काठमाडौं । भारतले केही प्रशोधित खाने तेलको आयात शुल्क घटाएको छ । केन्द्र सरकारले हिजो राति मूल्य वृद्धि नियन्त्रण गर्न भन्दै प्रशोधित भटमास र सूर्यमुखी तेलमा लाग्दै आएको आयात शुल्क कम गरेको हो ।
पछिल्लो निर्णयअनुसार १७ दशमलव ५ प्रतिशत रहेको प्रशोधित भटमासको तेलको आयात शुल्क घटाएर १२ दशमलव ५ प्रतिशत झारिएको छ । प्रशोधित सूर्यमुखी तेलमा लाग्दै आएको शुल्क पनि सोही अनुपातमा घटाइएको छ ।
हालैका केही महीनामा घरेलु अनि अन्तरराष्ट्रिय खाने तेल बजारमा मूल्य तीव्र कमी आएको थियो । यस्तोमा सरकारले कर बढाउँछ भन्ने अड्कलबाजी चुलिएको थियो । तर, सरकारले महसुल घटाइदियो । निर्वाचन नजिकिँदै गर्दा भारत सरकार खाद्यान्नको मूल्य वृद्धि नियन्त्रण गर्न कति उत्सुक छ भन्ने कुरा पछिल्लो कदमले छर्लङ्ग पारिदिएको व्यापारीहरू बताउँछन् ।
एल निनोका कारण यो वर्ष दक्षिण पश्चिममा मनसुन कस्तो हुने हो भन्ने चिन्ता र खाने तेलको उत्पादन कस्तो हुने हो भन्नेबारे पनि चिन्ता चुलिरहेको छ । जुन १४ सम्ममा दक्षिण पश्चिम भारतमा मनसुन सामान्य बेलाको भन्दा ५३ प्रतिशत कम छ ।
भारतमा कच्चा खाने तेल र प्रशोधित खाने तेलबीचको आयात महसुलमा ठूलो अन्तर थियो । तर, पछिल्लो कटौतीपछि यो अन्तर साँघुरो बनेको छ । अप्रशोधित भटमास, सूर्यमुखी र पाम आयलमा भने आयात महसुल करीब साढे ५ प्रतिशत मात्रै छ ।
सरकारले मूलतः खाने तेलको मूल्यमा अंकुश लगाउन चाहेको तेल उद्योगका एक वरिष्ठ अधिकारी बताउँछन् । भारतसम्म आइपुग्दा एक टन पाम आयलको भाउ करीब ८०५ डलर पर्छ । यो गएको वर्षको सोही अवधिको तुलनामा ४६ प्रतिशत मात्रै हो । एक टन भट्मासको तेलको भाउ भारतसम्म आइपुग्दा ९७० डलर हाराहारी पर्छ ।
यो गएको वर्षको सोही अवधिको तुलनामा ४३ प्रतिशत मात्रै हो । सूर्यमुखी तेलको मूल्य प्रतिटन ५५ प्रतिशत घटेर ८६० डलरमा आएको छ । भारतले गएको अप्रिलमा १० लाख ५० हजार टन खाने तेल आयात गरेको थियो । यो गत वर्षको सोही अवधिको भन्दा १५ प्रतिशत धेरै हो । एजेन्सी