ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिनियाँ प्रविधि कम्पनीमाथि नियामकले 'कर्के नजर' राख्न छोड्लान् ?

२०७९ चैत, १५  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

पेचिङ । केही वर्षयता चीन सरकारले त्यहाँको ठूला प्रविधि कम्पनीहरूमाथि कडाइ तीव्र पार्यो । विदेशी कम्पनीहरूमाथि कठोर व्यवहार गर्ने चीनले घरेलु कम्पनीहरूलाई लामो समय फक्रिने अनि फुल्ने अवसर/समय दियो । चिनियाँ कम्पनीहरू सीमापारका बजारमा समेत फक्रिरहे । तर, केही वर्षअघि सरकारले निजी क्षेत्रप्रति अचानक रवैया फेर्यो ।

नियामक कडाइको घेरामा प्रविधि क्षेत्रका ठूला कम्पनीहरू निशाना हुन थाले । व्यापार समुदाय त्रस्त बन्यो । कम्पनीहरूलाई खर्बौं युआन जरिवाना तिराइयो । सीमापार बजारमा आईपीओमा नै रोक लगाइयो । व्यापारीहरू विदेश नै पलायन भए ।

पछिल्लो समय घरेलु इन्टरनेट कम्पनी अलिबाबा इंकका संस्थापक ज्याक मा महिनौं लामो वनवास सकेर स्वदेश फिर्ता भएको अनि कम्पनी ६ ओटा छुट्टाछुट्टै कम्पनीमा विभाजित गर्ने खबरसँगै निजी क्षेत्रमा चीनको कारवाही र कडाइ अन्त्य हुन लागेको हो भन्ने आशा पलाएको छ ।

यही खबरबीच बुधवार अलिबाबाको शेयर मूल्य १५ प्रतिशतभन्दा धेरैले बढ्यो । मंगलवार मात्रै अलिबाबाले आफूलाई ६ टुक्रामा विभाजित गर्ने घोषणा गरेको थियो । सबै कम्पनीका लागि पैसाको जोहो गर्न आईपीओ जारी गर्ने र छुट्टाछुट्टै सीईओ राख्ने अधिकार थियो । यो कम्पनीको २४ वर्षे इतिहासको सबैभन्दा ठूलो पुनःसंरचना थियो ।

चीनको निजी क्षेत्रमा नियामक कडाइलाई कालो बादलको रूपमा हेरिरहेका लगानीकर्ताका लागि यो कदम नियामक कडाइको समापनको संकेत बनेको देखियो । कम्पनीलाई नै टुक्राएपछि अब कम्पनीमाथि नियामकका कर्के नजर नपर्ने एकाथरि लगानीकर्ताको आशा छ । कम्पनी विभाजनको योजनाबारे छलफल गर्न अलिबाबाले बिहीवार पत्रकार सम्मेलन गर्दैछ ।

गएको केही वर्षयता चीनले घरेलु कम्पनीहरू विशेषगरी इन्टरनेट, निजी शिक्षा र घरजग्गा बजारमा व्यापक नियामक कडाइ गरेको थियो । यसका कारण कम्पनीहरूले अर्बौं डलर बजार पूँजीकरण गुमाए भने लगानीकर्ताको मनोबलसमेत खस्कियो । नियामक दबाबका कारण कम्पनीले लामो समयदेखि नै व्यावसायिक एकाईहरूलाई छुट्याउने योजना बनाइरहेको यस मामिलाबारे जानकार स्रोतले बताएको भन्दै सञ्चारमाध्यमहरूमा समाचार छापिएका छन् ।

अलिबाबा बाहिर र भित्रसमेत कम्पनीको व्यवसायको अन्तर्निहित मूल्यको तुलनामा शेयर छूटमा विक्री रहेको भन्नेमा सहमति देखिन्थ्यो । अब कम्पनीका आईपीओ हङकङ बजारमा जारी हुन सक्ने अनुमान केही स्रोतको छ । यसबारे कम्पनीले मुख खोलेको छैन । अलिबाबा आफै पनि होल्डिङ कम्पनीमा परिणत हुनेछ । समूहको सीईओको रूपमा ड्यानियल चाङले अलिबाबाको नेतृत्वका आफ्नो हातमा लिनेछन् ।

अलिबाबाको पुनःसंरचनालाई चीनबाहिर समेत महत्त्वपूर्ण प्रयोगका रूपमा हेरिएको छ । चीनका ठूला कम्पनीहरूले समाजलाई योगदान दे भन्ने सरकारको माग पूरा गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा यसले परीक्षण गर्नेछ । चीनले प्रविधि कम्पनीहरूमा कडाइ गर्दा अलिबाबा केन्द्रमा थियो । ई–कमर्शमा मनपरी गरेको अनि क्लाउड व्यवसायमा डेटाको सुरक्षामा लापरपाही अनि डेलिभरी एकाईमा श्रम अभ्यास आदिका नाममा अलिबाबामाथि नियामक कडाइ निकै कसिलो पारिएको थियो ।

नियामक कडाइ सहन नसकेर अलिबाबाका संस्थापक ज्याक माले देशै छाडेर विदेश पलायन भए । सन् २०२१ को अन्त्यतिर विदेश लागेका उनी कहिले जापान त कहिले कहाँ देखिएका थिए । अलिबाबाले कम्पनीको पुनःसंरचनाको घोषणा गर्नु एक दिनअघि अर्थात् सोमवार उनी हाङचाउमा देखिए ।

माको स्वदेश फिर्ती अनि कम्पनीको पुनःसंरचना, छुट्टाछुट्टै सीईओहरू अनि स्थानीय सरकारहरूले चीनको निजी क्षेत्रमाथिको आफ्नो रवैया केही नरम बनाउनुले लगानीकर्ताहरूमा मनोबल भरेको छ । बुधवार अलिबाबाको प्रतिस्पर्धी कम्पनी जेडी डटकमको शेयर मूल्यसमेत ७ दशमलव ८ प्रतिशतले बढेको थियो । चीनको सबैभन्दा ठूलो गेमिङ कम्पनी टेन्सेन्ट होल्डिङको शेयर ५ दशमलव १ प्रतिशतले बढ्यो ।

अलिबाबाको विभाजनले अन्य प्रविधि कम्पनीहरूलाई समेत भविष्यमा यस्तै खालको पुनःसंरचनामार्फत गुज्रिएर नियामक क्रोधलाई शान्त पार्ने बाटो खोलिदिन सक्ने अनुमान पनि बढेको छ । यस्तो भयो भने नयाँ आउने नियमनको चपेटामा पूरै कम्पनी आउने छैन । समस्याग्रस्त एउटा एकाई वा कम्पनी मात्रै नियामक छानबिनको घेरामा आउनेछ ।

एजेन्सीहरूको सहयोगमा 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)