ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हकप्रद शेयर निष्कासनका लागि ६ कम्पनीले अघि बढाए प्रक्रिया, जलविद्युत् कम्पनीकै वर्चस्व

२०७९ चैत, १  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । पछिल्लो समय सार्वजनिक निष्कासनका धितोपत्रमा जलविद्युत् क्षेत्रकै कम्पनीहरूको वर्चस्व देखिएको छ । आईपीओदेखि हकप्रद शेयर निष्कासनका लागि सबैभन्दा बढी जलविद्युत् कम्पनीहरूले निवेदन दिएको देखिन्छ । प्रारम्भिक सार्वजनिक निष्कासनमा पछिल्लो समय निरन्तर रूपमा जलविद्युत् कम्पनीको आईपीओ आइरहँदा हकप्रद शेयर निष्कासनका लागि निवेदन दर्ता गराएका कम्पनीहरूमा पनि जलविद्युत् कम्पनीहरूकै वर्चस्व देखिएको छ । 

जलविद्युत् कम्पनीहरूले ऋण तिर्नका लागि हकप्रद शेयर निष्कासन गर्न सक्ने व्यवस्था लागू भएसँगै धेरैजसो जलविद्युत् कम्पनी हकप्रद निष्कासनको तयारीमा जुटेका छन् । बोर्डमा निवेदन दिएका कम्पनीहरूभन्दा बाहेक आधा दर्जन कम्पनीले हकप्रद निष्कासनको लागि घोषणा गरिसकेको अवस्था छ । 

धितोपत्र बजारमा पछिल्लो समय गत भदौ ५ गतेदेखि असोज २५ गतेसम्म राधी विद्युत कम्पनीले १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । त्यसपछि हकप्रद शेयर बजारमा आएको छैन । 

केही वर्षअघि धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाको हकप्रद शेयरको बहुलता रहेकोमा पछिल्ला वर्षहरूमा जलविद्युत् कम्पनीहरूको बहुलता देखिएको हो । हाल बोर्डमा निवेदन दिएका ६ कम्पनीहरू र हकप्रद निष्कासनका लागि घोषणा अन्य ६ कम्पनी गरी १२ कम्पनीमध्ये ११ जलविद्युत् कम्पनी रहेका छन् । 

हाल बोर्डमा अपर तामाकोशी हाइड्रोपावरले शत प्रतिशत, अरुण काबेली पावरले शत प्रतिशत, नेशनल हाइड्रोपावरले ५० प्रतिशत, हिमाल दोलखा हाइड्रोपावरले ७५ प्रतिशत, सिनर्जी पावर डेभलपमेन्टले ५० प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकले शत प्रतिशत हकप्रद शेयर निष्कासनका लागि निवेदन पेश गरेका छन् । यीबाहेक छयाङ्दी हाइड्रोपावरले १५० प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीले २०० प्रतिशत, लिबर्टी इनर्जी कम्पनीले ५० प्रतिशत, रिडी पावर कम्पनीले ५० प्रतिशत, बलेफी हाइड्रोपावरले ५० प्रतिशत र अपि पावरले ४० प्रतिशत हकप्रद निष्कासनका लागि घोषणा गरिसकेका छन् । 

हकप्रद शेयर खरीदका लागि भने सम्बन्धित कम्पनीको शेयर अनिवार्य हुनुपर्नेछ । पछिल्लो समय हकप्रद शेयरमा लगानीकर्ताको आकर्षण पहिलाको तुलनामा कम देखिएको छ । केही वर्षअघि बैंक तथा वित्तीय क्षेत्रमा पूँजी वृद्धिको अभियानका क्रममा हकप्रद शेयर निष्कासनले तीव्रता पाएको थियो । सो समयमा धेरै कम्पनीको हकप्रद शेयर निष्कासनमा पनि लगानीकर्ताको आकर्षण बढी थियो । पछिल्लो समय एक–दुई कम्पनीको हकप्रद निष्कासनमा पनि विक्री नभई लिलामी प्रक्रियाबाट विक्री गर्नुपरेको अवस्था छ । पछिल्लो समय हकप्रद निष्कासन गरेको राधी विद्युत कम्पनीले पनि १३ लाखभन्दा बढी कित्ता हकप्रद शेयर नबिकेर लिलामी प्रक्रियाबाट विक्री गरेको थियो । 

लगानीकर्ता डमरुबल्लभ घिमिरेले आगामी दिनमा बजारले गति लिएको अवस्थामा हकप्रद शेयरप्रति पनि लगानीकर्ताको आकर्षण बढ्ने विश्वास व्यक्त गरे । बजार घटिरहेकाले पनि प्रतिकित्ता रू. १०० मै खरीद गर्न पाउने हकप्रद शेयरमा लगानीकर्ता आशावादी हुन नसकेको भनाइ घिमिरेको छ । जसरी धितोपत्र बजारमा सबै क्षेत्रका कम्पनीहरूको सहभागिता आवश्यक छ, त्यसरी नै हकप्रद शेयरमा समेत सबै क्षेत्रका कम्पनीको सहभागिता हुनुपर्नेमा घिमिरेले जोड दिएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)