चितवन । लुम्बिनी विकास बैंक लिमिटेडको टाँडी शाखाले रत्ननगरको टाँडी चोकमा खानेपानीको फिल्टर जडान गरेको छ । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको समन्वयमा ५० लिटर क्षमताको अत्याधुनिक फिल्टर सहयोग गरेको हो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एक कार्यक्रमबीच उक्त सामान हस्तान्तरण गरेको हो । उक्त फिल्टर पूर्वपश्चिम राजमार्गको टाँडीचोकस्थित आकाशे पुलनजिक जडान गरिएको छ ।
बैंकका टाँडी शाखाका शाखा प्रबन्धक सन्तोष श्रेष्ठले स्थानीय तथा बजारमा किनमेल गर्न आउने यात्रीहरूलाई स्वच्छ पिउने पानी उपलब्ध गराउने उद्देश्यले फिल्टर सहयोग गरिएको बताए । बैंकले अन्य जिल्ला तथा ठाउँमा पनि सामाजिक कार्य गर्दै आएको उल्लेख गर्दै यो अभियानलाई पनि निरन्तरता दिने उनको भनाइ छ ।
खानेपानी समितिका अध्यक्ष माधव प्रसाद अर्यालले रत्ननगरवासीलाइ सहज एवं सुलभ रूपमा शुद्ध पिउनेपानी वितरण गर्दै आइरहेको भन्दै बैंकको यो अभियानको प्रशंसा गरे ।
देशभर ८९ ओटा शाखा भएको सो बैंकले करिब आफ्ना ४ लाख ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।