काठमाडौं । कीर्तिमान कायम भएको दुई दिनपछि (गत आइतवार) घटेको सुनको भाउ फेरि बढ्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ मंगलवारयता बढ्न थालेको हो ।
गत शुक्रवार तोलाको १ लाख १३ हजार ३०० रुपैयाँ तोकिएर कीर्तिमान कायम भएको सुनको भाउ त्यसको पर्सिपल्ट (आइतवार) तोलाको १७ सय रुपैयाँ घटेर १ लाख ११ हजार ६०० रुपैयाँमा झरेको थियो । त्यसयता सुनको भाउ तोलामा ११ सय रुपैयाँ बढिसकेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको भाउ १ लाख ११ हजार ६०० रुपैयाँमा स्थिर रहेको थियो । मंगलवार भने सुनको भाउ तोलामा ९०० रुपैयाँ बढेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको थियो । बुधवार (आज) भने सुनको भाउमा सामान्य वृद्धि देखियो । यस दिन सुनको भाउ तोलामा २०० रुपैयाँ बढेर १ लाख १२ हजार ७०० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको मूल्य भने स्थिर छ । महासघंका अनुसार आज चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कायम भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्य प्रतिऔंस १ हजार ९६३ डलर पुगेको छ ।