काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडलाई विश्व बैंक समूह अन्तर्गतको अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)ले ५ करोड ५० लाख अमेरिकी डलर ऋण उपलब्ध गराउने भएको छ । नेपालका लघु, साना तथा मझौला उद्यमीको व्यवसायमा र जलवायु वित्तपोषणमा लगानी गर्नेगरी ऋण सम्झौता भएको सिद्धार्थ बैंकले जानकारी दिएको छ ।
उक्त सहकार्यसँगै बैंकले स्वच्छ ऊर्जा परियोजना, विद्युतीय सवारीसाधन, जलवायु मैत्रीपूर्ण कृषि जस्ता परियोजनामा लगानी गर्ने बताएको छ । यसबाट लघु, साना तथा मझौला व्यवसाय स्थापना तथा सञ्चालन, प्रवर्द्धन र हाल नेपालको बैंकिङ प्रणालीमा कायम तरलता अभावको समस्या समाधानमा पनि टेवा पुग्ने बैंकको भनाइ छ । साथै अर्थतन्त्र सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिइएको बैंकले बताएको छ ।
सिद्धार्थ बैंक आईएफसीको ग्लोबल ट्रेड फाइनान्स कार्यक्रमको सदस्य समेत रहेको छ । बैंक आईएफसीले आयोजना गरेको १०औं ग्लोबल ट्रेड अवार्डमा ‘बेस्ट अप्रेसन बैंक इन साउथ एशिया २०२१’ अवार्डबाट सम्मानित भएको थियो ।
सिद्धार्थ बैंकको सम्पत्ति २ खर्ब ७३ अर्ब ८३ करोड रुपैयाँ, निक्षेप २ खर्ब १६ अर्ब ९६ करोड रुपैयाँ र कर्जा पूँजी १ खर्ब ८९ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । बैंकको मुलुकभर १९५ शाखा, २२३ एटिएमर १ हजार ७४४ पीओएस रहेका छन् ।