काठमाडौं । नबिल बैंक लिमिटेडले ३९औं वर्ष पूरा गरेको छ । नेपालको पहिलो निजीक्षेत्रको बैंकका रूपमा १२ जुलाई सन् १९८४ मा स्थापना भएको नबिल बैंकले ३९ वर्षको यात्रा पूरा गरेको हो । ग्राहकको सुविधा तथा सरल बैंकिङ सेवालाई केन्द्रमा राखेर पृथक चिनारी बनाएको बैंकको दाबी छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले कर्मचारीको योगदान तथा मेहनत र ग्राहकको विश्वासले नै नबिल बैंक अब्बल हुन सकेको बताए । दिगो र डिजिटलाइज्ड बैंकिङलाई अझ सबल बनाउँदै ग्राहकलाई सुविधा दिन तत्पर रहने उनले बताए । सरल र ग्राहकमैत्री सेवा दिने क्रममा बैंकले प्रविधिको प्रयोगलाई मुख्य प्राथमिकता दिँदै आएको उनको भनाइ छ । बैंकको कुल निक्षेप रू. ३ खर्ब ७८ अर्ब र कुल कर्जा रू. ३ खर्ब ४० अर्ब रहेको बताइएको छ ।