ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारत-क्यानेडा टसलले नेपालमा आयात हुने मुसुरो दालमा कस्तो प्रभाव पर्ला?

२०८० असोज, ८  
समाचार उपभोक्ता अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । भारत र क्यानेडा बीच तनाब बढेसँगै नेपालमा आयात हुने मुसुरो दालमा पर्ने प्रभाव बारे चासो बढेको छ । भारतमा क्यानेडाबाट २१ प्रतिशत मुसुरो दाल आयात हुने गरेको छ । 
यस्तै, नेपालमा भारतबाट मात्रै २४ प्रतिशत र क्यानेडाबाट १२ प्रतिशत दाल आयात हुने गरेको छ । त्यसैले भारत-क्यानेडा टसलले नेपालमा आयात हुने मुसुरो दालमा पर्ने प्रभाव चासोको विषय बन्न पुगेको छ । 

सिख नेता हरदीप सिंह निज्जरको हत्याको विषयमा दुई देश बीच विवाद चर्किएको हो । सिख नेता निज्जरको गत जुन महिनाको १८ तारिखमा क्यानडाको ब्रिटिस कोलम्बियाअगाडि गोली हानी हत्या भएको थियो । उनको हत्यामा भारत सरकारका जासुसहरुको संलग्नता रहेको भन्ने क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोको बयानले शुरु भएको विवाद एक–अर्का देशका कूटनीतिक प्रतिनिधिलाई आ–आफ्नो देशबाट निकाला गर्ने तहसम्म पुगेको छ । 

भारतमा वार्षिक २३ लाख टन मुसुरो दाल खपत हुने गरेको छ । जसमध्ये आन्तरिक उत्पादन १६ लाख टन रहेको छ । भारतिय सञ्चारमाध्यमहरुका अनुसार ६ लाख मेट्रिक टन दाल भने भारतिय बन्दरगाहहरुमा आइसकेको अवस्था छ । भारतिय तथ्यांक अनुसार सन् २०२२/२३ मा भारतले क्यानेडाबाट ३ हजार १२ करोड रूपैयाँको ४ लाख ८५ हजार टन मुसुरो दाल आयात गरेको छ । 

भारतमा क्यानेडाका साथै अस्ट्रेलियाबाट पनि मुसुरो दाल आयात हुने गरेको छ । भारतले अप्रिल र जुन दुई महीनामा क्यानेडाबाट करिब १ लाख टन दाल आयात गर्दा अस्ट्रेलियाबाट भने २ लाख टन मुसुरो दाल आयात गरेको छ । सन् २०२१ बाट भारतले रसियाबाट पनि मुसुरो दाल आयात गर्न शुरु गरेको छ । मुलुकको आन्तरिक माग पुर्ती गर्न भन्सार शुल्कमा छुट दिएर अन्य मुलुकबाट पनि दाल आयातको ढोका खोल्ने योजना रहेको छ । 

भारत र क्यानेडाको टसलका कारण नेपालमा मुसुरो दालको मूल्यमा त्यस्तो ठूलो प्रभाव नहुने व्यवसायीहरु बताउँछन् । नेपाल चामल, तेल, दाल, उद्योग संघका उपाध्यक्ष राहुल अग्रवाल दुई देशको बीचको टसलले नेपालमा मुसुरो दालमा त्यस्तो ठूलो प्रभाव नपर्ने बताउँछन् । ‘नेपालमा झण्डै ६०-६५ प्रतिशत मुसुरो दाल अस्ट्रेलियाबाट आयात हुन्छ । भारत र क्यानेडाबाट ठूलो मात्रामा दाल आयात नहुने भएकाले मूल्यमा ठूलो प्रभाव पर्ने देखिदैन । तर दुई देशको टसलका कारण केही महीना प्रभाव पर्ने आकलन भने गर्न सकिन्छ’, उनले भने । 

मुसुरो दालमा आत्मनिर्भर हुन उद्योगी र किसानलाई प्रोत्साहन गर्नु पर्ने अग्रवाल बताउँछन् । नेपालबाट पहिला बंग्लादेश मुसुरो दाल निर्यात हुन्थ्यो । सरकारले त्यसबेला दाल निर्यात गर्दा ३ प्रतिशत छुट पनि दिएको थियो । ‘अहिले हामी आयातित दालमा निर्भर हुनुपरेको अवस्था छ’ अग्रवाल भन्छन,  ‘त्यसैले सरकारले किसान र उद्योगीलाई प्रोत्साहन गर्न आवश्यक छ । त्यसको लागि सरकारले सहुलियत दिन आवश्यक छ ।’ 

कुनै बेला मुसुरो निर्यात गर्ने देशले अहिले वर्षमा अर्बैको मुसुरो आयात गर्ने गरेको छ । चालु आर्थिक वर्षको दुई महीनामा मात्रै नेपालले ९६ करोड १६ लाख रुपैयाँको ९ हजार ७०८ मेट्रिक टन मुसुरो आयात गरेको छ । नेपालमा अस्ट्रेलिया, क्यानडा, भारत, मोजाम्बिकबाट मुसुरो आयात हुने गरेको छ । नेपालमा आयात हुने मुसुरोको हिसा सबैभन्दा धेरै अस्ट्रेलियाको रहेको छ । अस्ट्रेलियाबाट मात्रै ५६ करोड ४७ लाख रुपैयाँको ५ हजार ९४२ मेट्रिक टन मुसुरो आयात गरेको छ । 

त्यसैगरी, भारतबाट २४ प्रतिशत आर्थात २६ करोड ६४ लाख रुपैयाँ बराबरको २ हजार ३५२ मेट्रिक टन मुसुरो आयात गरेको छ भने क्यानडाबाट १२ प्रतिशत अर्थात ११ करोड ३८ लाख रुपैयाँको १ हजार १६३ मेट्रिक टन मुसुरो आयात गरेको छ । 

५ वर्षमा मुसुरोको आयातको अवस्था

आव परिमाण(केजीमा) मूल्य(रु हजारमा)
75/76 59147009 2974896
76/77      44,444,959      2,704,179
77/78     100,783,814      7,598,602
78/79       57,384,461      5,865,478
79/80        65,693,717      6,794,741

स्रोत: भन्सार विभाग

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)