ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यती एयरलाइन्सले भित्र्यायो साझेदार

२०८० कात्तिक, १  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। हवाई सेवा शुरू गरेको २५ वर्षपछि निजी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले नयाँ लगानी साझेदार भित्र्याएको छ । कम्पनीले मंगलवारदेखि औपचारिक रूपमा बीमा कम्पनी एशियन लाइफ इन्स्योरेन्सलाई नयाँ साझेदारका रूपमाभित्र्याएको हो ।

सेवा तथा बजार विस्तार, जहाजको संख्या बढाउने र पब्लिक कम्पनीबाट प्राथमिक शेयर (आईपीओ) सर्वसाधारणमा जारी गर्नेसम्मका रणनीतिक योजनासहित यती एयरलाइन्सले लगानी साझेदार भित्त्याएको हो । कम्पनीका प्रवक्ता सुदर्शन बर्ताैलाका अनुसार यती एयरलाइन्स गत वैशाखमै पब्लिक कम्पनीमा गएको थियो । बर्तौलाले थप पाँचओटा जहाज थप्ने योजना रहेको जानकारी दिए । उनले ६ महीनामा आईपीओ पनि जारी गर्ने तयारी गरिएको बताए । एशियन लाइफ इन्स्योरेन्स भित्रिए पनि अहिले यती एयरलाइन्समा कति प्रतिशत शेयर अंश वा इन्स्योरेन्सले कति लगानी गर्ने भन्ने विषय भने एशियन लाइफले उल्लेख गरेको छैन । यती एयरलाइन्सको हालको चुक्ता पूँजी २ अर्ब १० करोड छ । केही वर्षअघिसम्म १५ ओटा जहाजबाट उडान गर्दै आएको यतीसँग अहिले पाँचओटा जहाज छन् । ‘जहाजको संख्या घटे पनि सीट क्षमता भने बढेको छ,’ बर्ताैलाले भने, ‘अहिलेको सेवालाई विस्तार गर्ने र जहाजको संख्या थप्ने गरी कम्पनीमा साझेदार भित्र्याइएको हो ।’ 

  •  पाँच जहाज थप्नेदेखि आईपीओ जारी गर्नेसम्म कम्पनीको तयारी

अहिले यती एयरलाइन्ससँग एटीआर ७२–५०० सिरिजका पाँचओटा जहाज छन् । प्रतिजहाजको सीट क्षमता ७० रहेको छ । सन् १९९८ सेप्टेम्बरदेखि व्यावसायिक उडान शुरू गरेको यतीले उडान सेवा शुरू गर्दा भने क्यानेडाली जहाज डीएचसी ६–३०० ट्वीनअटर सञ्चालन गरेको थियो । यती र ताराका गरेर कम्पनीसँग १५ ओटा जहाज थिए । जहाज संख्या धेरै भए पनि ती जहाजको सीट क्षमता भने कम थियो । झन्डै साढे २ दशकदेखि हवाई सेवा दिएको यतीले अहिले मुख्य गन्तव्यहरूमा एटीआर–७२ जहाजबाट सेवा दिँदै आएको छ ।

यतीले सन् २००९ मा भने भगिनी संस्था तारा एयर स्थापना गरेर दुर्गम क्षेत्र (स्टल)लक्षित उडान पनि गर्दै आएको छ । काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बेस बनाएर अहिले यतीले भैरहवा, पोखरा, जनकपुर, नेपालगञ्ज, भद्रपुर, विराटनगरजस्ता शहरमा उडान गर्दै आएको छ । यसका साथै कम्पनीले माउन्टेन उडान (एभरेष्ट र अन्नपूर्ण एक्स्प्रेस) सेवा दिइरहेको छ । जहाज संख्या थपेपछि गन्तव्य र उडान संख्या पनि थप्ने कम्पनीको योजना छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)