काठमाडौं । हिन्दु नेपालीको मुख्य चाड बडादशैंको अवसर पारी आगामी बुधवार (असोज १०) देखि ‘ललितपुर वडादशैं जुत्ता चप्पल व्यापार मेला लाग्ने भएको छ ।
आयोजक नेपाली जुत्ता चप्पल उत्पादक समूहले आइतवार पत्रकार सम्मेलन गरी ललितपुरको जाउलाखेल मैदानमा कात्तिक ३ गतेसम्म मेला सञ्चालन गर्ने जानकारी दिएको हो ।
‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुख्य रहेको मेलामा नेपालका ११ ओटा ब्राण्ड र कम्पनीका ३ हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ता चप्पल राखिने आयोजकले जनाएको छ । मेलामा नयाँ उत्पादनहरू सार्वजनिक गरिनेसमेत बताइएको छ ।
मेलामा जुत्ता चप्पलमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छूटको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । मेला ३ लाखले अवलोकन गर्ने आयोजकले अनुमान छ । मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
स्वदेशी जुत्ता चप्पलको प्रयोग बढाउने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।