काठमाडौं । ललितपुरको बालकुमारीस्थित काठमाडौं युर्निभर्सिर्टी स्कुल अफ म्यानेजमेन्ट (कुसोम)को वार्षिकोत्सव शुरु भएको छ । गत मंगलवार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले वार्षिकोत्सवको उद्घाटन गरे ।
‘वी केयर, वी कोलाबोरेट र वी सेलिब्रेट’ भन्ने नाराका साथ शुरु भएको वार्षिकोत्सव एक महीनासम्म सञ्चालन हुनेछ । जसअन्तर्गत १६ ओटा कार्यक्रम सञ्चालन गरिने कुसुमले जनाएको छ ।
कार्यक्रममा युनिभर्सिटीका डीन डा. देवी बेदारीले उद्घाटन मन्तव्य राखेका थिए । उद्घाटन कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
कार्यक्रमअन्तर्गत कुसोमको बगैंचामा वृक्षरोपणसमेत गरिएको छ । जसअन्तर्गत ललितपुर महानगरका मेयर, वडा प्रमुख, डिन, केएएफ संयोजकलगायतले वृक्षरोपण गरेका थिए । वृक्षरोपणपछि कुसोमको मैदानमा ‘फ्ल्यास मोब’ प्रदर्शन गरिएको थियो ।
कार्यक्रमअन्तर्गत डीन डा. देवी बेदारी र केएएफ संयोजक इच्छुक पौड्यालले प्रमुख अतिथिहरूलाई बिरुवा सहितको मायाको चिनो प्रदान गरेका थिए ।
यस्तै, कार्यक्रममा आफ्नो प्रस्तुति दिने विद्यार्थीहरूलाई मेयर महर्जनले प्रशंसा पत्र प्रदान गरेका थिए । यसपछि केएएफ २०२३ का संयोजक पौड्यालको समापन मन्तव्य दिएका थिए ।
कार्यक्रमअन्तर्गत कुसोम परिसरदेखि डमर पार्कसम्म सरसफाइ गरिएको थियो । उक्त अभियानको शुरुवात केएएफ संयोजक पौड्यालले गरेका थिए ।
कार्यक्रमअन्तर्गत शनिवार माइतीघरदेखि वसन्तपुरसम्म वाकथन गरिएको छ । ‘क्लिन एयर आवर शेयर रेस्पोन्सबिलिटी’ भन्ने नाराका साथ गरिएको वाकथन मिस नेपाल २०२३ श्रीच्छा प्रधान, सामाजिक अभियन्ता केपी खनाल, कवि मोहित जोशी, बाँसुरी वादक सजग शाक्यलगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा सिल्पी थियटरका कलाकारले वसन्तपुरमा वातावरण प्रदूषणसम्बन्धी नाटक मञ्चनसमेत गरेका थिए ।