ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयर बजारकी 'सेलीब्रेटी' पोखरेलको अनुभव : 'जग्गा बेचेर शेयरमा हाल्दा नराम्ररी फसे'

२०७९ फागुन, २४  
समाचार लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । शेयर बजारमा लगानीकर्ताको नेतृत्व गर्दै महत्वपूर्ण फोरममा निरन्तर बोलिरहने लगानीकर्ता हुन् राधा पोखरेल । उनलाई शेयर बजारकी सेलीब्रेटी लगानीकर्ता भन्दा पनि फरक नपर्ला । 

महोत्तरीमा जन्मिएकी पोखरेल बिरामीका कारण सानै उमेरदेखि काठमाडौंमा आएर बसिन् । परिवारका सबै सदस्य शेयरबजारमै आवद्ध भएकाले उनले पनि सानै उमेरदेखि  बजारबारे बुझ्ने अवसर पाइन् ।

एसएलसी दिएर नतिजा कुरिरहेको बेला २०६८ सालमा उनले सहकारीमा काम शुरू गरिन् । केही समयपछि कलेज पढ्ने बेलामा पहिलो पटक सेञ्चुरी कमर्सियल बैंकको आईपीओ भरेर पोखरेलको शेयर यात्रा शुरू भएको थियो । त्यतिबेला आफ्नो र बाबुको नाममा आईपीओ भरेको उनले बताइन् । 

परिवारको सदस्यले शेयर बजारमा थोरै थारै लगानी गर्दै गएमा राम्रो प्रतिफल प्राप्त हुने बताएसँगै उनको शेयर बजारप्रति लगाब बढेको थियो । हुन पनि २०६८ सालमा हात परेको सेञ्चुरी बैंकको आईपीओबाट उनले तीन गुणाभन्दा बढी प्रतिफल हात पारेको सुनाइन् ।

त्यो समयमा नेप्से १२ बजे मात्र खुला हुन्थ्यो । २ घण्टा सहकारीको काम गरेर १२ बजे उनी ब्रोकरको कार्यालयमा पुग्थिन् । तर त्यहाँ भने सबैजसो पुरुष लगानीकर्ता मात्रै हुन्थे । महिला लगानीकर्ता कहिले कसो मात्रै भेटिन्थे ।

आईपीओ भरेको शेयर हातमा भएपनि त्यो बेलामा सेकेण्डरी बजारको बारेमा राम्रो सँग नबुझेको पोखरलेको भनाई छ ।

'म भरखर कलेज पढ्न थालेकी थिए । सानो भएकाले पनि केही नबुझेको  कुरा पुरुष लगानीकर्तासँग सोध्न हिच्किचाउथे । महिला लगानीकर्ता कहिलेकाँही भेटिन्थे । उनीहरू पनि दोस्रो बजारको बारेमा धेरै बुझेका लगानीकर्ता हुन्थेनन् ।' उनले भनिन् ।

शेयर बजारका बारेमा बुझ्दै गएपछि सहकारीको जागिर छोडेर पूर्ण रुपमा शेयर बजारमै प्रवेश गरेकी थिइन् पोखरेल ।

शेयर बजारप्रतिको मोह बढ्दै गएपछि गाउँको जग्गा बेचेर शेयरमा लगानी गरेको उनले सुनाइन् । त्यो समयमा बजारमा नराम्रोसँग फसेको उनको तितो अनुभव छ । त्यतिबेला बजार १८८१ विन्दुमा थियो पछि घटेर ११०० विन्दुसम्म आयो । त्यहि समयमा केही सञ्चरमाध्यममा नियमित स्तम्भकारको रुपमा पनि जोडिएको उनले सुनाइन् ।

'त्यस बेला ब्रोकर कार्यालयमा गइरहँदा शेयर बजारका लगानीकर्ताको धेरै गुनासो सुने । लगानीकर्ताको हकहितको लागि भनेर केही संघ संगठनहरु खुलेका थिए, तर राम्रोसँग काम गर्न सकेका थिएनन् ।' उनले भनिन् ।

'त्यही समयमा मैले पनि अब शेयर बजारका लागि केही गर्नु पर्छ भनेर 'नेपाल पूँजी बजार लगानीकर्ता सँघ'को उपाध्यक्ष भएर पाँच महीना काम गरे । त्यसभित्र बसिसके पछि बजारमा इन्साइडर ट्रेडिङ देखि कम्पनीको शेयर मूल्यलाई तलमाथि पार्ने कार्यहरु हुँदा रहेछन् भन्ने थाहा पाएँ । अनि नियामक निकाय धितोपत्र बोर्ड (सेबोन), नेप्से लगायतका संस्थाले शेयर बजारका समस्या नसुनेको पनि महसुस भयो ।' उनले अगाडि भनिन् ।

यस्तो अवस्थामा लगानीकर्ताको हकहितमा काम गर्नुपर्छ भन्ने लागेपछि  २०७५ साउन २ गतेदेखि संघको अध्यक्ष भएर लगानीकर्ताको हकहितमा काम गर्न शुरु गरेको उनको भनाइ छ ।

शेयर बजार घटबढ त भइरह्न्छ नै । बजार १८८१ हुँदा त्यो बेला वामगठबन्धको सरकार थियो । त्यति बेला अर्थमन्त्री युवराखज खतिवडा थिए । उनी अर्थमन्त्री हुँदा शेयर बजार भनेको उत्पादनमूलक क्षेत्र होइन भन्ने अभिव्यक्ति दिएका  थिए । त्यसपछि विभिन्न सञ्चारमाध्यामले त्यो भनाइको अपव्याख्या गरी बजार घटाउने खेल खेलेको जस्तो लाग्छ उनलाई । त्यो समयमा ठूला खेलाडीहरु  नै शेयर बजार घटाउन लागी परेको पोखरलेको भनाइ छ ।

बजार घटेर निकै तल आईसक्दापनि  शेयर बजारमा आवद्ध निकायले कुनै पनि चासो देखाएनन् । त्यसपछि उनले तत्कालिन राष्ट्र  बैंकको गभर्नर चिरञ्जीवी नेपाल, सेबोन, नेप्से,सिडिएससी लगायतका पदाधिकारीहरुसँग यी विषयमा छलफल गरेर ध्यानाकर्षण गराएकी  थिइन् ।

त्यसपछि लगानीकर्ताहरुमा शेयर बजारका समस्या पनि सरकारले सुन्दो रहेछ भन्ने अभास भएको उनको भनाइ छ । 

त्यो बेलामा अर्थमन्त्री युवराज खतिवडाले शेयर बजार र मुद्रा बजारको समस्या समाधान गर्नका लागि एउटा कमिटी गठन गरेका थिए । त्यो समयमा  पूँजी बजार विकास  र विस्तारका लागि धेरै राम्रा कार्यहरु भए ।  कतिपय काम कार्यन्वायनकै चरणमा छन् ।

त्यसपछि बजार विस्तारै बढ्दै गएर ३२०० विन्दु पार गर्‍यो । त्यतिबेला आफूले पनि राम्रो प्रतिफल हात पारेको पोखरेलले सुनाइन् । 

आफू अध्यक्ष भएकै बेलामा सातै प्रदेश  र ७७ ओटै जिल्लामा पूँजी बजार संगठन विस्तार गरेको उनले बताइन् ।

'जो सँग पूँजी छ, ज्ञान पनि छ, तर शेयर कारोबार गर्ने अफिस छैन, त्यस्तो ठाउँमा हाम्रै पहलमा ब्रोकर कार्यालय पनि खोलिएको थियो ।' उनले सुनाइन्, 

त्यो बेला अनलाइनमार्फत शेयर किनबेच गर्न शुरू भएको थिएन् । पछिल्लो समय प्रविधिसँगै बजार विकास र विस्तार भएको छ र बजारका समस्याहरु पनि कार्यान्वयन हुँदै गएको पोखरेलको अनुभव छ । शेयर बजारबाट राम्रो प्रतिफल प्राप्त गरे, त्यो छुट्टै पाटो हो । बजार घट्दा होस या बढ्दा, आफूले सधैं समग्र लगानीकर्ताको हितमै रहेर काम गरेको उनले दाबी गरिन् ।

नवप्रवेशी लगानीकर्ताहरुका लागि शेयर बजार लगानीको उपयुक्त प्लेटफर्म भएको बताउने पोखरेल ऋण लिएर भने शेयरमा लगानी नगर्न आग्रह गर्छिन्  ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)