काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक घट्ने क्रम रोकिएको छैन् । गत साता पनि नेप्से परिसूचक १९ दशमलव २० अंकले घटेको छ । नेप्सेको तथ्याङ्कलाई आधार मान्दा अघिल्लो साताको अन्तिम कारोबार दिन २ हजार ३३ दशमलव १३ विन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन भने २ हजार १३ दशमलव ९३ विन्दुमा झरेर बन्द भएको छ ।
गत साता पाँच कारोबार दिनमा नेप्से परिसूचक तीन कारोबार दिन घटेको छ भने दुई कारोबार दिन बढेको छ । पहिलो कारोबार दिन २१ दशमलव ९१ विन्दुले र दोस्रो कारोबार दिन १२ दशमलव ९३ विन्दुले घटेको छ । त्यसपछि तेस्रो कारोबार दिन १७ दशमलव ६९ अंक र चौथो कारोबार दिन २९ दशमलव ४७ अंकले बजार बढेको थियो । अन्तिम कारोबार दिन भने बजार ३२ दशमलव ५२ अंकले घटेर बन्द भएको हो ।
बजारले बढ्दो गतिलाई निरन्तरता दिन नसक्नुको कारण यतिबेला लगानीकर्ता छोटो अवधिमै नाफा बुक गर्न तर्फ सक्रिय रहेको जानकारी ब्रोकरहरूले दिएका छन् । अब सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गर्न थालेपछि लगानीकर्ताहरू केहि सकारात्मक बन्ने अपेक्षा ब्रोकरहरूको छ ।
गत साता बजारका महत्वपूर्ण सबै सूचकहरू घटेका छन् । कारोबार रकम अघिल्लो साताभन्दा ३ अर्ब २३ करोड ८४ लाख रूपैयाँले घटेको छ । अघिल्लो साता १० अर्ब ४८ करोड ८५ लाख रूपैयाँको धितोपत्र कारोबार भएकोमा गत साता ७ अर्ब २५ करोड रूपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको हो ।
कारोबार कित्ता पनि अघिल्लो साताकोभन्दा गत साता ६० लाख ३८ हजार कित्ता कम भएको छ । अघिल्लो साता २ करोड ९५ लाख ८७ हजार २३० कित्ता धितोपत्र कारोबार भएमोमा गत साता २ करोड ३५ लाख ४८ हजार ८९३ कित्ता मात्र धितोपत्र कारोबार भएको हो ।
गत साता लगानीकर्ताहरूले २८ अर्ब १० करोड रूपैयाँ बराबरको सम्पत्ति गुमाएका छन् । कुल बजार पूँजीकरण अघिल्लो साताको अन्तिम कारोबार दिन ३० खबै ४३ अर्ब ९१ लाख रूपैयाँ रहेकोमा गत साताको अन्तिम कारोबार दिन ३० खर्ब १४ अर्ब ९० करोड ८० लाख कायम भएको हो ।
गत साता होटल तथा पर्यटनको सर्वाधिक घट्यो
गत साता सबै समूहगत परिसूचक घटेको छ । अघिल्लो साताको तुलनामा गत साता होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २ दशमलव शून्य ७ प्रतिशत घटेको हो । गत साता जलविद्युतको १ दशमलव ९६ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ६१ प्रतिशत, विकास बैंकको १ दशमलव २८ प्रतिशत, जीवन बीमाको १ दशमलव २१ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव शून्य ३ प्रतिशत, अन्यको शून्य दशमलव ९० प्रतिशत, वित्तको शून्य दशमलव ७६ प्रतिशत, व्यापारिकको शून्य दशमलव ७६ प्रतिशत, लघुवित्तको शून्य दशमलव ७० प्रतिशत, लगानीको शून्य दशमलव ६४ प्रतिशत, बैंकिङको शून्य दशमलव ३५ प्रतिशत र सबैभन्दा कम म्युचुअल फण्डको शून्य दशमलव २७ प्रतिशत परिसूचक घटेको हो ।
समग्र धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक घटेसँगै समूहगत परिसूचकमा समेत असर देखिएको हो ।