काठमाडौं । जर्मन प्रिमियम कार ब्राण्ड बीएमडब्लूको सर्वाधिक सफल मोडल ‘आईएक्स–३’ नेपालमा सार्वजनिक भएको छ । नेपालमा पेट्रोलबाट चल्ने मोडल ‘एक्स–३’को सफलतापछि लक्ष्मी प्रिमियम मोटर्सले इलेक्ट्रिक मोडल ‘आईएक्स–३’ नेपाल ल्याएको हो ।
बीएमडब्लूको स्पोर्टस् एक्टिभिटी भेहिकल (एसएभी) आईएक्स–३ विश्व बजारमा कम्पनीको सर्वाधिक विक्री हुने मोडल हो ।
‘नेपालमा बढ्दो विद्युतीय कारको बजारलाई ध्यानमा राख्दै शून्य कार्वन उत्सर्जन गर्ने विद्युतीय भेहिकलको मागबमोजिम अल–इलेक्ट्रिक एसएभी आईएक्स–३ सार्वजनिक गरेका हौं,’ कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
निकै प्रिमियम फिचर, सुरक्षामा अब्बल र उत्कृष्ट रेन्ज आईएक्स–३ को बलियो पक्ष हो । ८० किलोवाट पावर क्षमताको लिथियम आयोन ब्याट्री, २१० किलोवाट क्षमताको रियर ह्विल ड्राइभ मोटर यसमा पाउन सकिन्छ । कम्पनीले यसमा ५.० ई–ड्राइभ टेक्नोलोजी प्रयोग गरेको छ । यसको अधिकतम पावर २८५ पीएस र टर्क ४०० न्यूटन मिटर छ ।
यसमा रहेको ८० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४६० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीको परीक्षणले प्रमाणित गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार उक्त ब्याट्रीलाई १५० किलोवाट क्षमताको डीसी चार्जरले ३४ मिनेटमा शून्यबाट ८० प्रतिशत चार्ज गर्ने क्षमता राख्छ ।
कारमा १६ ओटा स्पीकर प्रयोग गरिएको छ । हर्मोन कार्डनको साउन्ड सिस्टम भएको कारण यसमा संगीतको उत्कृष्ट अनुभव लिन सकिने कम्पनीको भनाइ छ ।
यसको ड्यासबोर्डमा १२.३ इन्चको पूर्ण डिजिटल क्लष्टर र १२.३ इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम छ । वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, स्पोर्टी सिट, लेदर र्याप गरिएको थ्री स्पोक स्टेरिङ ह्विल, एम्बियन्ट लाइटको कारण क्याबिनले निकै प्रिमियम फिल गराउने कम्पनीको भनाइ छ । स्टाइलिस डिजाइनमा तयार भएको एसएभीमा २० इन्चको एरोडायनामिक ह्विल पाउन सकिन्छ ।
काठमाडौंको तीनकुनेमा सुविधा सम्पन्न शोरुम संचालन गरिरहेको लक्ष्मी प्रिमियम मोटर्सले २०२० देखि बीएमडब्लूका विभिन्न उत्पादन बजारमा उपलब्ध गराउँदै आएको छ ।
कम्पनीको प्रोडक्ट लाइनअपमा BMW X1 sDrive18i, BMW X3 xDrive 20i, BMW X5 xDrive45e (PHEV), BMW 5 Series (PHEV) and BMW 7 Series उपलब्ध छन् ।
पेट्रोलियमबाट चल्ने एक्स–३ मा बलियो उपस्थिति बनाएको बीएमडब्लूले आईएक्स–३ को सहयोगले प्रिमियम इलेक्ट्रिक भेहिकल सेग्मेन्टमा पनि आफूलाई बलियो बनाउने अपेक्षा कम्पनीले गरेको छ ।