काठमाडौं । कुमारी बैंक लिमिटेडले सूचना तथा प्रविधि सम्बद्ध संस्थाहरूको छाता संघ नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनी (नास–आईटी) सँग बैंकिङ सेवासम्बन्धी सम्झौता गरेको छ ।
उक्त सम्झौतामा बैंकले नास–आईटीमा आबद्ध कम्पनीलाई सरलीकृत कर्जालगायत अन्य बैंकिङ सेवा तथा सुविधा उपलब्ध गराउने उल्लेख छ । बैंकका वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा नास–आइटीका अध्यक्ष रिचन श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सूचना तथा प्रविधि क्षेत्रसँग आबद्ध भएका संस्थाको गुणस्तर तथा क्षमता अभिवृद्धि गर्न सरलीकृत बैंकिङ सेवा प्रदान गरिने बैंकले बताएको छ । उक्त सम्झौताले सूचना तथा प्रविधि क्षेत्रमा आबद्ध उद्यमी तथा संस्थालाई थप ऊर्जा प्रदान गर्ने विश्वास बैंकको छ ।