काठमाडौं । हालैका हप्ताहरुमा अन्तरराष्ट्रिय सञ्चार माध्यममा बैंकिङ क्षेत्रको समस्यालाई दिनँहु हेडलाइनका बनाइरहेका छन् । अमेरिकाको मझौला आकारको बैंक सिलिकन भ्याली बैंक (SVB) को पतनदेखि शुरु भएको यो शृङ्खलामा समस्याग्रस्त अन्य कुन कुन बैंकहरु डुब्ने हो भनेर ठोकुवा गरेर भन्न सकिदैंन । America मा तीन ओटा बैंक ढलेपछि Europe मा पनि यस्तै समस्या देखियो ।
आक्रामक interest rate वृद्धिका कारण बैंकहरु ढलेपछि अब अमेरिकी केन्द्रीय बैंकले ब्याजदर वृद्धि बन्द गर्ने ठोकुवा व्यापारीहरुले गरिरहेका छन् । बैंकले पनि गएको नीतिगत बैठकमा त्यस्तै खालको संकेत गरेको छ । चीनले वर्षअन्त्यतिर एक्कासी कोभिड विरुद्धको शून्य नीति हटाएपछि यो वर्ष चीनको अर्थतन्त्र उक्सिने आशा थियो । तर यो आशा पनि अहिले धूमिल हुँदै गएको छ ।
यो वर्षको पूर्वाद्र्धमा विश्वको आर्थिक वृद्धिदर आफूहरुले केही हप्ता अघि सोचेको भन्दा निकै कम हुने अर्थशास्त्रीहरुले विश्लेषण गर्न थालेका छन् । महँगी नियन्त्रण गर्न विश्वभर ब्याजदर वृद्धिको होडबीच अहिले बजारमा चारैतिर तरलता अभाव छ । यस्तोमा केन्द्रीय बैंकहरुले बैंकिङ क्षेत्रले भोगिरहेको दबाबको नजिकैबाट निगरानी गरिरहेका छन् । अहिले वित्तीय अवस्थाहरु परम्परागत उपायहरुले संकेत गरेको भन्दा पनि धेरै कसिलो भएको हुन सक्ने फेड अध्यक्ष जेरोम पावेल आफैंले बताएका छन् ।
अहिले बजारमा देखिएको उथलपुथलले महँगी विरुद्ध लड्न सघाउन सक्ने आशा यूरोपेली केन्द्रीय बैंक ( ECB) की हाकिम क्रिश्टियन लगार्दको धारणा छ । बैंकिङको कर्जा मापदन्डमा गरिएको कडाईका कारण यस वर्ष अमेरिकाको आर्थिक वृद्धिदर शून्य दशमलव २५ प्रतिशतदेखि शून्य दशमलव ५ प्रतिशतसम्म घट्ने अमेरिकी बहुराष्ट्रिय लगानी बैंक गोल्डम्यान श्याख्सले बताएको छ । यो भनेको फेडले ५० आधारबिन्दुसम्म ब्याजदर बढाउँदाको प्रभाव सरह हो ।
अमेरिकाका साना अनि ठूला बैंकहरुले ठूलो रकम कर्जा लिएर नगद साथमा राखिरहेको फेडको डेटाले देखाएको छ । अहिलेको बैंकिङ समस्याले अचानक कर्जा प्रवाह ठप्प हुने अवस्था ल्याएपछि अर्थतन्त्र एक खालको मन्दीमा पुग्ने देखिएको AXA Investment Managers का प्रमुख अर्थशास्त्री गिलेस मोएकले भनेका छन् । अहिले आर्थिक परिदृश्य धमिलो बन्दै गएसँगै व्यापारीहरुले यो वर्षको अन्यसम्ममा फेडले ५० आधारबिन्दुसम्म ब्याजदर घटाउने बाजी राख्न लागेका छन् । ईसीबीको ब्याजदर वृद्धिदर पनि ३ दशमलव ४ प्रतिशत भन्दा माथि नजाने देखिएको छ । यसले छोटो अवधिको कर्जाको लागत घटाएको छ ।
अमेरिकाको दुई वर्गो ऋणपत्रको प्रतिफल मार्चमा ८० आधारबिन्दुले घटेको थियो । प्रतिफलको वक्र एसभी बैंक ढल्नु अघिको भन्दा कम घुमाउरो छ । छोटो अवधिको ऋणपत्रको तुलनामा लामो अवधिको ऋणपत्रको प्रतिफल वक्र कम छ । विगतमा पनि आर्थिक मन्दि नजिकिदैं गर्दा ‘इन्भर्जन’ पछि यो वक्र उकालो लाग्थ्यो । यो महीना मात्रै अमेरिकामा २ वर्षे/१० वर्षे ऋणपत्रको प्रतिफल वक्र ४० आधारबिन्दुभन्दा धेरैले बढेको छ । यो सन् २००९ यताकै सबैभन्दा धेरै मासिक वृद्धि हो ।
यो वर्षको शुरुमा शेयर बजारमा उछाल आएकोले बैंकिङ उथलपुथलबीच बजारमा व्यापक कमी आउँदा पनि विश्व शेयर बजार शून्य दशमलव १ प्रतिशत मात्रै तल छ । यसले आर्थिक मन्दी सानो हुने आशा एकातिर बढाएको छ । तर सतहमा भने विस्तारै चिन्ताहरु सल्बलाउन थालेका छन् । बैंकिङ क्षेत्रमा उथलपुथल आउनु अघि एमएससीआई विश्व शेयर परिसूचक भन्दा विश्वको बैंकिङ शेयर धेरैले बढेको थियो । तर अहिले यो क्षेत्र यो महीना १५ प्रतिशतले घटेको छ ।
आर्थिक वृद्धिका लागि महत्वपूर्ण मानिएको घरजग्गा र तेल तथा ग्यासलगायत क्षेत्रहरुले पनि राम्रो प्रदर्शन गरेका छैनन् । बैंकिङ क्षेत्रमा व्याप्त समस्याले कर्पोरेट कर्जाको जोखिम ‘प्रिमियम’ बढाएको छ । जोखिमयुक्त सम्पत्तिप्रतिको भोकका रुपमा हेरिने तामा देखि सुनको मूल्य अनुपात मार्चमा सात महीनायताकै न्यून स्तरमा झर्यो । लगानीकर्ताहरले सुरक्षित मानिने सम्पत्तिहमा लगानी गर्न जोखिमयुक्त सम्पत्तिहरु धमाधम त्याग्न थाले पछि सुनको भाउ पुनः आकाशिएको छ ।
सबै तथ्यांक/सूचकांकहरुले आर्थिक मन्दीकै संकेत भने गरेका छैनन् । सिटी इन्डेक्स यो मध्ये एउटा हो । अमेरिका र यूरोपको व्यवसायिक गतिविधि मार्चमा अपेक्षाकृत धेरैले बढ्यो । अमेरिकाको तथ्यांक एसभी बैंकको अवसानपछि लिइएको थियो । यसले बैंकको अवसानले व्यवसायिक गतिविधिमा थोरै मात्रै असर पारेको देखाएको छ । यसलाई पनि सकारात्मक नै मान्नु पर्छ । अहिले विश्वभर बैंकिङ समस्या हेडलाइन बनिरहँदा चीनका समस्या पनि बाहिरिन थालेका छन् । चीनका साना बैंकहरुमा समस्या छन् । तर यिनीहरुले एसभी बैंकको पतनजस्तै खालको जोखिम भने नल्याउने विश्लेषण भइरहेका छन् ।
गएका केही वर्षयता नै चीनका औंलामा गन्न सकिने बैंकहरुमा समस्या देखिएको थियो । चीनको पाओशाङ बैंक टाट नै पल्टियो । हनान प्रान्तले केही ग्रामीण बैंकका खाता नै रोक्का गरिदिए । तर चिनियाँ बैंकहरुको संरचना र सञ्चालन अस्पष्ट भएकोले यसले बृहत अर्थतन्त्रमा प्रणालीगत जोखिम नल्याउने विश्लेषण गरिएको छ । चीनको पाँच ठूला बैंकह अर्थात् बिग फाइभ केन्द्र सरकारको स्वामित्वमा छ । यो विश्वका सबैभन्दा ठूला बैंकहरुमा पर्दछ ।
अमेरिकामा फेडले ब्याजदर बढाउन थालेपछि निक्षेपकर्ताहरुले धेरै ब्याज पाइने लोभमा बैंकमा भएको आफ्नो निक्षेप धमाधम झिक्न थालेपछि उत्पन्न संरचनागत जोखिमका कारण अमेरिकामा अहिलेको बैंकिङ संकट उत्पन्न भएको हो । अहिलेको अमेरिकाको बैंकिङ समस्या सन् २००८ को भन्दा नै फरक छ । त्यति बेला लेहम्यान ब्रदर्श धराशयी बनेपछि सोको असर अमेरिकी अर्थतन्त्र हुँदै विश्व अर्थतन्त्रभर पोखिएको थियो ।
तर विगतमा भएको गल्तीबाट पाठ सिकेर फेड र अन्य नियामकहरुले एसभी बैंकको अवसानको असर कम कम गर्न निकै तत्परताका साथ काम गरे । असफल हुन दिनै नहुने गरी ठूला बैंकहरु धराशयी बन्दाको परिणती दोहोरिन नदिन फेडले २००८ को विश्वव्यापी आर्थिक मन्दीयता निकै सुधार गरेको छ । अर्थतन्त्रको चालकका रुपमा रहेका घरजग्गा बजार समेतका महत्वपूर्ण क्षेत्रहरुमा तीव्र कमी आएको अनि बढ्दो ब्याजदरका कारण तरलता अभाव अहिलेका लागि सबैभन्दा टाउको दुखाईको विषय बनेको छ ।
बैंकिङ क्षेत्रमा व्याप्त यी तनावहरुको असर कति सम्म व्यापक छ भन्ने अहिले नै भन्न सकिने अवस्था छैन । कर्जा अभाव हुनु भनेको आर्थिक गतिविधि सुस्ताउनु नै हो । अमेरिकाको बैंकिङ संकटले हामीहरुलाई आर्थिक मन्दीको निकै नजिक ल्याइ पुर्याएको छ । एजेन्सीहरुको सहयोगमा