सफल हुन बिहान सबेरै उठ्ने बानी गर्नुपर्छ भनेर हामीले सानैदेखि सुन्दै आएका छौं । पूर्वीय सभ्यतामा बेलुका चाँडै सुत्नुपर्छ र बिहान सबेरै उठ्नुपर्छ भन्ने मान्यता छ । विश्वमा सर्वाधिक धनी र सफल भएका केही व्यक्तिहरूको दैनिकीलाई केलाउँदा पनि धेरैजसो सबेरै उठ्ने गरेको पाइन्छ ।
हुन पनि एप्पल इङ्कका सीईओ टिम कुक सबेरै पौने ४ बजे उठ्छन् । फियाटका सीईओ सेर्गियो मार्चिआने त झन् साढे ३ बजे नै उठ्छन् । भर्जिन ग्रूपका मालिक रिचार्ड ब्रान्सन पनि ‘अर्ली बर्ड’ नै हुन् । यसले पनि धेरै मानिसलाई बिहानै उठ्न प्रेरित गरेको हुनुपर्छ ।
तर, केही सफल मानिसहरू चाँडै उठ्छन् भन्दैमा सबै त्यस्ता सफल मानिस सबेरै उठ्छन् र हामी पनि चाँडै उठ्नुपर्छ भनेर निष्कर्ष निकालिहाल्नु भने हुँदैन । हामीमध्ये करीब आधा जनसङ्ख्यामा बिहान सबेरै वा राति धेरै ढिलासम्म बस्ने बानी हुँदैन । हामी यसको बीचमा छौं ।
चारमध्ये एक जना बिहान सबेरै उठ्ने अनि चारमध्ये एक चाहिँ रातभर जागा भएर अबेरसम्म बस्छन् । पहिलो वर्गमा पर्नेहरू अधिकांश राति १० बजेभन्दा अगाडि नै टिभी हेर्दाहेर्दै निदाउन सक्छन् । अनि दोस्रो वर्गका चाहिँ सधैं काममा ढिला पुग्छन् ।
अनुसन्धानले पनि के देखाएको छ भने बिहान सबेरै उठ्ने र उल्लुझैं रातमा जागा बस्नेहरूमध्ये पहिलो श्रेणीका मानिसहरू अलि बढी विश्लेषणात्मक र सहयोगी भावनाका हुन्छन् । अनि दोस्रो चाहिँ कल्पनाशील र व्यक्तिवादी खालका हुन्छन् । एकाबिहानै उठ्ने मानिसहरू अलि बढी दृढ, स्वनिर्देशित र मिलनसार प्रवृत्तिका हुन्छन् । यिनीहरू ठूलो लक्ष्य लिन्छन्, भविष्यको योजना धेरै बनाउँछन् र बढी खुशी भएको महशुस गर्छन् । रातभर जागा बस्ने समूहको तुलनामा यिनीहरूमा निराशा कम हुन्छ । यिनीहरूमा मद्यपान र धूम्रपानको लत पनि थोरै हुन्छ । अर्ली बर्डहरूले धेरै शैक्षिक उपलब्धि प्राप्त गर्न सक्छन् ।
अनि ‘नाइट आउलहरू’को भने स्मरण शक्ति, ‘प्रोशेसिङ’ गति र संज्ञानात्मक क्षमता उच्च हुन्छ । यिनीहरूले कुनै काम बिहानै गर्नुपरे पनि यस्ता विषयमा उत्कृष्ट प्रदर्शन गर्न सक्छन् । यिनीहरू नयाँनयाँ अनुभव गर्न सजिलै तयार हुन्छन् र यसको खोजीमा हुन्छन् । यिनीहरू बढी सृजनशील पनि हुन्छन् । यो वर्गका मानिसहरू अर्ली बर्ड जत्तिकै स्वस्थ र बुद्धिमान् पनि हुँदा रहेछन् भने अर्ली बर्डभन्दा बढी नै धनी हुँदा रहेछन् भन्ने एक अध्ययनले देखाएको छ ।
तपाईं अझै पनि बिहान सबेरै उठ्ने मानिसहरूलाई ‘सीईओ मेटरियल’ ठान्नुहुन्छ त ? घडीको अलार्म बिहान ५ बजे राख्ने हतार गर्नुपर्दैन । निद्राको रुटिन बिगारेर खासै उपलब्धि हुँदैन । ‘सबैलाई आफ्नो मनले मागेको समयसम्म सुत्न दिँदा नै तिनीहरूले धेरै राम्रो महशुस गर्छन् । यसरी सुत्दा आफ्नो उत्पादकत्व बढ्ने र मानसिक क्षमता पनि धेरै हुने उनीहरूको भनाइ छ,’ अक्सफोर्ड युनिभर्सिटीकी जीवशास्त्री क्याथरिना वुल्फ भन्छिन् ।
वुल्फले क्रोनोबायोलोजी र निद्राबारे अध्ययन गरेकी छन् । प्राकृतिक चाहना र आवश्यकता विपरीत मानिसहरूलाई जबर्जस्ती सुत्ने र उठ्ने गर्न लगाउनु हानिकारक हुन सक्छ । बिहान सबेरै उठ्ने बानी विकास गर्दा समेत नाइट आउलहरूमा मेलाटोनिन (निद्रा र ब्युँझाइ नियन्त्रण गर्ने हार्मोन) उत्पादन भइरहेको हुन्छ । यसरी जर्बजस्ती गर्दा शरीरमा विभिन्न नकारात्मक समस्या उत्पन्न हुन सक्ने वुल्फ बताउँछिन् । उनको यो भनाइले मानव शरीरको क्रोनोटाइप अर्थात् आन्तरिक घडीसँग सम्बन्ध दर्शाएको छ ।
सर्काडियन रिदम मानिसको दैनिकीअनुसार फरकफरक हुन्छ भनेर विभिन्न अनुसन्धानले पनि देखाइसकेको छ । ४७ प्रतिशत सर्काडियन रिदम जन्मजात प्राप्त हुन्छ । यदि कुनै व्यक्ति दिनमा कुनै समय एक क्षण भए पनि झुपुक्क निदाउँछ भने उसको आमाबाबुमा यस्तो बानी हुन सक्छ । मानिसको सर्काडियन घडी औसत २४ दशमलव २ घण्टाको हुन्छ । यसको अर्थ प्रत्येक मानिसले हरेक दिनलाई २४ घण्टाको तालमा मिलाउँछन् भन्ने हुन्छ । तर, नाइट आउलहरूका लागि यो घडीको अवधि लम्बिँदै जान्छ । अर्थात् समय बित्दै जाँदा तिनीहरू झन् ढिला सुत्ने र झन् ढिला उठ्ने गर्छन् ।
तर, उमेर बित्दै जाँदा रुचि परिवर्तन हुँदै जान्छ । बालबालिकाहरू बिहान सबेरै उठ्छन् । किशोर र युवा अवस्थामा राति ढिलासम्म बस्ने बानी देखिन्छ र ५० वर्ष पुग्दासम्म फेरि बिहान चाँडै उठ्ने प्रवृत्ति देखिन सक्छ । यद्यपि, आफ्ना समकक्षीहरूसँगको तुलनामा भने अवस्था उही हुन्छ ।
अरूको सफलताको रहस्य पत्ता लगाउने दौडमा हामीले कैयौं कुरा बिर्सन्छौं । पहिलो कुरा सफलता हासिल गरेका सबै मानिसहरू बिहानै उठ्दैनन् । अनि बिहान उठ्ने सबै जना सफल पनि हुँदैनन् । बक्सका सीईओ आरोन लेभी र बजफिडका सीईओ जोनाह पेरिट्टी ढिलै उठ्छन् । यस सूचीमा जेम्स जोयसी, गर्टुड स्टेन र गुस्ताभ फ्लउबर्टजस्ता सृजनशील व्यक्तिहरू पनि छन् । योभन्दा पनि महत्त्वपूर्ण कुरा के भने दुई कुराका बीच सहसम्बन्ध छ भन्दैमा एउटा कारण र अर्को परिणाम हुँदैन ।
बिहान उठ्नुको फाइदा छ छैन भन्ने यतिले स्पष्ट हुँदैन । हामीमध्ये अधिकांशले ८, ९ बजे नै काम वा विद्यालयका लागि निस्कनुपर्छ । कुनै व्यक्तिको सबेरै उठ्ने बानी छ भने हार्मोनदेखि शरीरको तापक्रमजस्ता कुरामा हुने जैविक परिवर्तनले गर्दा ऊ नाइट आउलभन्दा पहिल्यै काममा लागिहाल्न सक्छ । यसको अर्थ के चाहिँ हुन सक्छ भने बिहान सबेरै उठ्न मन पराउने मानिसहरूको बानी दिनभर गर्नुपर्ने कामको रुटिनसँग बढी मेल खान्छ र उनीहरूले बढी सफलता हासिल गर्न सक्छन् ।
तर, कोही नाइट आउल बिहान ७ बजे उठ्छ भने उसको शरीरले ऊ अझै निद्राकै सुरमा छ भन्ने सोच्छ र सोहीअनुरूप काम गर्छ । यस्तोमा सधैं बिहान उठ्ने व्यक्तिको तुलनामा राति अबेरसम्म बसेर कहिलेकाहिँ सबेरै उठ्नेहरूमा धेरै बेरसम्म आलस्य हुन्छ ।
साँझको समयमा बढी सक्रिय रहनेहरूले नचाहेको समयमा पनि काम गर्नुपर्ने हुन्छ । त्यसकारण उनीहरूको मूड धेरैजसो खराब नै हुन सक्छ र जीवनमा सन्तुष्टि पनि थोरै हुन सक्छ । उनीहरूले नचाहिने काम पन्छाएर सृजनशील हुन सिके भने उनीहरूको सृजनशीलता र संज्ञानात्मक क्षमता बढ्न सक्छ ।
सांस्कृतिक मान्यताअनुसार ढिलो सुतेर ढिलो उठ्नेहरूलाई अल्छी मानिन्छ । त्यसकारण धेरै मानिसहरू बिहानै उठ्ने प्रयास गर्छन् । त्यस्तो प्रयास नगर्नेहरू बढी विद्रोही र व्यक्तिवादी खालका हुन सक्छन् । कसैको क्रोनोटाइप फेरिदिएर मात्रै उसको गुण फेरिँदैन । नाइट आउलहरूले अर्ली बर्ड बन्ने प्रयास गरे पनि तिनीहरूको मूड र जीवन सन्तुष्टि राम्रो भएको अध्ययनले पनि देखाएन ।
यो सबै त्यस्ता व्यक्तिको ढिलै उठ्ने क्रोनोटाइपको कारण भएको हुन सक्छ । व्यक्तिको कतिखेर सुत्ने भन्ने रुचि जैविक रूपमै अरू विभिन्न गुणहरूसँग सम्बन्धित हुन सक्छ भनेर अर्को अध्ययनले देखाएको छ ।
हालै युनिभर्सिटी अफ हइफामा भएको एक अध्ययनमा बढी भिजुअल्ली क्रिएटिभ (नयाँ विचार अवधारणा र सम्भाव्यताको दिमागमा तस्वीर बनाउन सक्ने) मानिसहरूको निद्रामा धेरै समस्या पाइएको थियो । यस्ता मानिसहरूमा निदाइसकेपछि समेत बारम्बार उठ्ने वा एक क्षण निदाएपछि रातभर निद्रा नलाग्ने समस्या देखिएको थियो ।
के तपाईं अझै पनि अली बर्ड बन्न चाहनुहुन्छ ? एकाबिहानै उठेर पनि सीईओ भइहालिन्छ भन्ने ठोकुवा गर्न सकिँदैन भन्ने थाहा पाएर पनि बिहानको मिठो निद्रा किन बिगार्नुहुन्छ ? बरु, दिनभरिको गतिविधिमा पो तालमेल मिलाउने हो कि ? (बीबीसीको सहयोगमा) -Abhiyan Archive बाट