ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एक वर्षकै उत्कर्षमा उक्लियो सुनको भाउ, २०२३ मा प्रतिऔंस ५ लाख रुपैयाँ पुग्ने विश्लेषण !

२०७९ चैत, २२  
समाचार विविध अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

काठमाडौं । विश्व बजारमा बहुमूल्य धातु सुनको भाउ बढ्ने क्रमले बुधवार पनि निरन्तरता पाएको छ ।

अमेरिकाको कमजोर आर्थिक तथ्यांकले आकर्षक प्रतिफल दिने सुरक्षित लगानी (safe haven asset)  को रुपमा सुनको माग बढाउँदा पहेँलो धातुको भाउले टेवा पाएको छ ।

अमेरिकी केन्द्रीय बैंक federal reserve को आक्रामक ब्याजदर वृद्धिका कारण दुई ओटा घरेलु बैंकहरु ढलेपछि फेडले कसिलो मौद्रिक नीतिप्रतिको आफ्नो अडान केही खुकुलो बनाउने आशाबीच डलर कमजोर हुँदा पनि डलरमा किनबेच हुने सुनको माग बढिरहेको छ ।

यूरोपमा बैंकिङ क्षेत्रमा समस्याका खबरहरु आइरहँदा सुनले थप टेवा पाएको छ । अहिले सुनको भाउ वृद्धिलाई टेवा दिने मुख्य कारकमा banking crisis र अमेरिकाको कमजोर आर्थिक तथ्यांक छ । बुधवारको कारोबारमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा सुनको भाउ अधिकतम् प्रतिऔंस २ हजार २८ डलरसम्म पुगेको थियो । भाउ यो स्तरमा यस अघि सन् २०२२ को मार्चमा पुगेको थियो । यो वर्ष सन २०२३ भित्रै सुनको भाउ प्रति औंश ४ हजार डलर (नेपाली ५ लाख रुपैयाँ) पुग्ने विश्लेषण सार्वजनिक भइरहेका छन् ।

यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार दिउँसो ३ः०५ बजेतिर कोमेक्समा सुनको भाउ प्रतिऔंस २२ हजार २३ डलर १८ सेन्ट कायम भएको छ । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा भने थोरै मात्रै बढी हो । अघिल्लो दिन भने सुनको भाउ झन्डै २ प्रतिशतले बढेको थियो । US Gold Futures पनि शून्य दशमलव २ प्रतिशतले बढेर प्रतिऔंस २ हजार ४२ डलर १० सेन्टमा किनबेच भइरहेको छ । 

अहिले विश्व बजारमा सुनको भाउ कीर्तिमानी उच्च स्तर नजिकै छ । मंगलवार सुनको भाउले गत वर्षको मार्चयता पहिलो पटक प्रतिऔंस २ हजार डलरको महत्वपूर्ण स्तर पार गरेको थियो । अहिले डलर सूचक २ महीनाकै न्यून स्तर आसपास बसेको छ । यस्तोमा डलर बाहेकका अन्य मुद्रा बोक्नेहरुका लागि डलरमा किनबेच हुने सुन सस्तो भएको छ । महँगी आकासिएको अनि विश्वको अर्थतन्त्र सुस्ताइरहेको अहिलेको अवस्थामा डलर कमजोर भएकोले सुनको भाउ थप उकालो लाग्न सक्ने विश्लेषकहरु बताउँछन् । 

अमेरिकी अर्थतन्त्र सुस्ताएको संकेत गरेर अर्को तथ्यांक सार्वजनिक भएपछि मंगलवार सुनको भाउ ह्वात्तै बढेको थियो । फेब्रुअरीमा अमेरिकामा करीब २ वर्षयताकै कम रोजगारी खुलेको तथ्यांकले देखाएको थियो । यसले श्रम बजार सुस्ताएको संकेत गरेको छ । अर्को छुट्टै प्रतिवेदनले भने अमेरिकामा उत्पादित वस्तुको अर्डर फेब्रुअरीमा लगातार दोस्रो महीना पनि घटेको देखाएको थियो । 

परम्परागत रुपमा सुनलाई आर्थिक अनिश्चय अनि महँगीको बेलामा hedging को रुपमा हेर्ने गरिएको छ । युक्रेनमाथि रुसको आक्रमण विश्वभर उक्लिएको महँगी, महँगी नियन्त्रण गर्न केन्द्रीय बैंकहरुले मौद्रिक नीति कसिलो पार्नु, विश्वभर शेयर बजारमा देखिएको अनिश्चयले गएको वर्षको उत्तरार्द्धभर सुनको माग भरथेग गर्यो । सन् २०२२ मा केन्द्रीय बैंकहरुले झन्डै ७० अर्ब डलर बराबरको सुन किनेका थिए । यो सन् १९५० यताकै कीर्तिमानी स्तर थियो । 

अहिले सुनको वार्षिक माग ११ वर्षयताकै उच्च स्तरमा भएको विश्व स्वर्ण परिषद्को डेटाले देखाएको छ । फेडले महँगी नियन्त्रण गर्न आक्रामक रुपमा ब्याजदर बढाउँदै गर्दा गएको वर्षको पूर्वाद्र्धदेखि नै विश्वभर विस्तारै महँगी आकाशिन थाल्यो । तर Rate hike सँगै डलर बलियो बन्दा सुनको भाउ खासै बढेन । अझ बढ्दै बढेन भन्दा पनि हुन्छ । 

पछिल्लो समय भने अमेरिकामा Bank failure अनि कमजोर आर्थिक गतिविधिले सुनको भाउलाई टेवा दिइरहेको छ । अर्थतन्त्र मन्दीमा नै जाकिने हो कि भन्ने भयबीच फेडले सावधानी पूर्वक ब्याजदर बढायो । तर यसको परिणति अमेरिकाका दुई मझौला स्तरका क्षेत्रीय बैंकहरु धराशयी बने । अब फेडले ब्याजदर बढाउन बन्द गर्ने अनि यो वर्षको अन्त्यतिर ब्याजदर उल्टै कटौती गर्ने बाजी थाप्ने क्रम बढेको छ । 

यस्तोमा सुनको भाउले झनै टेवा पाउने देखिन्छ । सुनको भाउ अहिलेको स्तरबाट बढ्यो भने २ हजार ५० डलर यसको लागि अर्को महत्वपूर्ण टेवा बिन्दु हुनेछ । सुनको भाउ यो स्तरभन्दा माथि गयो भने त्यो पनि कीर्तिमान नै हुनेछ । गएको वर्ष अन्त्ययता नै सुनको भाउ बढेर  ४ हजार डलरमाथि पुग्ने प्रक्षेपणहरु आइरहेका थिए । आर्थिक मन्दीको भयबीच यही वर्ष सुनको भाउले सो स्तर चुम्ने भविष्यवाणी सुन्नमा आएको थियो । त्यो भविष्यवाणी पूरा होला त ?

सुनको भाउ कतातिर जाला ?

विश्वको बैंकिङ क्षेत्रमा व्याप्त उथलपुथल अनि ब्याजदर वृद्धिप्रति फेडको रवैया  फेरिने आशामा गएको त्रैमासमा मात्रै सुनको भाउ ८ प्रतिशतले बढेको थियो । बैंकिङ संकट अनि केन्द्रीय बैंकहरुले ब्याजदर वृद्धि कसिलो पार्ने चक्रलाई अन्त्य गर्न सक्ने अड्कबाजी बढिरहेको छ । फेडले ब्याजदर वृद्धि रोक्यो भने ऋणपत्रको प्रतिफल घट्न थाल्नेछ अनि डलर पनि कमजोर हुनेछ । 

मध्यकालीन अवधिमा फेडको नीति सुनको मुख्य मूल्य निर्धारक तत्व बन्ने देखिन्छ । संरचनात्मक रुपमा पनि यो वर्ष सुन बजार बुलिश नै हुने बाजी कमोडिटी विश्लेषकहरुले लगाइरहेका छन् । ‘फियर फ्याक्टर’ पनि सुनको भाउ वृद्धिमा अर्को इट्टा थप्नेछ । अमेरिकाको बैंकिङ संकटले आर्थिक मन्दी निम्त्याउने भय चर्किरहँदा सुनको माग बढ्ने देखिन्छ ।  सुनको भाउ बढिरहेको भएपनि सुन बजारबाट ईटीएफहरु बाहिरिने क्रम रोकिएको छैन ।

यो वर्षको पहिलो दुई महीनामा Gold ETFs  झन्डै ६१ टन सुन बेचेका थिए । तर मार्चमा यो प्रवृत्ति फेरियो । मार्च २४ सम्मको २ हप्तामा ईटीएफहरुले ३६ टन सुन किने ।  गएको वर्ष रुसले युक्रेनमा आक्रमण गरेयता केन्द्रीय बैंकहरुको सुन खरिद ह्वात्तै बढेको थियो । वर्षभरमा केन्द्रीय बैंकहरुले १ हजार १३६ टन सुन किने । चीन र टर्कीले मात्रै क्रमशः १४८ टन र ६२ टन सुन किनेका थिए । तर ईटीएफहरुको सनुमा लगानी फिर्ता गर्ने प्रवृत्तिका कारण सुनको भाउले खासै टेवा पाएन । 

यो वर्ष सो प्रवृत्ति ठ्याक्कै त्यस्तै छैन । आर्थिक वातावरणका कारण यो वर्ष पनि केन्द्रीय बैंकहरुले आफ्नो सुन खरिदलाई निरन्तरता दिने अपेक्षा गरिएको छ । तर अमेरिकाको बैंकिङ संकट पूरै साम्य भयो भने सेभ हेभन एसेटको रुपमा सुनको माग चाँहि कम हुनेछ । अनि यसले मूल्यमा दबाब दिने निश्चित छ । एजेन्सीहरुको सहयोगमा 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)