ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मर्जर तथा प्राप्तिपछि वाणिज्य बैंकहरूको शेयरमा घट्यो आकर्षण, चार कम्पनीको शेयर मूल्य २०० रुपैयाँमुनि

२०८० असार, २१  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । मर्जर र प्राप्तिपछि वाणिज्य बैंकका शेयरमा लगानीकर्ताको आकर्षण घटेको छ । आकर्षण घटेसँगै बैंकहरूको शेयर मूल्य पनि घटेको छ । 

पछिल्लो एक वर्षमा सबैभन्दा बढी नबिल बैंकको शेयर मूल्य घटेको छ । उक्त अवधिमा बैंकको शेयर मूल्य २८१ दशमलव ९ रुपैयाँ घटेको हो । २०७९ असार २२ गते बैंकको शेयर मूल्य प्रतिकित्ता ८८६ रुपैयाँ रहेकोमा २०८० असार २१ गते प्रतिकित्ता ५८२ दशमलव १ रुपैयाँमा झरेको छ ।

त्यस्तै नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर मूल्य प्रतिकित्ता १७३ दशमलव ५ रुपैयाँ र ग्लोबल आईएमई बैंकको शेयर मूल्य १७९ दशमलव ८ रुपैयाँमा झरेको छ । 

मर्जरमा गएका बैंकहरूमध्ये चार बैंकको शेयर मूल्य २०० रुपैयाँभन्दा तल झरेको छ । तीमध्ये सबैभन्दा कम प्रभु बैंक र कुमारी बैंकको छ । यी बैंकहरूको शेयर मूल्य प्रतिकित्ता १५८ रुपैयाँ मात्रै छ । 

वाणिज्य बैंकहरूको शेयर एक वर्षअघिको तुलनामा घटेको मात्रै छैन, अन्य कम्पनीको तुलनामा यी बैंकहरूको शेयर सस्तामध्येमा पर्छन् । बजार पूँजीकरणका हिसाबले भने वाणिज्य बैंक बलिया मानिन्छन् ।  

मर्जरपश्चात बढेको पूँजी अनुसार व्यापार वृद्धि गर्न नसक्दा बैंकहरूको प्रतिशेयर आम्दानीसँगै बजार भाउ पनि निकै तल झरेको जानकारहरू बताउँछन् । 

वाणिज्य बैंकहरूका शेयरमा लगानीकर्ताको आकर्षण नहुनुको कारण बैंकहरूको आम्दानी खस्किँदै जानु र धेरै जनासँग यसको शेयर हुनु हो । कमाइको तुलनामा आम्दानी कम हुँदा बैंकहरूको प्रतिफल घट्दो दरमा छ । शेयरधनी धेरै भएकाले यसमा अन्य क्षेत्रजस्तो यसको शेयर चलाएर ठूलो पूँजीगत लाभ लिन सक्ने अवस्था पनि हुँदैन । 

त्यसो त मर्जरपश्चात बनेका कम्पनीका त्रैमासिक वित्तीय विवरणमा प्रमुख सूचकहरू पनि कमजोर देखिएका छन् ।

पछिल्ला त्रैमासिक वित्तीय विवरण अनुसार बैंकहरूको खराब कर्जा निकै बढेको छ । यस कारण पनि यी बैंकका शेयर लगानीकर्ताको रोजाईमा नपरेका हुन् । 

अधिवत्ता तथा पूँजीबजार विज्ञ ज्योति दहाल भने प्रतिफल राम्रो नभएकाले बाणिज्य बैंकका शेयरमा लगानीकर्ताको आकर्षण नभएको बताउँछन् । ‘थोरै शेयर भएमा सबैले पाउने इच्छा राख्छन् । यस कारण शेयर मूल्य बढ्छ,’ उनी भन्छन्, ‘मर्जरका कारण वाणिज्य बैंकको पूँजी धेरै भएकाले र पछिल्लो समय वाणिज्य बैंकले दिने लाभांशदर घट्दै गएकाले पनि लगानीकर्ताको रोजाइमा नपरेको हो ।’ 

लगानीकर्ता एसपी चौलागाई मर्जरका कारण वाणिज्य बैंकको शेयरकाे सप्लाई एकदमै बढी हुनु, राष्ट्र बैंकको प्रोभिजनदेखि नियमनमा कडाइ हुनुलगायत कारणले वाणिज्य बैंकहरूले लाभांश बाँड्ने टुङ्गो नहुँदा यी कम्पनीका शेयरप्रति लगानीकर्ताको आकर्षण नदेखिएको बताउँछन् । 

उनी भन्छन्, ‘त्यस्तै पछिल्लो समय बजार ट्रेडका कारण बढिराखेको छ । वाणिज्य बैंकको करोडौं कित्ता शेयर हुनाले पनि लगानीकर्ताको आकर्षण नदेखिएको हो ।’ 

लगानीकर्ता विष्णु पराजुली पछिल्लो समय लगानीकर्ताहरू कम पूँजी भएका कम्पनीको शेयरमा आकर्षित भएको बताउँछिन् । ‘शेयर बजारका खेलाडीहरू पछिल्लो समय कम पूँजी भएका कम्पनीको शेयर बढी ट्रेड गरिरहेका हुन्छन् । त्यसबाट छोटो समयमै राम्रो नाफा लिइरहन्छन्,’ उनी भन्छिन् । 

यसो त वाणिज्य बैंकको शेयर मूल्य बढेपछि त्यति धेरै बढ्दैन । यसकारण नाफाको पनि कम हुने भएकाले लगानीकर्ताको रोजाई नपरेको उनको भनाइ छ । 

अर्की लगानीकर्ता पूजा भट्टराई वाणिज्य बैंकको चुक्ता पूँजी नै ३५ अर्ब रुपैयाँसम्म छ । ‘यस कारण बजारमा सप्लाई बढी भएकाले वाणिज्य बैंकको शेयर मूल्य बढ्ने सकेको छैन,’ उनी भन्छिन् । 

बैंकमा लगानीकर्ताको आकर्षण नभएको नेप्से परिसूचकले पनि देखाउँछ । नेप्से परिसूचक १९ प्रतिशतसम्म वृद्धि हुँदा बैंकिङ समूहको समूहगत परिसूचक वृद्धि पनि अरु समूहभन्दा कम छ । त्यो बेला बैंकिङ्ग समूहको परिसूचक ५ प्रतिशत मात्रै वृद्धि भयो । अरु सेक्टरका कम्पनी ७० प्रतिशतसम्म वृद्धि भएका छन् । 

मर्जर तथा प्राप्तिपछि वाणिज्य बैंकको संख्या अहिले २१ मा झरेको छ । यीमध्ये पनि लक्ष्मी बैंक र सनराइज बैंक मर्जरको तयारीमा छन् ।  

मर्जरमा गएका वाणिज्य बैंकको शेयर मूल्यमा गिरावट आए पनि मर्जरमा नगएका बैंकको मूल्य भने बढेको छ । पछिल्लो एक वर्षमा एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक र एनआईसी एशिया बैंकको शेयर मूल्य भने बढेको देखिन्छ । गत असार २२ गते एभरेष्ट बैंकको शेयर मूल्य प्रतिकित्ता रू. ४४४ दशमलव ५ रहेकोमा यस असार २१ गते भने प्रतिकित्ता रू. ५४७ पुगेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)