काठमाडौं । सिद्धार्थनगर होटल संघको प्रतिनिधिमण्डल श्रीलंका भ्रमणमा निस्किएको छ । कोभिडपछि श्रीलंकाली धार्मिक पर्यटक लुम्बिनी भ्रमण गर्न उत्साहित रहेको र भ्रमणबारे चासो राखिरहेकाले श्रीलंकामा प्रचारप्रसारका लागि भन्दै संघको प्रतिनिधि मण्डल मंगलवार त्यसतर्फ गएको हो ।
संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठको नेतृत्वमा १८ सदस्यीय होटल व्यवसायीको टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी र पर्यटन बोर्डका प्रतिनिधि समेत सहभागी छन् ।
जुन २७ देखि जुलाई २ सम्म श्रीलंकाको कोलम्बो र क्यान्डीमा तय गरिएको कार्यक्रममा त्यहाँका छुट्टाछुट्टै शहरका प्रतिष्ठित पर्यटन व्यवसायी, एक सयभन्दा बढी टूर अपरेटर तथा श्रीलंकाली सरकारी विशिष्ट अधिकारी, श्रीलंकाका लागि नेपाली राजदूत र पत्रकारको उपस्थितिमा ‘लुम्बिनी महोत्सव तथा बीटुबी कार्यक्रम’ गरिने बताइएको छ ।
उक्त अवसरमा श्रीलंकाली सरकारी निकायसँग गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा हवाई सम्पर्क बढाउन पनि विशेष पहल हुने बताइएको छ ।