काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २८ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । असार ६ गते बसेको सञ्चालक समितिको बैठकले काभ्रेपलाञ्चोकको पनौतीस्थित ताम्राकार पार्टी भेन्युमा उक्त दिन बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुंगो लगाउनेछ । सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट दुई जना सञ्चालकको निर्वाचनसमेत गर्नेछ ।
यस्तै, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गर्ने विषय पनि सभामा छलफल हुनेछ । यदि मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि असार १७ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा असार १६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।