काठमाडौं । ‘नेपाल इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस सम्बन्धी बृहत् अन्तरराष्ट्रिय प्रदर्शनी’ गरिने भएको छ । आगामी भदौ १५ देखि १७ सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने यो प्रदर्शनी विद्युतीय उपकरण र ऊर्जासँग सम्बन्धित प्रदर्शनीको दोस्रो संस्करण रहेको बताइएको छ ।
मिडिया स्पेस सोलुसन्स (एमएसएस), एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि (इटीएसआईपीएल) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा प्रदर्शनी आयोजना गर्न लागेका हुन् । ‘प्रदर्शनी, सम्मेलन र साझेदारी’ मान्यताका साथ नेपालमा विद्युत्, ठूला विद्युतीय उपकरण, घरमा प्रयोग हुने विद्युतीय सामग्री तथा ऊर्जासँग आबद्ध विभिन्न उद्योगले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसर निर्माण गर्ने उद्देश्यले प्रदर्शनी गर्न लागिएको आयोजकको भनाइ छ ।
प्रदर्शनीमा नयाँ प्रविधियुक्त विद्युतीय उपकरणलाई नेपाली उपभोक्तासँग साक्षात्कार गराइने बताइएको छ । अन्तरराष्ट्रिय स्तरको उक्त प्रदर्शनीमा अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था हुनेछ ।