काठमाडौं । मार्च १० मा विश्व शेयरबजार रक्ताम्मे बन्यो । अमेरिकी बैंकिङ नियामक हरूले सिलिकन भ्याली बैंक (एसभीबी) बन्द गर्दाको परिणति थियो, त्यो । नियामकहरूले निक्षेपकर्ताको पैसा जोगाइदिन बैंकलाई दामासाहीमा राखेका छन् । एसभीबी एक्कासि धराशयी बनेपछि यसको झट्का स्टार्ट अप समुदायसम्म पुगेको छ । एसभीबी स्टार्ट अप कम्पनीका लागि लगानीको भरपर्दो स्रोत थियो ।
अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले १ वर्षभन्दा कम समयमा ब्याजदर १ हजार ७०० प्रतिशतले बढाउँदाको परिणति बैंकको अवसान बन्यो । फेडले महँगी नियन्त्रण गर्न धमाधम ब्याजदर बढाएपछि एसभीबीको ऋणपत्रभन्दा आकर्षक बन्यो फेड । मानिसहरूले आफ्नो पैसा एसभीबीबाट झिक्न थाले । निक्षेपकर्ताले धमाधम पैसा झिक्न थालेपछि त्यो चुक्ता गर्न एसभीबीलाई छिट्टै नै थप पैसा चाहियो । बुधवार बैंकले त्यसका लागि केही रकम खोज्दै थियो । कतैबाट पैसा नजुटेपछि घाटै खाएर ऋणपत्र बेच्यो ।
यो फेडको आक्रामक ब्याजदर वृद्धिले के हुन सक्छ भन्ने एउटा सानो उदाहरण मात्रै हो । कुनै बेला तुलनात्मक रूपमा स्थिर मानिएको बैंकले पनि ब्याजदर वृद्धिको झट्का खेप्न सकेन । दोष फेडको मात्रै हो त ? पक्कै होइन । ब्याजदर तीव्र दरमा बढेको अनि आर्थिक मन्दीको जोखिम उच्च भएको अवस्थाका लागि बैंकले फिटिक्कै तयारी नगर्दा बैंक १ दिनमै पतन भयो ।
फेडले १५ वर्षसम्म ब्याजदर शून्यको स्तरनजिक राखेर अर्थतन्त्रलाई चाहिनेभन्दा धेरै प्रोत्साहन दिइर≈यो । फेडले सन् २०२१ को मार्चमा यू टर्न लिएपछिको असर क्रिप्टोबजारमा यसअघि नै देखिएको थियो । एफटीएक्स र सिल्भरगेट धराशयी बने । तीव्र वृद्धि भइरहेको प्रविधि क्षेत्र दोहोरो अंकले घट्यो । अब ब्याजदर वृद्धिको चपेटामा कुन क्षेत्र पर्छ भन्ने अहिलेको गहन प्रश्न बनेको छ ।
ब्याजदर वृद्धिको चक्र फेरिँदा के हुन्छ भन्ने राम्रो उदाहरण हो एसभीबीको पतन । ४० वर्षयता चलिरहेको एउटा बैंक १ दिनमै स्वाहा भयो । शुक्रवार नियामकहरूले बैंक बन्द गरेर यसको निक्षेप जफत गरिदिए ।
यो सन् २००८ को वित्तीय संकटयता अमेरिकाको सबैभन्दा ठूलो बैंकिङ असफलता हो । अहिलेसम्मको भने यो बैंकिङ असफलताको दोस्रो ठूलो घटना हो ।
बैंकको वासलात बढाउन उसलाई २ अर्ब २५ करोड डलरमात्रै चाहिएको थियो । प्राविधिक कम्पनीहरूलाई ठूलो रकम कर्जा दिएको बैंकले आफ्नो अस्तित्व जोगाउन सकेन । भेन्चर क्यापिटल र स्टार्ट अप कम्पनीहरूलाई भने एसभीबीको पतनपछि उसको भूमिका कसले निभाइदेला, अब उप्रान्त आफूलाई चाहिएको पैसा कसले देला भनेर टाउको दुख्न थालिसकेको छ ।
महँगी नियन्त्रण गर्न धमाधम ब्याजदर बढाउने अमेरिकी केन्द्रीय बैंकको आक्रामक नीतिलाई एसभीबी अवसानको मुख्य कारण मानिएको छ । यसको असर यतिमा मात्रै पक्कै सीमित हुने छैन । यसका अन्य दूरगामी असर आउनेछन् । एसभीबी अमेरिकाको १६औं ठूलो बैंक थियो । स्टार्ट अपहरूले अहिले नै अनेक समस्या भोगिरहेका छन् । एसभीबीको पतनपछि उनीहरूलाई आफूलाई चाहिएको रकमको जोहो गर्न सकस हुने निश्चित छ । एसभीबीसँग पहिलादेखि नै पूँजी कम थियो ।