ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डिम्याट खातामा रूकुम (पूर्व) जिल्लाको स्वामित्व सबैभन्दा कम

२०७९ फागुन, २५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । धितोपत्र कारोबारका लागि अनिवार्य गरिएको हितग्राही (डिम्याट) खातामा रूकुम जिल्लाका बासिन्दाको संख्या सबैभन्दा कम देखिन्छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले दिएको जानकारीअनुसार फागुन २१ गतेसम्म ५५ लाखभन्दा बढी डिम्याट खाता खोलिएका छन् । तीमध्ये १४९ ओटा मात्र डिम्याट खाता रूकुम (पूर्व) जिल्लावासीले खोलेका हुन् । रूकुमपछि नवलपरासी(पूर्व)मा सबैभन्दा कम डिम्याट खाता खोलिएका छन् ।  सो जिल्लामा १ हजार ५२९ ओटा यस्ता खाता खोलिएका हुन् ।
सीडीएससीले दिएको जानकारीअनुसार कम डिम्याट खोलिएका दश जिल्लाहरूमा रूकुम (पूर्व) र नवलपरासी (पूर्व)सँगै मनाङ, मुस्ताङ, डोल्पा, रूकुम (पश्चिम), मुगु, हुम्ला, नवलपरासी (पश्चिम) र बाजुरा रहेका छन् ।

धितोपत्र बजारको पहुँच विश्वव्यापी रूपमा विस्तार भइसकेको अवस्थामा देशभित्रकै नागरिकको सहभागिता कम रहेको सीडीएससीको तथ्यांकले देखाउँछ ।

जिल्लाको हिसाबमा सार्वजनिक तथ्यांक बढी र घटी हुनुमा त्यस जिल्लाको जनसंख्याले समेत फरक पार्ला तर लाखौं जनसंख्या रहेका जिल्लामा सयौंको संख्यामा रहेको डिम्याट खातालाई आधार मान्दा उक्त जिल्लामा धितोपत्रसम्बन्धी जानकारी कम रहेको हुन सक्ने अनुमान जानकारहरूले गरेका छन् । बजारका अनुभवी लगानीकर्ता डमरुबल्लभ घिमिरे धितोपत्रसम्बन्धी वित्तीय साक्षरता शहर केन्द्रित भएको बताउँछन् । धितोपत्र बजारको पहुँच विस्तार भए पनि लगानीकर्ताको सहभागिता विस्तारमा भने कमी रहेको घिमिरेको बुझाइ छ । प्रविधिसँग जोडिएको नेपालको धितोपत्र बजारलाई प्रविधि कम प्रयोग गर्ने दुर्गम जिल्लाका नेपालीले समेत सहज तरिकाले प्रयोग गर्न सक्ने वातावरण बन्नुपर्नेमा उनले जोड दिएका छन् ।

२०७५ सालदेखि पूर्ण अनलाइन प्रणालीबाट सञ्चालन भइरहेको धितोपत्र बजारमा दुर्गम जिल्लाका लगानीकर्तालाई समेत सहभागी गराउन बजार सम्बद्ध निकायहरू सक्रिय रहेको नियामक निकायको भनाइ छ । नियामक निकायले सबै नेपाली नागरिकमा धितोपत्रसम्बन्धी वित्तीय साक्षरता पुर्‍याउन विभिन्न रेडियो तथा टेलिभिजनमार्फत पनि कार्यक्रम सञ्चालन गरिरहेको बताएको छ । साथै धितोपत्र दलाल व्यवसायी, मर्चेण्ट बैंकरहरूले पनि धितोपत्रसम्बन्धी वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिइरहेको बोर्डले जानकारी गराएको छ ।

नेपालको धितोपत्र बजारमा लगानीकर्ताको सहभागिताको आधार डिम्याट खातालाई बनाइरहेको अवस्थामा पछिल्लो समय करीब १७ लाख डिम्याट खाता निष्क्रिय रहेको तथ्य पत्ता लागेको छ । करीब ५६ लाख डिम्याट खाता रहे पनि प्राथमिक बजारमा २६ लाखभन्दा बढी र दोस्रो बजारमा १९ लाखभन्दा बढी लगानीकर्ता मात्र सहभागी भएको अवस्था छ ।

प्राथमिक बजारमा सार्वजनिक निष्कासनमा आएका शेयर खरीदमा परेको आवेदनको तथ्यांकलाई हेर्दा २७ लाखभन्दा बढीले आवेदन दिएको देखिन्छ । पछिल्लो समय भने उक्त आवेदनको संख्यामा पनि कमी आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)