चितवन । गैंडाकोटमा सञ्चालित मौलाकाली केबलकारले मन्दिर जाने दर्शनार्थीलाई केबलकारको टिकटमा छूट दिने भएको छ ।
कम्पनीले दर्शनार्थी एवं धार्मिक पर्यटकलाई आकर्षण गर्ने उद्देश्यसहित केबलकारमा छूट अफर ल्याएको हो । जसअनुसार हाल साताको बुधवार अपराह्न २ बजेदेखि टिकटमा ५० प्रतिशत छूट गरिएको छ ।
यही साउनदेखि लागू हुने गरी यो अफर शुरु गरिएको मौलाकाली केबलकारका स्टेशन म्यानेजर सुरज पौडेलले जानकारी दिए । ‘केबलकारबाट दर्शन गर्ने इच्छुकेलाई सातामा एक दिन मात्र छूट गर्दा पनि धेरै राहत र सहुलियत पनि हुन्छ,’ पौडेलले भने, ‘दर्शनार्थी र धार्मिक पर्यटक पनि बढ्छन् ।’
हाल केवलकारको दुईतर्फी टिकट शुल्क ५५० रुपैयाँ कायम गरिएको छ । छूट सुविधाअनुसार २७५ रुपैयाँमै दुइतर्फी यात्रा गर्न सकिनेछ ।
यो छूट सुविधाले सर्वसाधारणलाई सस्तो मूल्यमा केवलकारमा यात्रा गर्ने अवसर मिल्नुका साथै दर्शनार्थीहरूलाई दिउँसो पनि मन्दिर दर्शन गर्न प्रेरित गर्ने पौडेलले बताए । केबलकार सञ्चालनमा आएसँगै दर्शनार्थीको संख्यामा पनि वृद्धि भएको छ । केबलकारमा औसत दैनिक दुई हजार पाँचसय जनाले यात्रा गर्ने गरेको कम्पनीको भनाइ छ ।
गत वर्षको तुलनामा २५ प्रतिशतले दर्शनार्थीको संख्यामा वृद्धि भएको मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले जानकारी दिए ।
यसअघि वर्षात् र अत्यधिक गर्मीका कारण दर्शनार्थीको संख्या न्यून रहे पनि केबलकार सञ्चालनमा आएसँगै अफसिजनमा पनि दर्शनार्थीको संख्या कम नभएको अध्यक्ष सापकोटाको भनाइ छ ।
धार्मिक तथा ऐतिहासिक महत्त्वको मौलाकालिका मन्दिर जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी वैशाख १ गतेदेखि केबलकार सञ्चालनमा आएको हो । केबलकारले बिदाका दिनबाहेक बिहान ६ बजेदेखि दर्शनार्थीहरूलाई सेवा दिँदै आएको छ । शनिवार र अन्य बिदाका दिनमा बिहान साँढे पाँच बजेदेखि केवलकार सञ्चालन हुँदै आएको छ ।