ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धितोपत्र दोस्रो बजारमा ऋणपत्रको कारोबार नगन्य

३७ लाख कित्ता काराेबार हुँदा ऋणपत्रकाे हिस्सा ६०२ मात्रै

२०७९ चैत, २  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । धितोपत्र दोस्रो बजारमा ऋणपत्रको कारोबार नगन्य देखिएको छ । धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटलाई आधार मान्दा हाल विभिन्न कम्पनीको ६५ ओटा ऋणपत्र सूचीकृत छन् ।

वाणिज्य बैंकहरूलाई आफ्नो चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था लागू भएसँगै ऋणपत्र निष्कासनले तीव्रता पाइरहेको छ । वाणिज्य बैंकहरूले मात्र हैन, लगानी समूहअन्तर्गतका कम्पनीसँगै केही फाइनान्स कम्पनीले समेत ऋणपत्र निष्कासन गरी धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएका छन् । 

निश्चित अवधि र निश्चित ब्याजदर तोकेर निष्कासनमा आउने ऋणपत्र खरीदविक्रीका लागि दोस्रो बजारमा पनि सूचीकृत हुने गरेको छ । सूचीकृत ऋणपत्रको संख्या धेरै भए पनि कारोबार भने नगन्य रूपमा हुने गरेको तथ्यांकले देखाउँछ । 

चैत १ गतेको कारोबारमा २५३ कम्पनीको रू. १ अर्ब २० करोड २१ लाख ४१ हजार बराबरको ३७ लाख १६ हजार ६८४ कित्ता धितोपत्र कारोबार भएको छ । कुल कारोबारमा ऋणपत्रको हिस्सा सबैभन्दा कम रहेको हो । नेप्सेका अनुसार चैत १ गते आठ कम्पनीको रू. ५ लाख २३ हजार ८२४ बराबरको ६०२ कित्ता ऋणपत्र मात्र कारोबार भएको छ । जुन कुल कारोबारमा प्रतिशतको हिसावमा शून्य दशमलव शून्य ४ प्रतिशत हुन आउँछ । 

बुधवार ८ दशमलव ५ प्रतिशत रहेको बिओके डिबेञ्चर २०८६, १० दशमलव ५० प्रतिशत ब्याजदर रहेको सेञ्चुरी डिबेञ्चर २०८८, ८ दशमलव ५ प्रतिशत ब्याजदर रहेको एभरेष्ट बैंक डिबेञ्चर २०८६, ८ दशमलव ५ प्रतिशत नै ब्याजदर रहेको ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८६÷८७, १२ प्रतिशत ब्याजदर रहेको गुडविल फाइनान्स लिमिटेड डिबेञ्चर २०८३, ८ दशमलव ५ प्रतिशत ब्याजदर रहेको नेपाल बैंक डिबेञ्चर २०८७, ७ प्रतिशत ब्याजदर रहेको निफ्रा उर्जा ऋणपत्र २०८५÷८६ र १० प्रतिशत ब्याजदर रहेको प्राइम डिबेञ्चर २०८८ को कारोबार भएको छ । 

कारोबारमा आएका डिबेञ्चरमध्ये गुडविल फाइनान्सको ऋणपत्र प्रतिकित्ता रू. १ हजार ७ सम्मको मूल्यमा कारोबार भएको देखिन्छ । यस दिन निफ्रा उर्जा ऋणपत्र पनि प्रतिकित्ता रू. १ हजार मूल्यमा कारोबार भएको छ । प्राथमिक बजारमा प्रतिकित्ता रू. १ हजारमा खरीद गरेको ऋणपत्र दोस्रो बजारमा खरीद मूल्यभन्दा कममा कारोबार गरेको देखिन्छ । बुधवारको कारोबारमा निफ्रा र गुडविल फाइनान्सको ऋणपत्रबाहेक अन्यको ऋणपत्र प्राथमिक बजारमा खरीद गरेको मूल्यभन्दा कम मूल्यमा लगानीकर्ताले विक्री गरेका छन् । 

नियामक निकाय नेपाल धितोपत्र बोर्डले धेरै वर्षदेखि आफ्नो नीति तथा कार्यक्रममा ऋणपत्रको बजार विस्तारको योजना समेट्दै आए पनि त्यसले पूर्णता भने पाउने नसकेको अवस्था छ । अन्य धितोपत्रको तुलनामा ऋणपत्रको कारोबार सहज रूपमा नहुने भएकाले पनि लगानीकर्ताहरू नगन्य देखिएको बताउँछन् । अनुभवी लगानीकर्ता दुर्गा तिवारीले बजारमा ऋणपत्र सूचीकृत भई लगानीयोग्य औजारको विकास भए पनि त्यसको कारोबारका लागि सहजता नभएको बताइन् । लगानीकर्तामा साधारण शेयरको तुलनामा ऋणपत्रको जानकारी कम भएर पनि कारोबार कम भएको भनाइ तिवारीको छ ।

ऋणपत्र सार्वजनिक निष्कासनमा आउँदा साधारण शेयर सम्झेर आवेदन दिएको गुनासो लगानीकर्ताबाट आउने गरेको समेत तिवारीले जानकारी दिइन् । आम लगानीकर्ताको हकहितका लागि नेपाल इन्भेष्टर्स फोममा महासचिवको जिम्मेवारी पूरा गरिरहेकी तिवारीले बजारमा थपिएका धितोपत्रको बारेमा आम लगानीकर्ता जानकार हुन आवश्यक रहेको बताइन् । ऋणपत्रको कारोबारका सम्बन्धमा सहज तरीकाले कारोबार गर्ने वातावरण बन्नुपर्नेमा तिवारीले जोड दिएकी छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)