ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रतिस्पर्धाले बढायो बैंकको ब्याजदर 

२०८० कात्तिक, ३  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बैंकहरूले भद्र सहमति छोडेर प्रतिस्पर्धा गर्न थालेपछि ब्याजदर बढ्न थालेको छ । तरलताको अवस्था सहज भए पनि बैंकहरूबीच निक्षेप जोगाउन प्रतिस्पर्धाका कारण ब्याजदर उकालो लागेको हो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार २०८० साउनमा वाणिज्य बैंकहरूमा निक्षेपको औसत ब्याजदर र आधारदर वृद्धि भएको छ । तर, कर्जाको ब्याजदर भने सामान्य घटेको पाइएको छ । 

२०८० भदौमा वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ८ दशमलव शून्य ६ प्रतिशत, विकास बैंकहरूको ९ दशमलव ४३ प्रतिशत र वित्त कम्पनीहरूको १० दशमलव २७ प्रतिशत कायम भएको छ । २०७९ भदौमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ७ दशमलव १ प्रतिशत थियो । यसैगरी गत आर्थिक वर्ष (आव) को अन्तिम महीना असारमा ७ दशमलव ८६ प्रतिशत ब्याजदर कायम भएको थियो । 

नेपाल बैंकर्स संघले ब्याजदर तोक्ने प्रचलन हटाउँदै बैंकहरूले साउनदेखि आफूखुशी ब्याजदर तोक्न थालेका हुन् । बैंकहरूबीच निक्षेपको प्रतिस्पर्धाका कारण ब्याजदर बढाएका हुन् । कात्तिकमा भने १४ ओटा बैंकले ब्याजदर घटाएका छन् । वैशाखमा वाणिज्य बैंकहरूमा मुद्दती निक्षेपको अधिकतम ब्याजदर ९ दशमलव ९९ प्रतिशतमा झरेकोमा कात्तिकमा अधिकतम ११ दशमलव शून्य ३ प्रतिशतसम्म कायम भएको छ । राष्ट्र बैैंकको निर्देशनअनुसार बैंकहरूले हरेक महीना लागू हुने निक्षेपको ब्याजदर अघिल्लो महीना प्रकाशित गर्नुपर्छ । तर, ब्याजदर तोक्दा एकपटकमा १० प्रतिशत मात्र तलमाथि गर्न पाइने व्यवस्था छ । निक्षेप ब्याजदर वृद्धिसँगै बैंकहरूको लागत महँगो भएपछि उनीहरूको आधारदर पनि बढिरहेको छ । २०८० भदौमा वाणिज्य बैंकहरूको औसत आधार दर १० दशमलव १४ प्रतिशत, विकास बैंकहरूको १२ दशमलव १२ प्रतिशत र वित्त कम्पनीहरूको १३ दशमलव ५२ प्रतिशत छ । अघिल्लो वर्षको भदौमा वाणिज्य बैंकहरूको औसत आधार दर १० दशमलव शून्य १ प्रतिशत थियो । गत आवको असारमा आधारदर १० दशमलव शून्य ३ प्रतिशत थियो । 

बैंकहरूले पछिल्लो ३ महीनाको आधारदरमा निश्चित प्रतिशत प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्न पाउँछन् । आधारदर बढेपछि कर्जा महँगो हुन्छ । तर, बैंकहरूले प्रिमियम घटाएकाले भदौमा कर्जाको औसत ब्याजदर सामान्य घटेको छ । 

कर्जाको औसत ब्याजदर २०८० भदौमा वाणिज्य बैंकहरूको १२ दशमलव २३ प्रतिशत, विकास बैंकहरूको १३ दशमलव ९९ प्रतिशत र वित्त कम्पनीहरूको १४ दशमलव ६८ प्रतिशत कायम रहेको राष्ट्र बैंकले जनाएको छ । २०७९ भदौमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १२ दशमलव शून्य ६ प्रतिशत कायम भएको थियो ।

कर्जा महँगो भए पनि अल्पकालीन ब्याजदर भने घटेको छ । २०७९ भदौमा ९१ दिन अवधिको ट्रेजरी बिलको औसत ब्याजदर ९ दशमलव शून्य ९ प्रतिशत रहेकोमा २०८० भदौमा ५ दशमलव ९५ प्रतिशत कायम भएको छ । बैंक, वित्तीय संस्थाबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७९ भदौमा ८ दशमलव ५ प्रतिशत रहेकोमा २०८० भदौमा ५ दशमलव ८८ प्रतिशत कायम भएको छ । कर्जा प्रवाह गर्न नसक्दा बैंकहरूले सरकारी ऋणपत्रमा लगानी गर्न जोड दिएका छन् । सरकारले पनि ब्याजदर घटेका बेला आन्तरिक कर्जा उठाउन कार्यतालिका नै परिवर्तन गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)