चितवन । जिल्लामा क्यान सफ्टेक मेला हुने भएको छ । कम्युटर एशोसिएशन नेपाल महासंघ, (क्यान) चितवन र उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको संयुक्त आयोजनामा यही भदौ २१ गतेदेखि उवासंघ परिसरमा मेला हुने भएको हो । यसको तयारी र स्टल बुकिङ्गको काम भइरहेको क्यान चितवनले जानकारी दिएको छ ।
चितवनमा रहेका सफ्टवेयर उत्पादक, विक्रेता यससँगसम्बन्धी कम्पनीको प्रवद्र्धन गर्ने उद्देश्यसहित मेला गर्न लागिएको क्यान चितवनका अध्यक्ष टेकलाल भुुषालले जानकारी दिए । ‘सफ्टवेयरसम्बन्धी उत्पादक वितरकलाई एकै ठाउँमा जमघट गर्ने र स्थानीय उत्पादकलाई प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य हो,’ भुषालले भने ।
उनका अनुसार मेलामा सफ्टवेयर उत्पादक कम्पनी, विक्रेता, स्टार्टअप आईटी कम्पनी, आईटी कलेज गरी २० ओटा स्टल रहनेछन् । प्रतिस्टल १० हजार शुल्क तोकिएको उनले जानकारी दिए ।
यसको मुख्य प्रायोजकको रूपमा इन्टरनेट सेवा प्रदायक कम्पनी टेक्माइन्डस नेटवर्क छ । मेला भदौ २३ गतेसम्म चल्नेछ ।