काठमाडौं । ज्योति विकास बैंकले मंगलवार १५औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा बैंकले काठमाडौंको नख्खुमा १२१औं शाखा सञ्चालनमा ल्याएको छ । वार्षिकोत्सव कार्यक्रमको अवसरमा बैंकमा १० वर्ष तथा १५ वर्षदेखि कार्यरत कर्मचारीलाई सम्मान गरिएको छ । बैंकले १५ रुपैयाँमा खाता खोल्न सकिने ‘सुपर स्मार्ट सेभिङ एकाउण्ट’ समेत सार्वजनिक गरेको छ । यस्तै साउन १४ सम्म बैंकको खाता ई–सेवामा लिंक गर्ने सम्पूर्ण ग्राहकलाई रू. १५० बोनस तथा खल्ती एपसँग बैंकको खाता लिंक गर्ने ग्राहकलाई रू. १०० बोनस प्रदान गरिने भएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान, सरसफाइ, वृक्षरोपण जस्ता विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष हरि चन्द्र खड्काले बैंकले आगामी दिनमा थप गुणस्तरीय बैंकिङ सेवा दिँदै उत्कृष्ट सुविधा प्रदान गरिने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले बैंकले लिएका उद्देश्य प्राप्तिमा थप सशक्त हुने प्रतिबद्धता व्यक्त गरे ।