काठमाडौं । भुक्तानी सेवा प्रदायक ई–सेवाका प्रयोगकर्ताले अबदेखि आफ्नो ई–सेवा खातामा रहेको रकम एटीएम मेसिनमार्फत पनि झिक्न सक्ने भएका छन् ।
ई–सेवाले एभरेष्ट बैंकसँगको सहकार्यमा उक्त सुविधाको शुरुआत गरेको हो । ई–सेवामा रहेको रकम एटीएमबाट निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नु नपर्ने बताइएको छ । ई–सेवाका प्रयोगकर्ताले आफ्नो मोबाइलमा आउने ओटीपीमार्फत सहजै एटीएमबाट नगद रकम झिक्न सक्ने भएका हुन् । प्रयोगकर्तालाई ई–सेवामा रहेको रकम झिक्न थप सहज बनाउने उद्देश्यले यो सेवा ल्याइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले बताए ।
‘हामीले क्यासलेस भुक्तानीलाई प्राथमिकता दिँदै आएका छौं,’ उनले भने, ‘तर कहिलेकाहीँ नगद आवश्यकता पर्दा प्रयोगकर्तालाई सहज होस् भन्ने उद्देश्यले यो सेवा ल्याएका छौं ।’ कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले बैंक सधैं आफ्ना ग्राहकलाई नयाँ सेवा र सुविधा दिन तत्पर रहेको बताए ।