ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘भारतबाट धान नल्याए चाडपर्वमा चामल अभाव’

२०८० साउन, १९  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर। साउन ४ गते भारत सरकारले बास्मतीबाहेक अन्य चामल निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपालमा समेत परेको छ । नजिकिँदै गरेको चाडपर्वमा बढी खपत हुने चामल अभाव हुन नदिन तत्काल भारत सरकारसँग अनुरोध गरेर २ लाख मेट्रिक टन धान आयात गर्नुपर्ने व्यवसायी बताउँछन् । 

उनीहरूले यस विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराइसकेका छन् । गतवर्ष भारतले ६ लाख मेट्रिक टन धान नेपाललाई दिएको थियो । गतवर्षको कोटा साउन १६ गते सकिएको छ । नेपाल चामल–तेल–दाल उद्योग संघका अध्यक्ष कुमुद दुगडले नेपालमा चामल अभाव हुन नदिन भारत सरकारसँग कूटनीतिक तहबाट अनुरोध गरी तत्काल २ लाख टन धान आयात गर्ने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र बुझाएका छन् । नेपालको घरेलु माग पूरा गर्न वार्षिक १० लाख मेट्रिक टन धान आयात गर्नुपर्ने दुगडले बताए । 

भारतले नेपालमा मात्रै धान निकासी गर्छ । अन्य देशमा चामल निकासी गर्छ । नयाँ दिल्लीले खाद्यसुरक्षाको जोखिम रहेको भन्दै चामल निकासीमा प्रतिबन्ध लगाएको हो । यो खबर फैलिएपछि नेपालमा चामलको भाउ बढिसकेको छ । 

नेपालको नयाँ धान मङ्सिरमा आउने भएकाले तत्काल २ लाख मेट्रिक टन आयात गर्नुपर्ने दुगड बताउँछन् । ‘भारतबाट चामलभन्दा धान नै आयात गर्दा नेपाललाई फाइदा हुने उनको भनाइ छ । ‘धान ल्याउँदा यहाँका ४० ठूला र ५०० साना धान मिल सञ्चालन हुन्छन्, त्यसले रोजगारी र राजस्वसमेत बढ्छ,’ दुगडले भने । भारतले यसअघि धान निकासीमा २० प्रतिशत ड्युटी लगाएको थियो । 

नेपालमा वार्षिक २५ देखि ३० लाख मेट्रिक टन चामल खपत हुन्छ । कृषि मन्त्रालयका अनुसार गतवर्ष ५५ लाख टन धान फलेको थियो । उक्त वर्ष ३३ अर्ब रुपैयाँको धान/चामल आयात भएको तथ्यांक छ । यसपटक अहिलेसम्ममा पोहोरको तुलनामा २५ प्रतिशतले कम रोपाइँ भएको छ । मौसम राम्रो नभए धान उत्पादन घट्न सक्ने विज्ञहरू बताउँछन् । 

नेपाल चामल–तेल–दाल उद्योग संघले साउन १४ गते प्रकाशित गरेको विज्ञप्तिमा भारतले चामल निर्यातमा रोक लगाएको अवस्थामा नेपालमा अभाव हुन नदिन सरकारले आयातका लागि अविलम्ब कूटनीतिक पहल गर्नुपर्ने प्रस्ताव संघको साधारणसभाले पारित गरेको उल्लेख छ । साधारणसभाले धान आयातमा १ प्रतिशत मात्र महशुल लगाउन माग गर्ने प्रस्ताव पनि पारित गरेको छ । हालसम्म धान आयातमा कृषि सुधार शुल्क ५ प्रतिशत लाग्दै आएको छ । यसले सर्वसाधारणलाई खाद्यान्न महँगो परिरहेको संघको भनाइ छ । 

गतवर्ष भारत सरकारले नेपाल सरकारका अनुरोधमा शून्य महशुलमा ६ लाख टन धान निर्यात गर्न दिने निर्णय गरेको थियो । उक्त ६ लाख टन नेपाल आइसकेको छ । 

गत वर्ष भारतले बास्मती र मोटा–मसिना दुवै प्रकारका उसिना चामलको मात्र निर्यात खुला गरेको थियो । अरुवा (ह्वाइट राइस) चामल निर्यातमा भने २० प्रतिशत महशुल लगाएको थियो । यस वर्ष २० जुलाईमा सूचना प्रकाशित गर्दै बास्मतीबाहेक सबै जातको अरुवा चामल निर्यात बन्द गरेको छ । 

तीन लाख टन गहुँ आयात शुरू 

भारत सरकारले यसपटक ३ लाख टन गहुँ निकासीका लागि अनुमति दिएपछि त्यहाँका निर्यातकर्ताले पाएको अनुमतिका आधारमा नेपालमा गहुँ निर्यात शुरू भएको छ । भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाएपछि नेपालका ३८ ओटा मैदा मिल बन्द भएका थिए । आँटा र मैदाको मूल्यसमेत बढेको थियो । पछि गहुँ आएपछि ती मिल पुन: सञ्चालनमा आएका थिए । 

नेपालगञ्जको विकास फूड एन्ड प्रडक्ट प्रालिले भारतबाट ५०० टन गहुँ ल्याइसकेको छ । रुपन्देहीको हिमगिरि फुड्सले पनि १५८ टन गहुँ ल्याइसकेको छ । 

कोशी प्रदेशमा रहेको न्युट्री फूड्स र विशाल मैदा मिलले गहुँ आयात गर्न प्रक्रिया अघि बढाएका छन् । नेपाल फ्लोर मिल एशोसिएशनका उपाध्यक्ष तथा विशाल मैदा मिलका सञ्चालक विकास बेगवानीले भारतको वैदेशिक व्यापार महानिर्देशनालयले २० जुन २०२३ मा नेपालमा गहुँ निर्यात गर्न इच्छुकलाई आवेदन दिन भनेको र ५० भन्दा बढी फर्मलाई निर्यात अनुमति दिएको बताए । 

भारतीय निर्यातकर्ताले नेपालमा गहुँ आयात गर्ने व्यवसायीसँग खरीद आदेश माग गरेका थिए । त्यस्तो आदेश दिने कम्पनीले मात्रै भारतबाट गहुँ आयात गर्न पाउँछन् । नेपालका ३७ मैदा मिल र ५ व्यापारिक फर्मले गहुँ आयात गर्ने सुविधा पाएका छन् । तीनओटा मिलले प्राविधिक कारणले गहुँ आयात गर्न पाएनन् । 

बेगवानीका अनुसार गतवर्ष जस्तो यो वर्ष गहुँ अभावले मूल्य वृद्धि हुँदैन । सबै मिलले गहुँ पाएकाले यो वर्ष आँटाको मूल्य ६५ रुपैयाँ प्रतिकिलो छ । गतवर्ष गहुँ अभावका बेला आटाको भाउ ७७ रुपैयाँ प्रतिकिलो पुगेको थियो । अहिले मैदाको प्रतिकिलो मूल्य ६० रुपैयाँ छ । गतवर्ष यो ७२ रुपैयाँ थियो । यो वर्ष चोकरको मूल्य ४४ रुपैयाँ प्रतिकिलो छ । गतवर्ष ५० रुपैयाँ थियो । सुजीको मूल्य गतवर्ष प्रतिकिलो ९० रुपैयाँ रहेकोमा यो वर्ष ७० रुपैयाँ छ । अहिले भारतबाट नेपाल ल्याइएको गहुँलाई प्रतिकिलो ४४ रुपैयाँ परेको छ । गतवर्ष ५५ रुपैयाँ किलोको दरमा भारतबाट गहुँ ल्याइएको थियो । 

भारतमा गहुँको मूल्यमा उतारचढाव नभएसम्म नेपालमा गहुँबाट उत्पादन हुने आँटा, मैदा, चोकर र सुजीको मूल्य नबढ्ने व्यवसायीले बताएका छन् । बाबा फ्लोर मिल्सका सञ्चालक भावेश राठीले भारतमा गहुँको मूल्यमा हुने उतारचढावले नेपालको मूल्य निर्धारण गर्ने बताए । अधिकांश कच्चा पदार्थ भारतबाटै आयात हुने हुँदा यस्तो भएको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)