काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका आर्थिक मन्दीको संघारमै छ । अर्थशास्त्री र विश्लेषकहरूले अर्थतन्त्र मन्दीमा जाने फेरि चेतावनी दिन थालेका छन् ।
यो वर्षको दोस्रो अर्धवार्षिक अवधि अर्थात् अबको ७ हप्तामा मन्दी आउने बताइएको छ । अमेरिकी बहुराष्ट्रिय लगानी बैंक जेपी मोर्गन चेजका प्रमुख कार्यकारी अधिकारी (सीईओ) जेमी डिमनले बिहीवार नै क्षितिजमा ठूलो आर्थिक खतरा मडारिरहेको देखिएको बताए । उनले मध्यम खालको मन्दी आउने ठोकुवा गरे ।
अर्बपति लगानीकर्ता स्ट्यान ड्रकेनमिलरले पनि यो हप्ता एउटा लगानी सम्मेलनमा अर्थतन्त्रको खतरा नदेख्नु केटाकेटीपन हुने बताए ।
अमेरिकी अर्थतन्त्र मन्दीमा जाने चेतावनी भर्खरै सुन्न थालिएको भने होइन, एक वर्षभन्दा अघिदेखि सीईओ, अर्थशास्त्री, विश्लेषकहरूले अर्थतन्त्र मन्दीमा जाने अवस्था टारेर नटर्ने भन्ने चेतावनी दिइरहेका छन् ।
राम्रो पक्ष के रह्यो भने अहिलेसम्म विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र धेरै हदसम्म उत्थानशील रह्यो । गएको वर्ष अवस्था राम्रो हुँदै भएन । मुद्रास्फीति ४० वर्षकै उत्कर्षमा उक्लियो, ग्यासको भाउ अकासियो, उपभोक्ता मनोबल खस्कियो अनि शेयर बजार २० प्रतिशतले घट्यो । यति हुँदा पनि अमेरिकी अर्थतन्त्र मन्दीमा जाने अवस्था टार्न सफल भयो ।
त्यति धेरै चिज भएर त मन्दी आएन । अब अहिले के छ त फरक ? के कुरामा हामीले विचार गर्नु पर्ने हो ? वेल्स फार्गोमा लगानी रणनीति प्रमुख पल क्रिष्टोफरको कुरा मान्ने हो भने यसका दुई कारणहरू छन्ः उच्च ब्याजदर अनि कसिलो कर्जा बजार । अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ले आक्रामक रूपमा ब्याजदर बढायो ।
ब्याजदर वृद्धिको तीव्रता र दर पनि विगतका कुनै दशकमा बैंकले बढाएको भन्दा छिटो थियो । अहिले अमेरिकाको क्षेत्रीय स्तरका बैंकमा चलिरहेको संकट पनि यसको चेतावनी संकेत भएको भन्नेहरू पनि छन् । मार्चमा फेडको आफ्नै विज्ञहरूले पनि हालै बैंकिङ क्षेत्रमा देखिएको घटनाक्रमहरूको सम्भावित आर्थिक असरले यो वर्षको उत्तरार्द्धमा ठिकै खालको आर्थिक मन्दी निम्त्याउने प्रक्षेपण गरेका थिए ।
फेडको आक्रामक ब्याजदर वृद्धिको प्रभाव खप्न नसकेर अमेरिकामा मझौला आकारका तीनओटा बैंकहरू असफल भए । अहिले त झन् ऋण पाउनै कठिन छ । यस्तै अवस्था आगामी दिनमा पनि देखिनेछ । यसले खर्च झनै घटाइदिने छ भने आर्थिक गतिविधिमाथि दबाब सृजना गर्नेछ ।
फेडले सोमवार सार्वजनिक गरेको सर्वेक्षणको नतिजा अनुसार बैंकिङ संकटपछि कर्जादाताहरूले कर्जाको मापदन्ड कठोर बनाएका छन् । अहिले कर्जाको माग अनि आपूर्तिको अवस्था सन् २००८ को विश्वव्यापी वित्तीय संकटको स्थिति नजिक पुगेको बताइएको छ ।
महँगी जति नै घटेपछि ५ प्रतिशत माथि नै रहनेछ । यो भनेको फेडको लक्षित स्तरभन्दा धेरै हो । महँगीलाई २ प्रतिशतमा राख्ने फेडको लक्ष्य छ । फेडले तत्कालै ब्याजदर पनि घटाउँदैन । त्यसो भए पनि कर्जाको अवस्था निरन्तर कसिलो नै हुनेछ । अनि आसन्न आर्थिक मन्दी पनि सबैले अनुमान गरेको भन्दा गहिरो अनि लामो हुने अपोलो ग्लोबल म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री तोस्र्टेन स्लोक बताउँछन् ।
अब के होला ?
अमेरिकामा महँगी ९ प्रतिशत माथि उक्लिएको एक वर्ष पुग्नै लाग्यो । सन् २०२२ को जुनमा मुद्रास्फीति ९ दशमलव १ प्रतिशतमा थियो । इतिहासलाई पल्टाएर हेर्ने हो भने पनि महँगी उत्कर्षमा हुँदा मन्दी निम्तने गरेको छ । अहिले पनि यो खतरा टलेको छैन । अहिले अमेरिकाको समस्या कर्जा सीमा पनि हो ।
अमेरिकामा कर्जा सीमाबारे सहमति भएन भने अमेरिका डिफल्टमा जानेछ । अर्थतन्त्रमा झनै क्षति पुग्नेछ । व्यापक बेरोजगारी निम्तने छ । ब्याजदर बढ्नेछ, शेयर बजारमा व्यापक अस्थीरता आउनेछ । अनि विश्व अर्थतन्त्रमा नै यसको असर पोखिने खतरा पनि छ । अमेरिकाको कर्जाशाख घट्नेछ । सन् २०११ को कर्जा सीमा संकटमा पनि यस्तै भएको थियो । एजेन्सीहरूको सहयोगमा