काठमाडौैं । एभरेष्ट बैंक लिमिटेडले प्रस्तावित २० दशमलव ५३ प्रतिशत लाभांश पारित गरेको छ । बैंकले गत आर्थिक वर्ष ०७९÷८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंकले मंगलवार सम्पन्न २९औं वार्षिक साधारण सभामार्फत पारित गरेको नगद लाभांश दशैंअघि नै वितरण गरिसक्ने जानकारी दिएको छ । शेयरधनीहरूलाई दशैं खर्च जुटाउनका लागि नै दशैंअघि वार्षिक साधारण सभा सम्पन्न गर्न सफल भएको जानकारी बैंकले दिएको हो । नगद लाभांश सम्बन्धित शेयरधनीहरूको बैंक खातामा जम्मा हुने भएकाले हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराउनका लागि समेत बैंकले आग्रह गरेको छ ।
हाल बैंकको चुक्ता पूँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैयाँ छ । बोनस शेयर वितरणपछि बैंकको पूँजी वृद्धि हुने भएकाले सोहीबमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । साधारण सभा प्रयोजनका लागि बैंकले असोज १६ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असोज १५ गतेसम्म कायम शेयरधनीहरूले मात्र बैंकको लाभांश प्राप्त गर्नेछन् ।
गत वर्ष १३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ७ दशमलव ६८ प्रतिशत नगद लाभांश गरी कुल २० दशमलव ६८ प्रतिशत लाभांश वितरण गरेको बैंकले यस वर्ष नगद लाभांशमा जोड दिएको देखिन्छ । यस वर्षको लाभांश पारित भएको दिन बैंकको शेयर मूल्यसमेत बढेको छ । प्रतिकित्ता ६ रुपैयाँले बढेर बैंकको शेयर मूल्य प्रतिकित्ता ४५९ रुपैयाँ कायम भएको छ ।