चासो नदिएको उनको बुझाइ छ । ‘निष्क्रिय खाता कायम राखेर संख्या मात्र बढाउनुको अर्थ छैन,’ उनले भने, ‘नियामकको निर्देशनबमोजिम आगामी दिनमा निष्क्रिय खाता बन्द गराउने तयारी भइरहेको छ ।’

नियामक निकाय नेपाल धितोपत्र बोर्डका अनुसार सीडीएससीले आवश्यक ठाने निष्क्रिय हितग्राही खाता बन्द गरिदिन सक्छ । बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले धितोपत्र कारोबारका लागि अनिवार्य गरिएको हितग्राही खातामध्ये ३२ प्रतिशत निष्क्रिय हुनुको पछाडि एकै परिवारका धेरै सदस्यको नाममा खोलिएको हुनसक्ने अनुमान लगाए । एकै परिवारका धेरै सदस्यको नाममा खाता खोलिए पनि केही सदस्य मात्र कारोबारमा सहभागी भएको हुनसक्ने श्रेष्ठको अनुमान छ । उनले निष्क्रिय खाता बन्द नगरी राख्दा पनि खासै असर नपर्ने बताए । बन्द गर्न आवश्यक भए सीडीएससीले आफ्नो अधिकारभित्र रहेर बन्द गर्न सक्ने उनले जानकारी दिए ।

२०७३ साउन १ गतेदेखि उपत्यकाभित्र र माघ १ गतेदेखि देशभर सार्वजनिक निष्कासनको धितोपत्र खरीदका लागि आवेदन दिँदा हितग्राही खाता अनिवार्य गरिएको थियो । अनिवार्य गरिएसँगै हितग्राही खाताको संख्या बढ्न थालेको हो । सीडीएससीका अनुसार २०७३ माघ २ गतेसम्म डेड लाखमात्र हितग्राही खाता खोलिएको थियो । पछिल्लो ६ वर्षमा ५४ लाखभन्दा बढी हितग्राही खाता थपिएका छन् । नेपालमा पहिलोपटक हितग्राही खाता २०६९ साउन १ गते खोलिएको सीडीएससीले जानकारी दिएको छ ।

हितग्राही खातामा काठमाडौंवासी अगाडि
हालसम्म खोलिएको हितग्राही खातामध्ये सबैभन्दा बढी काठमाडौंवासीको छ । सीडीएससीले दिएको जानकारीअनुसार काठमाडौंका नागरिकले ६ लाख ८५ हजारभन्दा बढी हितग्राही खाता खोलेका छन् । काठमाडौंपछि झापा र मोरङका नागरिकले बढी खाता खोलेका छन् । झापाका नागरिकले २ लाख ३६ हजारभन्दा बढी र मोरङकाले २ लाख २५ हजारभन्दा बढी हितग्राही खाता खोलेका हुन् । उपत्यकाभित्रकै जिल्ला ललितपुरका नागरिकले १ लाख ९३ हजारभन्दा बढी र भक्तपुरकाले १ लाख ५४ हजारभन्दा बढी हितग्राही खाता खोलेका छन् । सबैभन्दा कम हितग्राही खाता रुकुमका नागरिकले खोलेकोे सीडीएससीको तथ्यांकले देखाउँछ ।  

हितग्राही खाता खोल्ने पुरुष बढी
हितग्राही खातामा पुरुषको संख्या बढी छ । सीडीएससीका अनुसार ३१ लाख ९० हजारभन्दा बढी हितग्राही खाता पुरुषको र २३ लाख ६६ हजारभन्दा बढी खाता महिलाको छ । कर्पोरेट क्षेत्रको ६ हजार ३०० भन्दा बढी हितग्राही खाता खोलिएका छन् । १८ देखि ३० वर्ष उमेर समूहका लगानीकर्ताको सबैभन्दा बढी १७ लाख ६० हजारभन्दा बढी हितग्राही खाता रहेको सीडीएससीले जानकारी दिएको छ ।

डिम्याट खाता थपिने दर क्रमशः घट्दै
अघिल्ला वर्षहरूमा दैनिक साढे ५ हजारभन्दा बढी हितग्राही खाता खोलिने गरेकोमा पछिल्लो वर्ष १ हजार २०० भन्दा बढी हितग्राही खाता दैनिक रूपमा खोलिने गरेको छ । सीडीएससीका अनुसार गतवर्षको माघदेखि यस वर्षको माघमसान्तसम्म २ लाख ७८ हजारभन्दा बढी हितग्राही खाता खोलिएका छन् । पछिल्लो समय सार्वजनिक निष्कासनको धितोपत्र खरीदका लागि आवेदकको संख्या बढेसँगै पर्ने सम्भावना कम रहेकाले हितग्राही खाता खोल्नेको संख्या कम हुँदै गएको मर्चेन्ट बैंकरहरूको अनुमान छ । कुनै समय निःशुल्क हितग्राही खाता खोल्ने व्यवस्था गरेको एनआईसी एशिया क्यापिटलले पछिल्लो समय हितग्राही खाता खोल्नेको संख्या निकै कम भएको बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)