काठमाडौं । अमेरिकी गायिका बियोन्सेले आफ्नो पोल्टामा कीर्तिमानी संख्यामा ग्रामी अवार्ड पारेकी छिन् । यिनी विश्वको बेष्ट सेलिङ गायिकामध्ये एक हुन् । संगित जगतमा बियोन्सेले अनेकौं सफलता र उपलब्धि हासिल गरेकी छिन् । अहिले आएर उनको नामसँग नयाँ कुरा जोडिएको छ ।
एक आर्थिक विज्ञका अनुसार स्वीडेनमा महँगी अति नै उच्च स्तरमा हुनुको कारण बेयोन्से हुन् । अप्रिलको तुलनामा मेमा स्वीडेनको वार्षिक मुद्रास्फीति ८ दशमलव ४ प्रतिशतबाट घटेर ८ दशमलव २ प्रतिशतमा झरेको सरकारी तथ्यांकले देखाएको छ । यो कमी अर्थशास्त्रीहरुले अनुमान गरेको भन्दा निकै कम हो ।
मेमा मुद्रास्फीति ७ दशमलव ८ प्रतिशतमा झर्ने अर्थशास्त्रीहरुको अनुमान थियो । मुद्रास्फीति अपेक्षा गरेको स्तरमा नओर्लिनुको एउटा कारण बेयोन्से भएको दान्स्के बैंकका स्वीडेनका लागि प्रमुख अर्थशास्त्री माइकल ग्राह्न भन्छन् ।
स्टकहोममा मे १० र ११ मा बियोन्सेको वल्र्ड टूर शुरु भयो । सो टूर हेर्न भनेर अमेरिकादेखि विश्वभरबाट मानिसहरु स्वीडेन आए । होटल र बसोबास स्थलमै अघिल्लो महीनाको तुलनामा मेमा मूल्य ८ दशमलव ७ प्रतिशतले बढ्यो । अमेरिकामा बियोन्सेको कनसर्ट महँगो भएर फ्यानहरु यूरोपतिर गएको खबर पनि आएकोे थियो ।
यूरोपमै गएर कन्सर्ट हेर्नु सस्तो भएपछि मेमा बियोन्सेका फ्यानहरुको आगमन ह्वात्तै बढ्यो । यसरी एक्कासी आउने पयर्टकहरुका लागि बन्दोबस्त मिलाउन अरु देशमा समस्या थिएन । स्वीडेनलाई गाह्रो भयो । डलर खर्चने विदेशीका लागि कन्सर्ट देखि सबै कुरा सस्तो थियो ।
बियोन्सेकै कारण महँगी बढ्यो भनेर सबै अर्थशास्त्रीहरु मान्न भने तयार छैनन् । होटल खर्चमा भएको वृद्धिले महँगी बेयोन्सेकै कारण भएको हो भन्ने स्पष्टीकरणलाई तर्कसंकत देखाउँछ । देशभर पनि खानेकुरा, प्याकेज होलिडे आदिको भाउ बढ्दा पनि गत वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा महँगी बढेको हो ।
मेमा देशभर नै होटलको बसाई महँगो बनेको नोर्डिक सहकारी बैंक सेब गु्रपमा अर्थशास्त्री मार्कस विडेन भन्छन् । अन्य यूरोपेली देशहरुमा जस्तै स्वीडेनले पनि युक्रेनी युद्धका कारण थोक ऊर्जा बजार चौपट भएयता नै उच्च महँगी बेहोरिरहेको छ । यसको असरले गर्दा पनि महँगी अपेक्षा गरिएभन्दा थोरैले घटेको हुन सक्छ । एजेन्सी