काठमाडौं। मेटलाइफ नेपालले भोजपुरको भोजपुर नगरपालिकाका ८० भन्दा बढी सहभागीको उपस्थितिमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममार्फत भोजपुरका स्थानीयमा आर्थिक सुरक्षाको भावना सृजना गर्न र राम्रो भविष्यका लागि निर्णय लिन सक्षम हुने कम्पनीको अपेक्षा छ । कम्पनीले स्थानीय समुदायमा बीमाको पहुँच विस्तार गर्न भोजपुरमा सम्पर्क कार्यालय पनि खोलेको छ । कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले सम्पर्क कार्यालयको उद्घाटन गरेका थिए ।
संस्थागत सामाजिक उत्तरदायित्व पहलअन्तर्गत, कम्पनीले भोजपुर बहुमुखी क्याम्पसलाई तीनओटा प्रोजेक्टर पनि अनुदान दिएको छ । यस पहलले विद्यार्थीका लागि सिकाइ अनुभव मात्र नभइ यस क्षेत्रमा डिजिटलाइज्ड शिक्षालाई प्रोत्साहन गर्ने कम्पनीको भनाइ छ । यस्ता कार्यक्रमले कम्पनी र स्थानीयबीचको सम्बन्ध बलियो बनाउने र भोजपुरका युवालाई उनीहरूको समुदायमा उत्कृष्टता हासिल गर्न सहयोग गर्ने बताइएको छ ।