काठमाडौं । नेपाली बजारमा गत मंगलवारयता घट्न थालेको सुनको भाउ आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँ घटेर १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीवार सुन तोलाको १ लाख १० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
गत मंगलवारयता सुनको भाउ तोलामा २४ सय रुपैयाँ घटिसकेको छ । गत मंगलवार सुनको भाउ तोलामा २०० रुपैयाँ घटेर १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको थियो । सोमवार भने सुन तोलामा १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
बुधवार भने सुनको भाउमा ८०० रुपैयाँको गिरावट आयो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उक्त दिन सुनको भाउ तोलाको १ लाख ११ हजार रुपैयाँ तोकिएको थियो । बिहीवार पनि सुनको भाउ घट्ने क्रम रोकिएन । उक्त दिन सुन तोलामा ५०० रुपैयाँ घटेर १ लाख १० हजार ५०० कायम भएको थियो ।
पछिल्लो चार दिनमा चाँदीको भाउ पनि लगातार घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार चार दिनमा चाँदीको भाउ तोलामा ९५ रुपैयाँ घटिसकेको छ । गत मंगलवार तोलाको १ हजार ४३० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रवार १ हजार ३३५ रुपैयाँमा झरेको छ ।