काठमाडौं। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले कमर्सियल भेहिकलतर्फ नयाँ विद्युतीय ‘एस इभी’ सार्वजनिक गरेको छ । एस इभी एक उन्नत र रिभोलुसनरी चारपांग्रे कमर्सियल गाडी भएको बताइएको छ । शून्य उत्सर्जनसहितको एस इभी विद्युतीय सवारीसाधनको समाधान भएको कम्पनीको भनाइ छ ।
नेपाली बजारमा एस इभी सार्वजनिक भएसँगै यसले विश्व बजारमा पर्यावरणमैत्री यातायातलाई पुन: परिभाषित गरेको कम्पनीको दाबी छ । सार्वजनिक भएको एस इभीको पहिलो ब्याच ग्राहकलाई डेलिभर समेत भइसकेको बताइएको छ । टाटाको एस इभी सार्वजनिक गर्दै टाटा मोटर्सका मोटर्स कमर्सियल भेहिकल बिजनेसका अन्तरराष्ट्रिय व्यवसाय प्रमुख अनुराग मेहरोत्राले भने, ‘एस इभी सार्वजनिक हुँदा नेपालमा शून्य उत्सर्जन कार्गो मोबिलिटी प्रदान गर्ने हाम्रो लक्ष्यमा कोसेढुंगो सावित भएको छ ।’ सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ एसजेबी राणाले नेपालको पर्यावरणमैत्री यातायातमा नयाँ युगको शुरुआत गरेको बताए । यो गाडीले सफा, दिगो र हरित नेपाल बनाउन ठूलो योगदान पुर्याउनेमा विश्वस्त रहेको उनले बताए ।