ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयर बजारमा १२ करोड सीमाको प्रभाव कति ?

२०८० असोज, १८  
समाचार लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं। केही दिनअघि सामाजिक सञ्जालसहित केही अनलाइनमा शेयर धितो कर्जामा १२ करोड रुपैयाँको सीमा हट्ने समाचार आए । यसबाट बजार केही बढ्यो पनि । पछि बजार जसरी बढेको थियो त्यसरी नै घट्यो । 

शेयर धितो कर्जाको ‘क्याप’ हटाउन अर्थमन्त्रीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गरेको र गभर्नरले नटेरेको हल्ला पनि चल्यो । केही दिनअगाडि गभर्नर अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालबीच पनि पूँजी बजार सुधारका विषयमा छलफल भयो । मंगलवार संसद्मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि शेयर धितो कर्जामा लगाइएको १२ करोडको सीमा खारेज गर्नुपर्ने बताए । पछिल्लो समय विभिन्न कार्यक्रममा पूर्वअर्थमन्त्रीहरूले यही कुरा उठाइरहेका छन् । 

के साँच्चिकै पछिल्लो समय शेयर बजार घट्नुमा शेयर धितो कर्जाको सीमा नै कारण हो त ? 

विज्ञ भन्छन्– कम्पनीको आम्दानी राम्रो नभएकाले बजार घटेको हो । ४ र १२ करोडको सीमा लगाएकै वर्ष शेयर सूचक सबैभन्दा उच्च विन्दुमा पुगेको थियो ।

शेयरबजारमा मूल्य निर्धारण माग र आपूर्तिका आधारमा हुन्छ । माग पक्ष बलियो भएमात्रै कम्पनीका शेयर मूल्य बढ्न सक्छ । माग पक्ष बलियो हुन कम्पनीको हरेक पक्ष र नियामक निकायको दृष्टिकोण सकारात्मक हुनु जरुरी छ । 

राजनीति, नीतिगतलगायत कम्पनीको ससानो सूचनाले शेयर मूल्यमा छोटो समय प्रभाव पार्छ । केही सकारात्मक खबर आउँदा बजार बढ्छ । नकारात्मक आउँदा घट्छ । बजार सुधारका लागि शेयर धितो कर्जामा १२ करोडको सीमा र १५० प्रतिशत जोखिम भार परिमार्जन हुनुपर्ने भनेर लामो समयदेखि लगानीकर्ताले माग गर्दै आएका छन् । अर्थतन्त्रका बाह्य क्षेत्रमा सुधार भइसकेको अवस्थामा अब आन्तरिक अर्थतन्त्र चलायमान बनाउन कसिला नीतिहरू विस्तारै फुकाउँदै जानुपर्ने उनीहरूको भनाइ छ । 

ब्याजदर महँगो भएकाले बैंकमा निक्षेप संकलन बढे पनि कर्जा प्रवाह हुन सकेको छैन ।

तर, अहिलेसम्म ब्याजदर घटाउने उपकरण प्रयोग गरिएका छैनन् । चर्को ब्याजदरकै कारण अर्थतन्त्र चलायमान हुन नसकेको बताइन्छ । 

अधिवक्ता तथा धितोपत्रविज्ञ ज्योति दाहाल भन्छन्, ‘शेयरबजार घटबढ भइरहन्छ । कम्पनीको आम्दानी राम्रो नभएकाले बजार घटेको हो, राम्रो आम्दानी गरेका कम्पनीको शेयर मूल्य राम्रो छ । ४ र १२ करोडको सीमा लगाएकै वर्ष शेयर सूचक सबैभन्दा उच्च विन्दुमा पुगेको थियो ।’ 

आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत ४/१२ को सीमा तोकिएको थियो । सोही वर्ष भदौमा एकै दिन २० अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो । अहिले ४ करोडको सीमा हटिसकेको छ । एक जनाले एउटै संस्थाबाट १२ करोड रुपैयाँसम्म शेयर धितो कर्जा पाउँछ । ‘त्यसकारण १२ करोडको क्यापले मात्रै बजार घटेको भन्न मिल्दैन । यो त बहाना मात्र हो । भोलि बढ्न थाल्यो भने शेयर धितोमा कर्जा दिन्न भन्यो पनि बढ्छ,’ दाहालले भने । 

बैंकर मनोज ज्ञवाली पनि बजार ओरालो लाग्नुमा शेयर धितो कर्जाको सीमा मात्र जिम्मेवार नभएको तर्क गर्छन् । १२ करोडले बजारलाई कैयौंपटक गिज्याएको र हल्लाले बजारलाई हल्लाइरहेको उनले बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कहीले केही भनेर बजार उचालेको छ केहीले केही भनेर थचारेको छ, विश्वास आफ्नो सम्पत्ति र लगानीमा नहुने, गाली अरूलाई गरेको छ । कम्पनीको कुन आधारभूत पक्षको आधारमा लगानी गरेको हो र त्यो आधारभूत पक्षमा के परिवर्तन भयो जसले मूल्यमा फरक पार्न सक्छ ? कम्पनीको कार्यसम्पादन केकस्तो छ ? लाभांश के कस्तो आउँछ ? अर्थतन्त्रका सूचकांकहरू केकस्ता छन ? सरकार र नियामकहरूको बजारप्रति कस्तो धारणा छ ? कम्पनीको प्रक्षेपण कस्तो छ ? कम्पनी र कम्पनीसम्बद्ध इन्डस्ट्री कस्तो चल्दै छ ? यस्तो कुराहरूको आधारमा किन्ने र बेच्ने निर्णय गरौं कसैलाई गाली गर्नु पर्दैन ।’

हल्लै हल्लामा लगानी गर्ने, केही हल्ला आयो कि घाटामा लाइन लागेर बेच्न तम्सिने र घाटा भयो भने अरूलाई धारेहात लगाउने गर्न नहुने उनको सुझाव छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ज्ञात रहोस्– अरूलाई धारेहात लाउँदै आफ्नो शेयर बेच्न बुर्कुसी मारेर नदौडेसम्म न बजार घट्छ न घाटा हुन्छ । शेयरबजारको सुन्दर पक्ष– कसैले प्रक्षेपण गर्न सक्दैन र त बजारमा क्रेता/विक्रेता दुवै रहन्छन्, अनि बजार चल्छ ।’

लगानीकर्ता नवराज दाहाल पनि शेयर धितो कर्जाले बजार प्रभावित भएको नभई त्यसलाई बहाना बनाइएको ठान्छन् । संस्थागत लगानीकर्तालाई भने यस्तो सीमा तोक्न नहुने उनको धारणा छ । ‘उसले आफ्नो रिपोर्ट हेरेर, आफ्नो कारोबार हेरेर लिन पाउनुपर्छ । व्यक्तिका लागि भने बहाना मात्र हो । यो प्रमाणित पनि भइरहेको छ, नत्र भने बजार घटिरहनुपर्ने हो । बजार यसबीचमा बढेको पनि छ,’ उनले भने । आधिकारिक निर्णय नभईकन सीमा हट्यो भनेर समाचार आउँदा बजार केही बढेको तथा फेरि अर्थमन्त्री र गभर्नरको कुरा मिलेन भनेर नकारात्मक समाचार आएको उनले बताए । यसो गरेर रिटेल इन्भेस्टरको कित्ता खोस्ने काम भइराखेको उनको बुझाइ छ । खरीदकर्ताले जहिले पनि केही समयपछि प्रतिफल पाउँला भनेर किन्ने उनी बताउँछन् । ‘यस्तो समयमा विक्री गर्ने भनेको बजारमा केही छैन, टिक्न सकिँदैन भन्ने ठानेर वा पैसा चाहिएर पेनिक भएर हो,’ नवराजको भनाइ छ । सकारात्मक समाचारले हुने भए पूर्वमन्त्री, अर्थमन्त्री, अहिलेको प्रधानमन्त्रीलगायत गभर्नरले शेयर धितो कर्जाको विषयमा केही हुन्छ भनेर बोलिरहेका बेला बजार बढ्नुपर्ने उनले बताए । 

नेपाल राष्ट्र बैंकले २०७८ साउन २९ गते मौद्रिक नीतिमार्फत पहिलोपटक ४/१२ को सीमा तोकेको थियो । त्यसको केही दिनपछि भदौ २ गते नेप्सेले ३२०० विन्दु नाघेको थियो । बुधवार नेप्से १९६७ दशमलव ९७ विन्दुमा छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)