ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अमेरिकामा प्रयोगशालामा विकास गरिएको मासु विक्रीवितरणको अनुमति  

२०८० असार, १०  
प्रविधि अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
प्रतीकात्मक तस्वीर ।
author avatar अभियान संवाददाता

काठमाडौं । वर्षेनी मानवीय खपतका लागि ७० अर्ब जनावरहरू मार्ने गरिएको छ । मान्छेहरूले खानकै लागि वर्षेनी अर्बौं समुद्री जीवको हत्या गर्छन् । यीमध्ये अधिकांश जनावरहरू फारममा खाद्य प्रयोजनको लागि भनेर नै पालिन्छ । विश्वभर मासुको खपत बढ्दो छ । यो प्रवृत्ति पर्यावरणका लागि मात्रै होइन, उपभोक्ता स्वास्थ्य र पशु कल्याणको लागि पनि हानिकारक छ । यस्तोमा वैकल्पिक मासुको आवश्यकता बढेको छ । अमेरिकाले हालै मात्रै प्रयोगशालामा विकास गरिएको मासुलाई घरेलु स्तरमा बेचबिखनको अनुमति दिएको छ । 

यो मासु कुखुराबाट आएको होइन । जीवित कुखुराको कोषबाट आएको हो । गत बुधबार अमेरिकाको औषधि प्रशासनले ल्याब ग्रोन मिट स्टार्ट–अप्स कम्पनी अपसाइड फूड र गूड मिटलाई ल्याब ग्रोन मासुको उत्पादन थाल्न र विक्रीवितरण गर्न अनुमति दियो । यस्तो मासु मानव खपतको लागि सुरक्षित छ भन्ने निक्र्याैल निकालेर एफडीएले नोभेम्बरमै यसको खपतको अनुमति दिएको थियो । 

सिंगापुरसमेत विश्वका केही देशमा केही अमेरिकी कम्पनीले आफ्नो उत्पादन बेचिरहेका छन् । अमेरिकाले भने पहिलो पटक यस्तो अनुमति दिएको हो । सारांशमा भन्नु पर्दा ल्याब ग्रोन मिट जनावरको कोष वा निषेचित अण्डाबाट बनाइएको मासु हो । 

यसमा अमिनो एशिड जस्ता पोषक तत्वहरू राखेर जनावरको कोषलाई मासुमा विकसित गराइन्छ । कोषलाई यसको विकास हुन र टुक्रिन चाहिने पोषणको तरलमा मिसाएर राखिन्छ । मासु बनाउने ठाउँ झट्ट हेर्दा ब्रुअरीजस्तै देखिन्छ । सेल विस्तारै मांसपेशी चिल्लो र कनेक्टिभ तन्तुमा परिणत हुन्छ । मासु पूर्णरूपमा विकास भएपछि यसलाई बायोरियाक्टरमा राखिन्छ । केही दिन वा हप्ताभित्रै यहाँबाट मासु पूरै तयार भएर आउँछ । 

यसलाई प्रोशेसिङ लाइनमा पठाइन्छ । यो मासुलाई धेरै पकाउनु पनि पर्दैन । ल्याबमै मासु आधा पाकिसकेको हुन्छ । सबैभन्दा सजिलो तरिकाले बन्ने मासु चाँहि ह्यामबर्ग र चिकन नगेटमा प्रयोग हुने किमा हो । केही कम्पनीहरुले कुखुराको छाती र स्टिक्स जस्ता प्रडक्ट बनाउन पनि काम गरिरहेका छन् ।  यो फरक तरिकाले बनाइएको वास्तविक मासु हो भन्छन् विज्ञहरु । तर यो वनस्पतिबाट बनाइएको मासु जस्तोचाँहि हुन्न । यस्तो खालको केही मासुमा वनस्पतिमा हुने प्रोटिन चाँहि हुन्छ । 

कुखुराको निषेचित अण्डाबाट निकालेको कोषलाई सेल बैंकमा राखिन्छ । यस्ता सेल बैंकमा राखिएका कोषहरूलाई कम्तीमा पनि १० वर्षसम्म चलाउन सकिन्छ । कोषहरू बायोप्सी अनि प्वाँखहरूबाट समेत निकालिन्छ । खानकै लागि भनेर जनावरहरू पाल्दा प्रचुर मात्रामा हरित गृह ग्यास उत्सर्जन भइरहेको छ ।  जनावरको दानाका लागि मकैलगायत अन्नको उच्च प्रयोग हुन्छ । मानव निर्मित मासुले हरित गृह ग्यास उत्सर्जन घटाउँछ । दानामा प्रयोग हुने अन्न बच्यो भने विश्वको खाद्य संकट कम गर्न पनि सघाउँछ ।

तर, प्रयोगशालामा मासु तयार गर्दा बिजुली खपत धेरै हुन्छ ।  नवीकरणीय ऊर्जा वा स्वच्छ ऊर्जाको प्रयोग गर्ने हो भने यसले विश्वको बढ्दो जनसंख्यालाई कसरी खुवाउने भन्ने समस्यामा अर्को विकल्प दिन सक्छ । यो मासु शाकाहारीले पनि खान सक्छन् त ? तर, यस्तो मासु शाकाहारी भने होइन । अहिलेसम्म सिंगापुर ल्याब ग्रोन मिट बेचबिखन हुने एक मात्रै देश हो । अब भने अमेरिकामा पनि यसको बाटो खुलेको छ ।

यसले भविष्यमा मासु व्यवसायमा व्यापक रुपान्तरण ल्याउने आशा गरिएको छ । तर, यस्तो खालको मासु प्राकृतिक मासुभन्दा अति नै महँगो हुन्छ । अहिले विश्वभर १५० भन्दा धेरै देशहरूले यस्तो मासुको विकास गर्न काम गरिरहेका छन् । कुखुराको मात्रै होइन, सुँगुर, भेंडा, गाई र माछाको मासु पनि प्रयोगशालामा बनाउने प्रयास भइरहेको छ । 

यस्ता मानव निर्मित मासुको स्वाद पनि प्राकृतिक मासुजस्तै हुन्छ । सन् २०४३ सम्ममा सेल कल्चर्ड भनिने यस्तो मासु उद्योगको आकार १३ अर्ब ७० करोड डलरको हुने अनुमान गरिएको छ । पछिल्लो समय ल्याबमा मासु बनाउने कम्पनीहरूमा लगानीको खोलो बगिरहेको छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)