ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गोठबाट काम शुरु गरेका टेरी गोउले कसरी ठड्याए भीमकाय इलेक्ट्रोनिक्स कम्पनी फक्सकोन

२०८० असार, ५  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

काठमाडौं । ताइवानी बहुराष्ट्रिय कम्पनी फक्सकोनको संस्थापक अनि ताइवानको सबैभन्दा धनी व्यक्ति हुन् टेरी गोउ । यो सफलता पाउनुअघि उनको जीवन संघर्षपूर्ण थियो । करियरको शुरुआत गर्नुअघि उनले नगरेको कामै थिएन । रबर कारखानामा काम गर्नेदेखि औषधि कारखानामा ज्याला मजदुरीसम्म गरेका थिए उनले । 

उनले करियरको शुरुआत भने ४९ वर्षअघि (सन् १९७४ मा) गरेका थिए । बजारमा चर्काे प्रतिस्पर्धा भएकै समयमा उनले भाडामा लिएको गोठबाट होन हाई प्रिसिन इन्डष्ट्री शुरु गरेका थिए । 

त्यतिबेला उनलाई विश्वास थियो– इलेक्ट्रोनिक्स दैनिक जीवनको अभिन्न अंग बन्छ भन्ने । त्यही विश्वासमा आम जनजीवनलाई सरल बनाउने भिजन राखेर उनी इलेक्ट्रोनिक्स उत्पादन बजारमा छिरे । 

गोउले आफ्नी आमासँग ७ हजार ५०० डलर सापटी लिएर ताइपेईमा रेडियोका लागि प्लाष्टिकको नोब बनाउने काम शुरु गरेका थिए । त्यति बेला उनको साथमा १० जना बुढा कामदार मात्रै थिए । अहिले कम्पनीले विश्वभर १२ लाखभन्दा धेरैलाई रोजगारी दिइरहेको छ ।

फक्सकोन अरु कम्पनीका लागि ठेक्कामा इलेक्ट्रोनिक्स सामान बनाइदिने विश्वको भीमकाय कम्पनी बनेको छ । अमेरिकी व्यवसायिक पत्रिका फोच्र्यूनको शीर्ष ५०० कम्पनीमा फक्सकोन २० औं स्थानमा छ । 

सामानको गुणस्तर अनि लोभलाग्दो सेवाको कारण उनको कम्पनीको चर्चा देश हुँदै विदेशमा पनि पुग्यो । समय बित्दै गएपछि कम्पनीले व्यवसाय विस्तार गरेर सबै खाले सामान बनाउन थाल्यो । कम्पनीले उत्पादन मात्रै होइन, वितरण पनि आफैं गर्थ्यो । 

हरेक बजारमा प्रतिस्पर्धा हुन्छ । कम्पनीले बढ्दो प्रतिस्पर्धालाई बुझेर समय र पैसा नवप्रवर्तनमा लगायो । सुन्दा अचम्म लाग्न सक्छ ! एप्पलदेखि डेल, निन्टेन्डो, आईबीएम, नोकियो, एचपी, सोनी विश्वका सबै ठूला कम्पनीहरू यसको ग्राहक हुन् । 

यसले डेस्कटप कम्प्युटर, नोटबुक, ट्याबलेट, मोबाइल फोन, डिजिटल क्यामरा, गेमिङ कन्सोल, थर्मल मोडयूललगायत सामान बनाइरहेको छ । कम्पनीले एआई, चीप, नयाँ पुस्ताको सञ्चार प्रविधि, रोबोटिक्स, डिजिटल हेल्थमा हात हालेको छ । अब भने कम्पनीले विद्युतीय सवारी साधन पनि बनाउने भएको छ ।

सन् १९८० मा गोउले अतारी कम्पनीबाट कन्सोल ज्वेस्टिक बनाउने अर्डर पाए । यो उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ थियो । ८० कै दशकमा उनी नयाँ ग्राहक खोज्न अमेरिकाको ११ महीने भ्रमणमा गए । हरेक दिन उनी कम्पनीहरूमा अपोइन्टमेन्ट नै नलिइकन छिर्थे । र,सकेसम्म अर्डर लिएरै फर्कन्थे । उनको यो आक्रामक शैली निकै हदसम्म सफल पनि भयो ।

उनले सन् १९८८ मा मुख्यभूमि चीनमा कारखाना खोले । त्यसपछि कम्पनीले लगानी खन्याउन शुरु गर्यो, देशका कयौं क्षेत्रमा उत्पादन कारखाना बनायो, कम्प्युटरको एसेम्बल शुरु गर्यो । 

चीनमा कम्पनीले बनाएको पहिलो कारखाना अहिले पनि फक्सकोनको विश्वकै सबैभन्दा ठूलो कारखानाको रूपमा छ । यो कारखानामा कर्मचारीहरू बस्ने, खाने, स्वास्थ्य उपचार हरेक सुविधा थियो । कम्पनीले सन् १९६६ मा कम्प्याकका लागि डेस्कटपको च्यासिस बनाउन शुरु गर्यो ।

यसले फक्सकोनलाई एचपी, आईबीएम र एप्पलजस्ता अन्य हाई प्रोफाइल ग्राहकको लागि बेयर बोन च्याशिशको विकासको अवस्थासम्म डोर्यायो । केही वर्षभित्रै यो विशाल कन्जुमर इलेक्ट्रोनिक्स कम्पनी बन्यो । 

चीनको अर्थतन्त्र आक्रामकरूपमा बढेर विश्व अर्थतन्त्रमा यसको अनुपात बढ्दै गर्दा कम्पनीको वृद्धिदर पनि लोभलाग्दो थियो । सन् २००८ सम्म फक्सकोन वार्षिक दोहोरो अंकले बढेको थियो । कम्पनीका प्रतिस्पर्धीहरू घाटामा चुर्लुम्म डुबेको वा नाफा खस्किरहेको अवस्थाबाट गुज्रिरहँदा फक्सकोनको मुनाफाले नयाँनयाँ रेकर्ड बनाइरहेको छ । 

कम्पनीले सामान सस्तोमा बनाइदिन्यो । अनि यसले ग्राहकहरूलाई पूरापूर समाधान पनि दिन्थ्यो । एप्पलले बनाउनेभन्दा कम लागतमै फक्सकोनले चाहेजस्तो फोन बृहत स्तरमा बनाइदियो । कम्पनीको नाममा ८३ हजारभन्दा धेरै पेटेन्ट छ । 

सन् २००० मा फक्सकोनसँग एप्पलको साझेदारी गहिरो भयो । फक्सकोनले म्याकबुक बनाउने अर्डर पायो । यसअघि यी दुई कम्पनीले पार्ट्स बनाउन मात्रै साझेदारी गरेका थिए । यो पटक तयारी प्रडक्ट दिनु थियो । एप्पलको कठोर गुणस्तर मापदण्ड पूरा गर्न कम्पनीले आफ्नो प्रविधिलाई उन्नत बनायो । 

आइफोनको पालिमा कम्पनीले फोन मात्रै बनाएन । एप्पलको भिजन बुझेर तोकेको समयसीमाभित्रै कम्पनीलाई छक्क पार्ने गरी आइफोन तयार पारिदियो । विस्तारै दुई कम्पनीको एकअर्काप्रति निर्भरता बढ्यो । आइफोनको सफलता फक्सकोनमा निर्भर बन्यो, अनि फक्सकोनको वृद्धि आइफोनमा ।

दुवै कम्पनीले एकअर्काको व्यवसाय सञ्चालनको अभिन्न हिस्सा बने । एप्पलसँग फक्सकोनको साझेदारीले दुई कम्पनीलाई मात्रै होइन, प्रविधि क्षेत्रकै कायापलट गरिदियो । 

प्रविधि क्षेत्रकै कायापलट गर्ने फक्सकोन विवादमा पनि मुछियो । विषाक्त खानाका कारण कर्मचारी बिरामी, आत्महत्या, कर्मचारीमाथि दुव्र्यवहार लगायत काण्डमा कम्पनी मुछिएको छ । कोभिडको महामारीबीच चीनमा कर्मचारीहरू हप्तौंसम्म कारखानामै थुनिने अवस्थाले विरोध प्रदर्शनकै स्थिति निम्त्याएको थियो ।

फक्सकोनको सफलताको रहस्य बढ्दो प्रतिस्पर्धालाई बुझेर समय, पैसा अनि बुद्धि नवप्रवर्तनमा लगाउनु नै थियो । त्यससँगै आक्रामक लगानी र अन्य कम्पनी किनेर गाभ्ने रणनीतिले पनि फक्सकोनलाई सफलता दिलाएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)