ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आधाभन्दा धेरैले घट्यो पूँजीगत लाभकर

२०७९ चैत, ६  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । गत फागुनमा सरकारले धितोपत्रको दोस्रो बजारका लगानीकर्ताबाट माघको तुलनामा आधाभन्दा पनि कम पूँजीगत लाभकर संकलन गरेको पाइएको छ । फागुनमा सरकारले पूँजीगत लाभकर शीर्षकमा १७ करोड १५ लाख रुपैयाँभन्दा बढी संकलन गरेको छ । यो महीना नाफामा धितोपत्र कारोबार गरेका लगानीकर्ताबाट सरकारले उक्त कर संकलन गरेको हो ।

दोस्रो बजारका लगानीकर्ताले नाफामा धितोपत्र विक्री गर्दा सरकारलाई बढीमा १० प्रतिशतसम्म पूँजीगत लाभकर बुझाउनुपर्ने हुन्छ । संस्थागत लगानीकर्ताले १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताले अल्पकालीन अवधिको कारोबारमा ७ दशमलव ५ प्रतिशत र दीर्घकालीनमा ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने कानूनी व्यवस्था छ ।

दोस्रो बजारमा धितोपत्रको कारोबार घट्दा लगानीकर्ता र सरकार दुवैको आम्दानी घटेको छ । माघमा सरकारले धितोपत्रको दोस्रो बजारबाट ३४ करोड ६४ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो । फागुनको कारोबारमा धितोपत्रको दोस्रो बजारको कुल बजार पूँजीकरण २ खर्ब ३८ अर्ब २८ करोड २५ लाख रुपैयाँले घटेको नेप्सेको तथ्यांकले देखाउँछ । माघ मसान्तमा ३० खर्ब ६१ अर्ब ९६ करोड २० लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण फागुन मसान्तमा २८ खर्ब २३ अर्ब ६७ करोड ९४ लाख रुपैयाँमा झरेको हो ।

सिडिएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले सरकारले फागुनमा भने दीर्घकालीन लगानीकर्ताबाट बढी पूँजीगत लाभकर संकलन गरेको जानकारी दिए । पछिल्ला केही महीना अल्पकालीन लगानीकर्ताबाट बढी कर संकलन भइरहेकोमा फागुनमा दीर्घकालीनबाट बढी कर उठेको न्यौपानेले जानकारी दिए । उनका अनुसार फागुनमा संकलित १७ करोड १५ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकरमा दीर्घकालीन लगानीकर्ताको योगदान ९ करोड १३ लाख रुपैयाँभन्दा बढी छ । अल्पकालीन लगानीकर्ताबाट ८ करोड २ लाख रुपैयाँभन्दा बढी संलकन भएको न्यौपानेले जानकारी दिए ।

माघको तुलनामा अल्पकालीन लगानीकर्ताबाट १६ करोड ६३ लाख रुपैयाँभन्दा कम र दीर्घकालीनबाट ८५ लाख २० हजार रुपैयाँभन्दा केही कम पूँजीगत लाभकर संकलन भएको सिडिएससीले जानकारी दिएको छ । माघमा अल्पकालीन लगानीकर्ताबाट २४ करोड ६५ लाख रुपैयाँभन्दा बढी र दीर्घकालीनबाट ९ करोड ९८ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको थियो ।

पछिल्लो समय बजार निरन्तर घटिरहँदा आम लगानीकर्ता चिन्तित बनेका छन् । उनीहरूले बजार सुधारका लागि लगानीकर्तासँग गरेको सम्झौताबमोजिम काम गर्न बजारसम्बद्ध निकायसँग माग गर्दै आएका छन् । धितोपत्र बजार बढ्दा यसमा सहभागी लगानीकर्तासँगै सरकारको समेत आम्दानी बढ्ने तथ्यांक बजारले कीर्तिमान कायम गरेको अवधिको पूँजीगत लाभकर संकलनको अवस्थाले स्पष्ट पार्ने तर्क लगानीकर्ताको छ ।

अर्थतन्त्रको ऐना मानिने धितोपत्र बजारको हालको अवस्था सुधार्न सरकारले विशेष ध्यान दिनुपर्नेमा लगानीकर्ताले जोड दिएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)