ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयर शिक्षा : के हो नेप्से–३० ?

२०८० असार, ८  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ‘नेप्से–३०’ नामक नयाँ परिसूचक तयार गर्ने भएको छ । नेप्से–३० का लागि कार्यविधि बनाएर सम्बन्धित विज्ञहरूबाट राय–सुझाव आह्वान समेत गरिएको छ । नीतिगत, संस्थागत र प्रविधिगत रूपमा पूँजी बजारको विकास गरी लगानीकर्तालाई आधुनिक दोस्रो बजार कारोबार सुविधा उपलब्ध गराउने उद्देश्यसहित नयाँ इन्डेक्स थप्न लागिएको नेप्सेले बताएको छ । 

नेप्से–३० अहिलेका इन्डेक्स जस्तै एउटा इन्डेक्स हो । यसले अन्य इन्डेक्सले जस्तै मार्केटको मुभमेन्टलाई देखाउँछ । यसलाई एक प्रडक्टको रूपमा पनि विकास गर्न सकिन्छ । 

नेप्सेका अनुसार यो आफैमा वित्तीय प्रडक्ट हो । यो इन्डेक्स बनाउँदा ३० ओटा कम्पनी समावेश भएका हुन्छन् । म्युचुअल फण्डले अहिले जसरी अध्ययन गरेर कम्पनीहरू छानेर लगानी गरी त्यसबाट भएको नाफा आफ्ना लगानीकर्तालाई बाँड्छन्, त्यस्तै नेप्से–३० मा केन्द्रित भएर म्युचुअल फण्ड जस्तै फण्ड ल्याउन पनि सकिन्छ । यसले गर्दा नेप्से–३० मा भएका कम्पनीमा लगानी गर्न पाइन्छ ।

नेप्से–३० लाई इन्डेक्सको रूपमा यही आर्थिक वर्षमा शुरू गर्ने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । ‘प्रडक्ट र फण्डको रूपमा पुग्न चाहिँ केही समय लाग्छ,’ उनले भने, ‘किनभने नेपालमा यो नौलो प्रयोग हो । इन्डेक्सको रूपमा काम गरेर धेरै सर्वसाधारणको चासो देखिएमा दोस्रो, तेस्रो काम हुनेछ ।’

प्रस्तावित नेप्से–३० इन्डेक्समा समावेश गर्न सूचीकृत कम्पनी छनोटका आधारहरू
१. प्रति शेयर चुक्ता मूल्यभन्दा प्रतिशेयर किताबी मूल्य बढी हुनुका साथै विगत पाँच आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्षसहित कम्तीमा ३ वर्ष खुद नाफामा रहेको,
२. अघिल्लो आर्थिक वर्षमा प्रतिशेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रही सोही वर्षको वार्षिक मुद्रास्फीति दरभन्दा बढी रहेको,
३. कम्पनीको कम्तीमा २५ प्रतिशत शेयर सर्वसाधारणमा जारी भएको वा कुल फ्री फ्लोट बजार पूँजीकरणमा सम्बन्धित कम्पनीको फ्री फ्लोट बजार पूँजीकरण १ प्रतिशतभन्दा बढी रहेको,
४. शेयरधनीको संख्या कम्तीमा २० हजार रहेको,
५. पछिल्लो ६ महीनाको अवधिमा दैनिक औसत २५ लाख रुपैयाँ वा सोभन्दा बढी रकमको कारोबार भई दैनिक औसत ५ हजार कित्ता वा सोभन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औसत ४० वा सोभन्दा बढी पटक कारोबार भएको,
६. पछिल्लो ६ महीनाको अवधिमा उपलब्ध कारोबार दिनहरूमध्ये न्यूनतम ७५ प्रतिशत दिनहरूमा कारोबार भएको ।

प्रस्तावित नेप्से–३० इन्डेक्सको गणना विधि

१. माथिका मापदण्डहरूबाट छनोट भएर आएका कम्पनीहरूको प्रारम्भिक सूची तयार गर्ने,
२. प्रारम्भिक सूचीमा समावेश भएका सबै सूचीकृत संगठित संस्थाको फ्री फ्लोट बजार पूँजीकरण, पछिल्लो वर्षको प्रतिशेयर आम्दानी, कारोबार रकम, कारोबार संख्या तथा कारोबार कित्ताका आधारमा प्रत्येकलाई भार प्रदान गरी कुल भार गणना गर्ने,
३. सूचीकृत संगठित संस्थाहरूलाई बैंक तथा वित्तीय संस्था, लघुवित्त, बीमा, जलविद्युत्, उत्पादनमूलक, व्यापार तथा सेवा गरी ६ ओटा क्षेत्रगत समूहमा वर्गीकरण गरी बुँदा नं २ मा उल्लेख गरिएको विधिअनुसार प्रत्येक समूहभित्र छुट्टाछुट्टै कम्पनीको आ–आफ्नै समूहमा कुल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने संगठित संस्थाहरूबाट आठओटा कम्पनी छनोट गर्ने । कुनै समूहमा आठ संगठित संस्थाभन्दा कम छनोट भएमा उपलब्ध सबै संगठित संस्था छनोट गर्ने,
४. बुँदा नं. ३ अनुसार छनोट भएका संगठित संस्थाहरूको संख्या ३० भन्दा बढी भएमा बुँदा नं. २ अनुसार गणना गरिएको कुल भारमा कम भार भएका कम्पनीहरूलाई हटाई ३० कम्पनी कायम गर्ने र यसरी कम्पनी हटाउँदा प्रत्येक समूहबाट कम्तीमा एक संगठित संस्था कायम गर्ने,
५. बुँदा नं. ३ अनुसार छनोट भएका संगठित संस्थाहरूको संख्या ३० भन्दा कम भएमा प्रत्येक समूहबाट ८ भन्दा बढी कम्पनी छनोट नहुने गरी बुँदा नं. २ को विधिबाट सूचीकृत सबै  कम्पनीको कुल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने कम्पनी थप गरी कम्पनीको संख्या ३० पुर्‍याउने । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)