काठमाडौं। नेपाल उद्योग परिसंघले नेपालको हवाई सेवा यूरोपियन युनियन (ईयू)को सुरक्षा सूचीबाट हटाउने पहल थाल्न सरकारलाई आग्रह गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग भेट गरी परिसंघले यस्तो आग्रह गरेको हो ।
नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, ईयूले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीन रूपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा परिसंघले मन्त्री किरातीसँग छलफल गरेको छ । छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले वैदेशिक मुद्रा आर्जन गर्ने महत्त्वपूर्ण स्रोत पर्यटन भएकाले नेपालको पर्यटन उद्योगको विकासका लागि सरकार र निजीक्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए । उनले यूरोपसँगको सीधा हवाई सम्पर्क पुन: स्थापित गर्न प्रभावकारी रूपमा अघि बढ्नुपर्ने बताए । यूरोपका पर्यटक धेरै खर्च गर्नेमध्येमा पर्ने भएकाले नेपालका उड्डयन क्षेत्रलाई ईयूको सुरक्षा सूचीबाट जतिसक्दो छिटो हटाउन पहल गर्नुपर्ने खाँचो उनले औंल्याए ।
परिसंघले पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राखेर पर्यटन समिति गठन गरेको अध्यक्ष अग्रवालले जानकारी गराए । साथै मन्त्रालयसँग नजिक रहेर काम गर्न परिसंघ प्रतिबद्ध रहेको उनले बताए । परिसंघले पोखरा अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सफल रूपमा सञ्चालनका लागि समेत मन्त्रालयको ध्यानाकर्षण गराएको छ । नेपाललाई फिल्मी गन्तव्यको रूपमा विकास एवं प्रवर्द्धन, पर्यटकीय क्षेत्रमा पुग्ने सडक यातायात मार्गको स्तरोन्नति, हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाइएको लगायत विषयमा समेत परिसंघले चासो राखेको छ ।
छलफलमा मन्त्री किरातीले नेपालको हवाई सेवा ईयूको सुरक्षा सूचीबाट हटाउन पहल भइरहेको बताए । ईयूसँग पुन: सीधा हवाई सम्पर्क स्थापित गर्न सरकारले विभिन्न माध्यमबाट संवाद अघि बढाएको उनको भनाइ थियो । नेपाल महँगो गन्तव्य भइरहेको अवस्थामा हवाई टिकटमा मूल्य अभिवृद्धि करको विषयमा आफ्नो असहमति रहेको समेत उनले बताए ।
नेपालका दुर्गम स्थानमा सेवा प्रवाह र नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन जहाज खरीदको तयारी भइरहेको जानकारी समेत मन्त्री किरातीले दिए । पर्यटन उद्योगको विकासका लागि सरकारले परिसंघसँग मिलेर काम गर्ने उनले बताए ।