ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२० ओटा लघुवित्त कम्पनी मर्जर तथा प्राप्ति प्रक्रियामा, कसको कोसँग ?

२०७९ चैत, १९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा मर्जरको लहर चलेको छ । बैंक तथा वित्तीय संस्थाहरूको संख्या घटाउन नेपाल राष्ट्र बैंकले मर्जरमा सेवा सुविधा प्रदान गरेपछि धमाधम गाभिन थालेका हुन् ।

विशेषगरी वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाहरूको संख्या घटाउन मर्जरमा जोड दिइएको छ । मर्जरका माध्यमबाट वाणिज्य बैंक र लघुवित्तको संख्या घटाउन नेपाल राष्ट्र बैंकले प्रोत्साहन गर्न थालेपछि हालसम्म १० ओटा वाणिज्य बैंकको मर्जर तथा प्राप्ति सम्पन्न भई पाँच ओटा कायम भएका छन् । यससँगै वाणिज्य बैंकको संख्या २१ मा झरेको छ । 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा दिने सुविधालाई चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षामार्फत नै निरन्तरता दिएको थियो । सोहीअनुसार पछिल्लो समय लघुवित्त कम्पनीहरूमा पनि मर्जरको लहर चलेको देखिन्छ । हालसम्म २० ओटा लघुवित्त कम्पनीले मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् । तीमध्ये केहीले एकीकृत कारोबार पनि थालिसकेका छन्, केही भने मर्जरका लागि नियामक निकायको स्वीकृति पर्खिंदै छन् । लघुवित्त मर्जरका लागि राष्ट्र बैंकबाट र नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाउनुपर्छ । 

पछिल्लो पटक सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र आँधिखोला लघुवित्त वित्तीय संस्थाले फागुन ३० गतेदेखि सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरू गरिसकेका छन् । 

त्यस्तै समता घरेलु लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिन सेबोनबाट पूर्वस्वीकृति लिइसकेका छन् । पुस २८ गते समान अनुपातमा मर्जरमा जान सहमति गरेका यी दुई कम्पनीले एक आपसमा गाभिने प्रस्ताव विशेष साधारण सभाबाट पारित गरी आवश्यक प्रक्रिया पूरा गरेपछि एकीकृत कारोबार शुरू गर्नेछन् । डीडीए रिपोर्ट फरक आएमा सोहीबमोजिम मर्ज हुने समता लघुवित्तले जानकारी गराएको छ । समता घरेलु लघुवित्तले साधारण मर्जरसम्बन्धी प्रस्ताव सभाबाट पारित गरिसकेको छ भने स्वरोजगार लघुवित्तको बाँकी छ । अब स्वरोजगार लघुवित्तले साधारण सभाबाट पारित गरी आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै एकीकृत कारोबार शुरू हुनेछ । 

मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्तबीच गत पुस ११ गते एक आपसमा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर भएको छ । यी कम्पनीहरूले पनि समान हैसियतमा मर्जरमा जाने सम्झौता गरेका हुन् । मर्जरसम्बन्धी अन्तिम सम्झौता एक हप्ताभित्र हुने मिर्मिरे लघुवित्तले जानकारी दिएको छ । दुवै कम्पनीको विशेष साधारण सभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेर नियामक निकायको स्वीकृतिपछि एकीकृत कारोबार शुरू हुनेछ । 

त्यस्तै धौलागिरी लघुवित्त र खप्तड लघुवित्त वित्तीय संस्थाले मङ्सिर १८ गते मर्जरसम्बन्धी सम्झौता गरेका हुन् । दुवै कम्पनीलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकले पुस १८ गते सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ । यी दुवै कम्पनीले विशेष साधारण सभाबाट मर्जरसम्बन्धी प्रस्ताव पारित गरिसकेका छन् । बाँकी प्रक्रिया पूरा गरेर नियामक निकायको अन्तिम स्वीकृतिपछि एकीकृत कारोबार शुरू हुनेछ । 

नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभिन असोज २६ गते सम्झौता गरेका थिए । राष्ट्र बैंकबाट मर्जरमा जान सैद्धान्तिक स्वीकृति लिइसकेका दुवै लघुवित्त प्रारम्भिक सम्झौताअनुसार १००ः८२ स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । अब मर्जरसम्बन्धी प्रस्ताव दुवै कम्पनीले विशेष साधारण सभाले पारित गरेपछि प्रक्रिया अगाडि बढ्ने जानकारी दिइएको छ । 

डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तबीच गत असोज १४ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने  समझदारीपत्रमा हस्ताक्षर भएको हो । दुवै कम्पनीले फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभामार्फत प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरेका छन् । दुवै कम्पनी समान हैसियतमा एक हुन लागेका हुन् । अन्तिम सम्झौता गरेका यी कम्पनीले एकीकृत कारोबारका लागि भने नियामक निकाय नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय र सेबोनबाट पनि स्वीकृति लिनुपर्नेछ । नियामकको स्वीकृति लिई एकीकृत कारोबारका लागि तयारी अघि बढाइएको जानकारीसमेत कम्पनीले दिएको छ । 

त्यस्तै सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले एक आपसमा मर्जरमा जान पुस १ गते समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यी कम्पनीले पनि आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकायको स्वीकृतिपछि मर्जरपश्चात् विशेष साधारण सभाबाट पारित गरेपछि एकीकृत कारोबार शुरू गर्नेछन् । 

त्यस्तै विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाबीच मङ्सिर २६ गते मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यी दुई कम्पनी समान अनुपातमा मर्जरमा जान लागेको हुन् । मर्जरसम्बन्धी प्रस्ताव पारित गर्न यी दुवै कम्पनीले चैत २८ गते साधारण सभा बोलाएका छन् । अब साधारण सभाबाट पारित भएपछि आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकायबाट स्वीकृतिपछि एकीकृत कारोबार शुरू हुनेछ । 

साना किसान विकास लघुवित्त संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रक्रिया अघि बढेको छ । यी दुवै कम्पनीले एकआपसमा गाभ्ने÷गाभिने वा मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् ।

साना किसानको १ शेयर बराबर १ शेयर कायम हुने तथा आरएमडीसी लघुवित्तको १ शेयर बराबर ०.८७ शेयर (शेयर अनुपात १ः०.८७) कायम हुने गरी फागुन १८ गते दुवै संस्थाका सञ्चालक समितिहरूले हस्ताक्षर गरेका हुन् । मर्जरसम्बन्धी प्रस्ताव साधारण सभाबाट दुवै कम्पनीले पारित गरिसकेका छन् । अब आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकायको स्वीकृति पाएपछि एकीकृत कारोबार शुरू गर्नेछन् । 

मानुषी लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जान चैत २ गते समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । त्यस्तै समाज लघुवित्त वित्तीय संस्था र स्वस्तिक लघुवित्त वित्तीय संस्थाले २०७७ असोज ५ गते एक आपसमा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)