ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयर कहिले किन्ने वा बेच्ने कन्फ्युजनमा हुनुहुन्छ ? आरएसआईको सूचकले दिनेछ समाधान

२०८० असार, ४  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । शेयर कहिले किन्ने वा बेच्ने कन्फ्युजनमा हुनुहुन्छ ? चिन्ता नलिनुस् । रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) को सूचकले तपाईंलाई सघाउनेछ । 

आरएसआईलाई शेयर बजारको प्राविधिक अध्ययनमा निकै प्रचलित छ । यसबाट बजारमा शेयर खरीदविक्री चापबारे बुझ्न सकिन्छ । त्यसकारण यसले शेयर बजारमा प्रवेश गर्ने वा निस्कने समयबारे जानकारी दिन्छ । समग्र बजारको मात्र नभई कम्पनीको शेयर कारोबारबारे अध्ययन गर्न पनि आरएसआईको उपयोग गरिन्छ । 

मेटास्टकबाट सजिलै आरएसआई निकाल्न सकिन्छ । नेप्से परिसूचक या कम्पनीको आरएसआई निकाल्न १४ कारोबार दिनको सूचकबारे अध्ययन गरिन्छ । यस अध्ययनबाट निस्कने सूचक जहिले पनि शून्यदेखि १०० विन्दुको रेञ्जमा हुने गर्छ । 

आरएसआई निकाल्दा आउने सूचकलाई तीन भागमा विभाजन गरिएको छ, जसमा ओभरसोल्ड जोन (३० भन्दा मुनि), न्युट्रल जोन (३० देखि ७० सम्मको बीच) र ओभरबट जोन (७० भन्दा माथि) छन् । यी तीन क्षेत्रलाई आधार मानेर लगानीबारे निर्णय लिने प्रचलन छ ।

तर, एक दिनको आरएसआई सूचकलाई हेरेर शेयर बजारमा लगानीको निर्णय लिनु हुँदैन । धेरै दिनको सूचकहरूको अध्ययन गरेर यस्तो निर्णय लिनु उपयुक्त मानिन्छ । हरेक दिनको आरएसआई सूचकलाई अद्यावधिक गरी रेखा चित्र बनाएर यसको गति हेर्नुपर्छ ।  

३० भन्दामुनि (ओभरसोल्ड जोन)

आरएसआईको सूचक ३० भन्दामुनि भएमा समग्र शेयर बजार वा निश्चित कम्पनीको शेयरमा विक्री चाप बढी भएको बुझिन्छ । आरएसआईको सूचक घट्दै ३० मुनि गइरहेको छ भने यसले बजारमा विक्री चाप बढिरहेको देखाउँछ । यसलाई बजार वा सम्बन्धित कम्पनीको शेयर मूल्यमा छिट्टै सुधार हुन सक्ने सङ्केतका रूपमा लिन सकिन्छ ।

मानौं, कुनै कम्पनीको आरएसआई सूचक ३० भन्दामुनि रहँदा बढ्दो बजारमा (मानौं, २० थियो र बढ्दै २७ मा देखियो भने शेयर खरीद गर्नु उपयुक्त हुन्छ । यो क्रममा सूचक बढेर ३० माथि पुग्न लागेमा विक्री बढाउन सकिन्छ ।

३० भन्दामाथि ७० भन्दामुनि (न्युट्रन जोन)

आरएसआईको ३० भन्दामाथि र ७० भन्दामुनि रहे न्युट्रल जोनमा रहेको मानिन्छ । यसले बजारमा शेयर खरीदविक्री चाप सन्तुलित रहेको संकेत गर्छ । 

यो क्षेत्रमा पनि सूचकको बढ्दो वा घट्दो कुन क्रममा छ भनेर अध्ययन गर्नुपर्छ । ३० बाट बढ्दो क्रममा छ भने खरीद बढाउँदै जाने र ७० भन्दा मुनि घट्दो क्रममा सूचक देखापरिरहेका छन् भने विक्री बढाउन सकिन्छ । बढ्दो क्रममा ७० विन्दुमा पुगेपछि भने सतर्कता अपनाउनुपर्छ ।

७० भन्दामाथि (ओभरबट जोन) 

आरएसआईको सूचक ७० माथि लाग्नु भनेको बजारमा खरीद चाप बढ्न थालेको भन्ने बुझिन्छ । बजार सूचक वा शेयर मूल्यको यस्तो सूचक यो विन्दुबाट माथि लाग्न थालेमा सचेत लगानीकर्ताले भने क्रमशः विक्री बढाउन थाल्छन् । यसले शेयर मूल्य वा सूचक छिट्टै घट्न सक्ने संकेत पनि गर्छ ।

आरएसआईको सिद्धान्त विश्वकै ठूला शेयर लगानीकर्ता वारेन बफेटको शेयर बजारसँग प्रचलित भनाइसँग ठ्याक्कै मिल्छ । बफेटको भनाइ छ– अरू लोभी भएको समयमा तिमी डराऊ । तर, अरू डराएको समयमा भने तिमी लोभी बन ।

त्यसैले बजारमा विक्री चाप बढ्दा अवस्था हेरेर शेयर खरीद बढाउँदै लैजान सकिन्छ भने खरीद चाप बढ्दा बिस्तारै शेयर विक्री बढाउँदै जानु उपयुक्त निर्णय मानिन्छ । यसैका लागि आरएसआईको सूचक हेर्नुपर्ने हुन्छ । कतिपयले यस्तो सूचकको मध्य विन्दु ५० लाई आधार मानेर पनि खरीद तथा विक्रीको निर्णय लिने गर्छन् । ५० विन्दुमाथि लागेमा बजार वा शेयर मूल्य बुलिस प्रवृत्तिमा प्रवेश गरेको र ५० मुनि लाग्न थालेमा भने बियरिस प्रवृत्तिमा जान थालेको भन्ने अर्थ लाग्छ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)