काठमाडौं । सामसङले आफ्ना उपभोक्ताका लागि शून्य प्रतिशत ब्याजदर रहेको वित्तीय सुविधायुक्त नयाँ सुलभ कार्यक्रम ‘इन्स्टा फाइनान्स’ प्रारम्भ गरेको छ । यो योजना २५ हजार रुपैयाँभन्दा बढी मूल्यका सामसङ स्मार्ट फोन खरीद गर्ने ग्राहकका लागि लागू गरिएको कम्पनीले जानकारी दिएको छ ।
यो सुविधाले ग्राहकले सजिलै चाहना बमोजिमको स्मार्ट फोन किन्न सक्षम भई वित्तीय समावेशीकरणमा सहयोग पुग्ने विश्वास कम्पनीको छ । ‘विश्व अब डिजिटलमय हुँदै गइरहेको र प्रयोगकर्ता अझ धेरै प्राविधिक रूपमा एड्भान्स हुँदै गएका छन्, यस्तो अवस्थामा अझ राम्रा स्मार्टफोनको माग दिनप्रतिदिन बढिरहेको छ, हामी ती माग पूरा गर्न प्रतिबद्ध छौं,’ सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने ।
सामसङले हुलास फिन सर्भ (एचएफएल)सँगको सहकार्यमा इन्स्टा फाइनान्स सुविधा दिन लागेको हो । झन्झटरहित तत्काल प्राप्त हुने यो फाइनान्स सुविधामा मासिक किस्ताको ब्याजदर शून्य रहेको बताइएको छ ।