ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चुलिँदैछ चीनको आर्थिक समस्या, कसरी गर्लान् सीले समाधान ?

२०८० असार, १७  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

काठमाडौं । चीनको अर्थतन्त्रमा यो वर्ष आर्थिक उच्च वृद्धि हुने ठानिएको थियो । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न लगाइएका कठोर प्रतिबन्धहरू पूरै हटेपछि चिनियाँ अर्थतन्त्र पुरानै लयमा फर्किने अनि विश्वको आर्थिक वृद्धिदरलाई समेत यसले टेवा पुर्याउने आशा गरिएको थियो । तर, यस्तो भएन । 

सन् २०२३ को आधा समय बितिसक्दा चीनको अर्थतन्त्रले  विभिन्न समस्याहरू भोगिरहेको छ । त्यहाँको उपभोक्ता खर्च सुस्ताएको छ । संकटले थलिएको घरजग्गा बजारमा सुधारको कुनै संकेत छैन । निर्यात घट्दै गइरहेको छ । युवा बेरोजगारी यसअघि कहिले नदेखिएको स्तरमा उक्लिएको छ । स्थानीय सरकारहरूको कर्जा घट्नुको सट्टा झन् झन् बढ्दै गइरहेको छ । यी सबैको असर विश्वभर गुञ्जिन थालेको छ । 

यसले कमोडिटीको मूल्यदेखि शेयर बजारसम्म सबैलाई असर पुर्याइरहेको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाउने खतरा त छँदैछ । यसले अमेरिकी अर्थतन्त्र मन्दीमा जाने भय बढाएको छ । विश्वका दुई ठूला अर्थतन्त्रहरू सँगसँगै सुस्ताउने वा मन्दीमा जाकिने सम्भावनाले बाँकी विश्व त्रस्त बनेको छ ।

सबैभन्दा खराब कुरा के छ भने चीनको अर्थतन्त्रले भोगिरहेका यी यावत् समस्याहरू समाधान गर्न राष्ट्रपति सि चिनफिङसँग धेरै विकल्प छैनन् । चीनले माग बढाउन बृहत् स्तरमा स्टिमुलस ल्याउने गरेको छ । यसले घरजग्गा र उद्योगमा अत्यधिक आपूर्तिको समस्या निम्त्याएको छ । स्थानीय सरकारहरूमा कर्जाको स्तर बढाइरहेको छ । यसले चीन कतै ३० वर्षसम्मको अभूतपूर्व आर्थिक वृद्धिपछि जापानी शैलीको मन्दीतिर त गइरहेको छैन भन्ने बहस छेडिएको छ । 

अमेरिकासँग चीनको रवैयाले पनि समस्या झनै बढाइरहेको छ । अमेरिकाले चीनसँग सम्बन्ध कटौतीलाई तीव्र पारेको छ । अमेरिका र उसका मित्र देशहरूले भविष्यमा चीनको आर्थिक वृद्धिदरलाई उकास्न सक्ने उन्नत चिपहरू र अन्य प्रविधिको आपूर्ति ठप्प पार्ने घोषणा बढिरहेका छन् । यी सबै घटनाक्रमहरूले यो वर्ष चीनको आर्थिक वृद्धिदर निराशाजनक हुने खतरा उत्पन्न भएको छ भने अमेरिकालाई उछिन्ने चीनको आर्थिक महत्त्वाकांक्षा पनि असफल हुँदैछ । 

केही वर्षअघि चीन आक्रामकरूपमा बढ्दा धेरैको अनुमान थियो- चीन अमेरिकालाई उछिन्दै विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हुन्छ । तर, अहिले भूराजनीतिक गतिले चीनको यो लक्ष्य प्राप्तिलाई पछाडि धकेलिदिएको छ । चीनको यो लक्ष्य प्राप्ति तत्काल सम्भव नरहेको विश्लेषण गर्न लागिएको छ । घरजग्गा क्षेत्रको अकल्पनीय कमी, सुधारको सुस्त गति अनि अमेरिका र चीनको सम्बन्धमा देखिएको दरार आदिका कारण सन् २०३० सम्ममा चीनको आर्थिक वृद्धिदर घटेर ३ प्रतिशतमा झर्ने सम्भावना देखिएको ब्लुम्बर्ग इकोनोमिक्सले देखाएको छ । 

चीनको अर्थतन्त्रको अधिकांश क्षेत्र अहिले संघर्षरत् छन् । म्यानुफ्याक्चरिङ क्षेत्र जुनमा फेरि खुम्चिएको छ । अन्य क्षेत्रहरूले पनि लय समात्न सकेका छैनन् । कर्जामा चुर्लुम्म डुबेका प्रान्तहरूले केन्द्र सरकारबाट वित्तीय उद्धार खोज्न थालेका छन् । साना व्यवसायहरूको विक्रीमा उल्लेख्य कमी आएको छ । भीमकाय प्रविधि कम्पनीहरूमाथिको नियामक कडाइ र कारबाहीले हजारौं रोजगारी गुम्दा घरजग्गा बजार प्रभावित भइरहेको छ । 

यो वर्ष चीन सरकारले ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । शुरुमा अर्थतन्त्र यति बढ्ने भन्ने ठानिएको थियो । अहिले यो लक्ष्य वास्तविक बनेको छ ।

चीन सरकारले हातमा हात राखेर बस्यो भने अवस्था झनै खराब हुन सक्ने अर्थशास्त्री अनि विश्लेषकहरूले बताइरहेका छन् ।

थोरै मात्रै प्रभाव देखिन पनि चीनले व्यापक स्टिमुलस ल्याउन जरुरी भएको लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्समा अर्थशास्त्रका प्राध्यापक केयु जिन बताउँछन् ।  

चीन अहिले संक्रमणकालीन अवस्थामा भएकोले सुस्त आर्थिक वृद्धि देखिनु स्वभाविक भएको उनको भनाइ छ । चिनियाँ नीतिनिर्माताहरूले यसअघि पनि अर्थतन्त्र डुब्न लागेको भविष्यवाणी गर्नेहरूलाई गलत साबित गरिसकेका छन् । यस पटक पनि त्यस्तो चमत्कार हुन सक्छ !  अपेक्षा गरिएको भन्दा ठूलो आकारको स्टिमुलस, खराब कर्जाको समस्या समाधान गर्न चनाखो भएर चालिने कदम, उद्यमीहरूलाई टेवा दिने वाचा आदिले पनि केही निराशा हटाउन सक्छ । तर, अहिलेका लागि उल्लेख्य स्टिमुलस र वास्तविक सुधारको अभावले लगानीकर्ताहरूमा निराशा चुलिएको छ । 

जनवरीमा एमएससीई चाइना इन्डेक्स १२ प्रतिशतले बढेको थियो । तर, अहिलेसम्मको अवधिमा सो वृद्धि सबै गुमेर सूचक उल्टै ६ प्रतिशतले तल आएको छ । अप्रिलको अन्त्ययता युआनको सीउफईटीएस डालो हरेक हप्ता घटेको छ । यो सन् २०१५ मा चाइना फरेक्स व्यापार प्रणाली शुरु भएयताकै लामो कमी हो । 

मनोबलको पासो 

सन् २०२३ को शुरुमा चीनमा उपभोक्ता खर्चमा तीव्र सुधार आउने आशा थियो । कोभिडको बेलामा खर्च गर्न नपाएका चिनियाँहरूले सोको धोको फेर्ने गरी किनमेल गर्ने, बाहिर खान जाने अनि घुमफिर गर्ने ठोकुवा गरिएको थियो । तर, सुस्त आर्थिक वृद्धिदर, बेरोजगारी दर र आम्दानी घट्ने अवस्थाले खर्च खुम्चाएको छ । मानिसहरू खर्च गर्नभन्दा बचत गर्नतिर लागेका छन् । 

अहिले चीनको घरजग्गा बजार सुस्ताएको छ । तर, मूल्य घटेपछि घरजग्गा बजारमा नयाँ लगानीकर्ता आकर्षित भएका छैनन् । १६ वर्ष देखि २४ वर्षसम्मको उमेर समूहको बेरोजगारी २० दशमलव ८ प्रतिशतको उत्कर्षमा उक्लिनु अर्को चिन्ताको विषय बनेको छ । यो देशव्यापी शहरी क्षेत्रको बेरोजगारी दरभन्दा ४ गुणा बढी हो ।

प्रविधि क्षेत्रमा गरिएको कडाइ र कारवाहीले युवाहरूले आकर्षक मानेको हजारौं रोजगारी हरायो । जागिर खोज्ने अवस्था खासै राम्रो छैन । प्रतिस्पर्धा झन् डरलाग्दो बनेको छ । 

कमजोर निर्यात 

चीनको घरेलु माग त निराशाजनक छ नै, विदेश व्यापार पनि घटेको छ । कोभिडको बेलामा समेत चीनको कारखानालाई यूरोप र अमेरिकाको माग धान्न भ्याइनभ्याइ थियो । तर, हालैका महीनामा विदेशबाट आउने अर्डर घटेको छ । सन् २०२१ को डिसेम्बरमा ३ खर्ब ४० अर्ब डलरमा उक्लिएको निर्यात मेमा ६० अर्बले घटेर २ खर्ब ८३ अर्ब आसपास आएको छ ।

आर्थिक कमजोरीले चिनियाँ नीतिनिर्माताहरूलाई 'गेयर' फेर्न बाध्य पारेको छ । केन्द्रीय बैंकले जुनमा बारम्बार ब्याजदर घटाएको थियो । स्टेट काउन्सिलले अर्थतन्त्रलाई टेवा दिने नयाँ उपायहरूबारे छलफल थालिरहेको छ । घरजग्गा बजारमा प्रतिबन्ध थप खुकुलो बनाउने, उपभोक्ताहरूलाई कर छूट दिने, पूर्वाधारमा थप लगानी गर्ने अनि उत्पादकहरूलाई प्रोत्साहन दिने जस्ता विकल्पहरूबारे विचार विमर्श भइरहेको छ । 

अदृश्य कर्जा 

ठूला पूर्वाधारलाई प्रोत्साहन दिएर अर्थतन्त्र उक्सिन्छ भन्ने तर्क बेतुक बनेको छ । चीनभर कयौं शहरहरूले स्थानीय सरकारसँग कर्जा लिएर विशाल पूर्वाधार परियोजना बनाएका थिए, अहिले पनि बनाइरहेका छन् । तर, पूर्वाधार सम्पन्न भएपछि यसको प्रयोग खासै भएको देखिन्न । यी परियोजनाको लागि पैसा स्थानीय सरकारहरूले जारी गरेको ऋणपत्रहरूबाट उठाइएको थियो । यी कर्जा अदृश्य कर्जा छन् । यस्ता कर्जा चीनको स्थानीय सरकारको लागि सबैभन्दा अहम जोखिम बनेको छ ।

यस्ता कर्जा लिने लगानीकर्ताहरूका लागि पनि यो ठूलो चिन्ताको विषय हो । सन् २०२२ को अन्त्यसम्ममा चीनको यस्तो कर्जा ६६६ खर्ब युआन रहेको अन्तरराष्ट्रिय मुद्रा कोषले फेब्रुअरीमै बताएको थियो । यो सन् २०१९ को भन्दा ४०० खर्ब युआन धेरै हो ।

स्थानीय सरकारहरू पनि खर्चको जोहो कसरी गर्ने भन्ने दबाबमा छन् । पैसाको आपूर्ति बढाउन स्थानीय सरकारहरूले घर तथा अपार्टमेन्ट निर्माताहरूलाई जग्गा बेच्न थालेका छन् । तर, घरजग्गा बजारमा जारी मन्दीका कारण यसरी पनि पैसा जुटाउन उनीहरूलाई गाह्रो भइरहेको छ ।

केन्द्रीय बैंकले धमाधम ब्याजदर घटाउन थालेपछि देशभरका नगरहरूले घर किन्न डाउनपेमेन्ट घटाइरहेका छन् । धेरैओटा अपार्टमेन्ट वा घर किन्न लगाएको प्रतिबन्धहरू हटाइएको छ । यसका कारण सुस्त घरजग्गा बजारमा क्रमिक सुधार आउला कि ? तर बजारमा अत्यधि ‘ओभरसप्लाई’ छ । यस्तोमा स्टिमुलसको असर भए पनि बजारको सुधार देखिन केही समय लाग्नेछ । एजेन्सीहरूको सहयोगमा 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)